
घोराही । राप्ती साहित्य परिषद् दाङ शाखाले आयोजना गर्न लागेको ‘बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान २०८१’ कार्यक्रमको तयारी पूरा भएको छ। चैत्र १६ गते घोराहीको मालाइन होटलमा हुने यस उत्सवमा आठ भाषिका स्रष्टाहरूले आ-आफ्ना रचनाहरू प्रस्तुत गर्नुहुनेछ ।
यस उत्सवले नेपालको बहुभाषिक, बहुसांस्कृतिक पहिचानलाई मजबुत पार्ने लक्ष्य राखेको छ। कार्यक्रममा संस्कृत, नेपाली, थारू, नेवारी, कुसुण्डा, कुमाल र अवधि भाषाका स्रष्टाहरूले आफ्ना काव्यहरू सुनाउनुहुनेछ।
संस्कृत भाषाबाट साहित्यकार उत्तम खतिवडा र जनक पोखरेल, नेपालीबाट साहित्यकार नारायण नेपाल र शारदा शर्मा, थारूबाट छविलाल कोपिला र राजकुमार कान्छा, नेवारीबाट नारायणप्रसाद श्रेष्ठ र योगमाया श्रेष्ठ, कुसुण्डाबाट उदय आले र निर्मला कुसुण्डा, कुमालबाट तिलकबहादुर कुमाल र अवधिबाट जगतराम यादवले आफ्ना रचना वाचन गर्नुहुनेछ ।
कार्यक्रममा लामो समयदेखि साहित्यमा योगदान पुर्याउनुभएको स्रष्टाहरूलाई सम्मान र पुरस्कार पनि प्रदान गरिनेछ। साहित्यकार विनोद पोखरेल, पद्मप्रसाद शर्मा र दीपक शर्मा ‘समीर’ सम्मानित हुनुहुनेछ भने साहित्यकार डा. कृष्णराज डिसी, थारू भाषासाहित्यका अनुसन्धानकर्ता डा. कृष्णराज सर्वहारी र गायक प्रकाश रेग्मी पुरस्कृत हुनुहुनेछ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीले यस बहुभाषिक काव्य उत्सवले विभिन्न भाषाहरूको संरक्षणमा टेवा पुर्याउने, संस्कृतिको आदानप्रदान गर्ने र स्रष्टाहरूलाई मातृभाषामा सिर्जना गर्न प्रेरित गर्ने बताउनुभयो । उहाँले नेपालको बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई उजागर गर्न यो कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो । उहाँले सबै साहित्यप्रेमी, पत्रकार तथा साहित्यकारहरूलाई कार्यक्रममा उपस्थित भइ विभिन्न भाषाका काव्यको रसास्वादन गर्न आग्रह गर्नुभएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

