
जङ्गबहादुरको जीवनयात्रा– पद्यजङ्ग राणा
पद्यजङ्ग राणाले लेख्नुभएको पुस्तकलाई रामबहादुर पहाडीले अनुवाद गर्नुभएको पुस्तक हो जङ्गबहादुरको जीवनयात्रा ।
पुस्तकमा जंगबहादुर राणाको बाल्यकाल, राजनिति प्रवेश, प्रधानमन्त्री, युरोप भ्रमण, तिब्बतसँगको लडाइँ देखि उनको मृत्यु सम्मको कुरालाइ समेटेको छ ।
”मेरो बुबाले आफ्नो यूरोप भ्रमणबारे एउटा डायरी जस्तो लेखोट छोडेर जानुभएको थियो । मूलतः त्यही डायरीमा मेरो यो कृति विवरणमा आधारित छ ।” पुस्तकमा पद्मजङ्ग कुँवर लेख्नुहुन्छ, ”डायरीको रूपलाई परिवर्तन गरेर मैले वर्णनात्मक कलेवर दिएको छु तर त्यसको मौलिक रूपलाई भने जस्ताको तस्तै प्रस्तुत गरेको छु । ध्वनिमा यो कति एसियाली भएको छ, यसको कति भाव र कति सार छ, चित्रवर्णनमा कति सरसता छ भन्ने विषयमा यस पञ्जिकामा टिपोट गर्नु निकै घतलाग्दो छ । वास्तवमा यो कुनै पनि यूरोपेलीले गर्ने भ्रमणको विवरण भन्दा सर्वथा भिन्न छ। यसकारण यूरोपेलीका लागि यहाँ वर्णन गरिएका विषयभन्दा अन्य विषयहरू रूचिकर लाग्छन् होला ।”
त्यसै गरी पुस्तकमा सागरशमशेर लेख्नुहुन्छ, ”जङ्गबहादुर राणालाई सधै गाली गर्ने एउटा भाँडो मात्रै बनाइयो । मैले त इतिहासमा पृथ्वीनारायण शाहपछि ‘ब्रिलिएन्ट’ पात्रमा जङ्गबहादुर र वीपी कोइरालालाई मात्रै देखेको छु । गणेशमानजी र किसुनजीलाई म योग्य ऐतिहासिक पात्र मान्छु । जङ्गबहादुरका हकमा हामीकहाँ उनको पर्सेप्सन बल्ल बुझ्न थालिएको छ । कि बुद्ध बन्छु कि जङ्गबहादुर बन्छु भनेर बनाइएको स्लोगनमा पनि आआफ्नै बुझाइ होला । इतिहास बुझ्दा जङ्गबहादुरलाई मैले ब्रिलिएन्ट पाएको छु, सामान्य पर्ससप्नभन्दा धेरै माथि । ”
त्यसैगरी पुस्तकमा डा. गोविन्दराज भट्टराई लेख्नुहुन्छ, त्यतिबेला पूर्वी मुलुकमा यो विकार (हुकुमीतन्त्र) निरन्तर रहेकाले देश अन्धकारमय छ, जनता अशिक्षित छन् र हुकुमी शासनले छलेर कुनै उज्यालो आउन सक्ने छैन । यस्ता कुरा पद्मजङ्गले देखेजस्तो लाग्छ । उनी एक शिष्ट आलोचक वा सम्यक् दृष्टि भएका व्यक्ति हुन्, किनकि उनले अनावश्यक रूपले आफ्ना पिताजीको प्रशंसा गरेका छैनन् । पर्दा आलोचना पनि गरेका छन् सत्य के हो भने जङ्गबहादुर र नेपाल सरकार यस कालखण्डमा अपरिवर्तनीय अवयव (अङ्ग) भएका थिए ।”
पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । दुई सय त्रिरानब्बे पृष्ठमा फैलिएको पुस्तकको मूल्य पाँच सय पचास रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
