
मनका छालहरु – मुना भण्डारी
कवि मुना भण्डारीको कविता सङग्रह हो मनका छालहरु ।
पुस्तकमा कविता,जागरण गितहरु राष्ट्रिय गितहरु, प्रेमगितहरु, तीजका गीतहरु, भजन, एकाङकी, सस्मरण समेटिएको छ ।
”२०४६ सालको कुरा हो, म त्यतिखेर बागबजारमा बस्थें । देशमा जनआन्दोलन चर्किरहेको थियो । घरबाट बाहिर निस्केर हिँड्ने अवस्थाको कुरै नगरौं ।” पुस्तकमा मुना भण्डारी लेख्नुहुन्छ, ”अलिकति झ्यालको पर्दा खोलेर बाहिर हेर्नसम्म पाइँदैनथ्यो । बाहिर हमेसा कर्फ्यु लागेको हुन्थ्यो । गोली र बारूदले काठमाण्डौंको वातावरण तहसनहस भएको थियो । मलाई भने बाहिर हेर्ने कौतुहलता लागिरहन्थ्यो । घरीघरी झ्यालमा बसेर बाहिर नजर डुलाउँथें र हतारहतार पर्दा लगाउँथें । यस्तै क्रम दोहोऱ्याएको बेला एकदिन मलाई आर्मीले ‘गोली खाने मन छ कि क्या हो ? भनेर हप्कायो । त्यतिखेर मेरो मुटुले पनि झन्डै काम गरेन । हर्टअट्याक होला जस्तो भयो । किनभने मैले बाहिर हेर्दाहेर्दै दुईजना युवालाई गोली लागेर रगताम्य अवस्थामा छटपटाइरहेको देखेकी थिएँ । त्यतिनै बेला मलाई आर्मीले गोली खाने विचार छ र? भनेर बन्दुक तेर्साएको थियो । त्यो दिनदेखि मेरो रातको निन्द्रा र दिनको भोक हरायो । त्यो बेला कतिको काख रित्तियो, कतिको सिन्दुर पुछियो । कतिको घरबार खोसियो । त्यसपछि मैले कलम चलाउन सुरु गरें । मेरो पहिलो लेखन बाहिर देखेको दृश्यमै केन्द्रित थियो । त्यो गीत धेरै पटक स्टेजमा पनि प्रस्तुत गरें । गीतको बोल थियो ‘देशै डुब्यो जनताको रगतमा।”
त्यसै गरी पुस्तकमा अनिल पौडेल लेख्नुहुन्छ, मुना भण्डारीको स्वर सुनेको तीन दशक नाघेछ । काठमाडौंको ल क्याम्पसमा हुने मासिक साहित्य सन्ध्या कार्यक्रममा उबेला उहाँको स्वर गुन्जिन्थ्यो । कहिलेकाहीँ धार्मिक कार्यक्रमहरूमा भजन गाएर श्रोताको मन पुलकित पार्नुहुन्थ्यो । विद्यालय जाने उमेरमा बिवाह गरेर श्रीमान्का घर जानु परेपछि पुस्तकले उघार्ने ज्ञानको ढोकाबाट विमुख हुनुभयो । भिर पहराबाट रसाएर निस्केको लेकाली (पहरे) पानी जस्तो हो उहाँको साहित्यिक साँस्कृतिक चेतना । जबरजस्ती जति उम्ग्रो उम्ग्रो, न त्यसले खुकुलो माटो पायो, न त्यसले प्राकृत मुहान पायो । समयले जसरी डोऱ्याउँदै, घिसार्दै लग्यो, उहाँको चेतना त्यसैगरी डोरिंदै गयो ।
पुस्तकलाई विपन भण्डारीले प्रकाशन गर्नुभएको हो । दुई सय त्रिचालीस पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

