
काठमाडौँ । प्रत्येक महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयको आरसालामा आयोजित हुने लोकप्रिय सांगीतिक कार्यक्रम ‘पलेँटी’मा यसपटक गीतकार कालीप्रसाद रिजाल र संगीतकार आभासको सहकार्यले विशेष रौनक थप्ने भएको छ। मार्च २८ र २९ तारिखमा हुने पलेँटीमा रिजालका नयाँ गीतहरू आभासको संगीत र स्वरमा गुन्जिनेछ ।
लामो समयपछि श्रोतामाझ आउन लाग्नुभएको रिजालले आफूलाई बालकझैँ उत्साहित महसुस भएको बताउनु भएको छ। उहाँले भन्नुभयो, ‘नयाँ गीत लेखिरहेको थिएँ, तर चित्त बुझ्दो संगीतकार आभासजीलाई पाएपछि सहकार्य गर्न उत्सुक भएँ। पहिले पनि नेपालयसँग मेरो सम्बन्ध थियो, तर यो सहकार्य अझै विशेष लागिरहेको छ।’
वि.सं. १९९६ मा धनकुटामा जन्मिनु भएको रिजाल २०१३ सालमा कलेज पढ्न काठमाडौँ आउनुभएको थियो । त्यसबेला उहाँको कविताले अन्तरकलेज प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको थियो । पछि नारायणगोपालको प्रोत्साहनपछि उहाँले गीत लेख्न सुरु गर्नुभएको थियो । रिजालको ‘केही मीठो बात गर’, ‘आँखा छोपी नरोऊ भनी’, ‘झरेको पातझैँ’, ‘झर्यो जिन्दगी’, ‘यसै गरी बिताइदिन्छु’, ‘माया गर्नेको चोखो माया’ जस्ता अमर गीतहरू नारायणगोपालको स्वर र संगीतमा सजिएको छ । यी गीतहरू पनि यसपटकको पलेँटीमा पुनः प्रस्तुत हुनेछन्। त्यसबाहेक, अम्बर गुरुङको संगीत रहेका दुई गीत पनि कार्यक्रममा समावेश गरिएको ।
२० वर्षदेखि पलेँटीको संयोजन गर्दै आएका आभास यसपटक संगीतकार र गायक दुवै भूमिकामा देखिनुहुनेछ । उहाँले रिजालका आठ नयाँ गीतहरूमा धुन भर्नुभएको छ । आभासले भन्नुभयो, ‘गीति सृजनालाई कविता सरह सम्मान गर्ने रिजाल जस्ता गीतकार अहिले पनि लेखिरहनु भएको छ तर संगीत नभइरहेको कुरा राम्रो लागेन, त्यसैले मैले उहाँका नयाँ गीतहरूमा धुन भर्ने प्रयास गरेँ।’ नारायणगोपालको रोजाइमा परेका गीतकारसँग सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो । आभासको विचारमा साहित्य र संगीतबीचको दूरी घटाउन सहकार्य जरुरी छ।
पलेँटीकै अवसरमा रिजालका नयाँ र पुराना गीत तथा कविताहरू समेटिएको ‘केही मीठो बात गर’ शीर्षकको कृति पनि लोकार्पण हुनेछ। यसमा २० वटा कविता र ६८ वटा गीतहरू समावेश छन्। संगीतकर्मीहरूलाई सहज होस् भनेर १० वटा गीतको स्टाफ नोटेशन पनि पुस्तकमा समावेश गरिएको नेपालयका सम्पादक विमल आचार्यले जानकारी दिनुभयो ।
रिजालका लोकप्रिय पुराना गीतहरू अभिज्ञा घिमिरे र बेनुप क्षेत्रीले गाएर सुनाउनुहुनेछ भने सुनील सिंह, सुन्दरकुमार महर्जन, मिलन घिमिरे, कृपेश लोहनी र लक्ष्मीप्रसाद डंगोलले वाद्यवादनमा साथ दिनुहुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

