काठमाडौं । नेपाली साहित्यका चर्चित नाम वासु शशीको ८९ औँ जन्मजयन्तीको अवसरमा वासु स्मृति परिषद्ले नाटककार मनबहादुर मुखिया, कवि विमल वैद्य र सन्ध्या पहाडीलाई सम्मान र पुरस्कार प्रदान गरेको छ। अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा साहित्यकार तथा चलचित्र निर्देशक यादव खरेलले मुखियालाई ‘वासु शशी साहित्य सम्मान २०८१’ प्रदान गर्नुभएको थियो ।

मुखियालाई सम्मानित गर्दै खरेलले नेपाली नाटक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको थियो । यसै कार्यक्रममा चालीस दशकका कवि विमल वैद्यलाई ‘वासु शशी साहित्य पुरस्कार २०८१’ र पचास दशककी कवि सन्ध्या पहाडीलाई ‘कृष्ण-सरस्वती साहित्य पुरस्कार २०८१’ प्रदान गरिएको थियो । दुवै पुरस्कारमा पच्चीस हजार रुपैयाँ नगद राशि समावेश छ।

साहित्यकार हिरण्यकुमारी पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो भने चलचित्र निर्देशक एवं सर्जक प्रकाश सायमीले सम्मानित र पुरस्कृत सर्जकहरूबारे आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रममा सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूले पनि आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण परिषद् सदस्य यादव भट्टराईले गर्नुभएको थियो ।

वासु स्मृति परिषद्का अध्यक्ष गणेश रसिक गम्भीर बिरामी भएकाले कार्यक्रममा अनुपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा कृष्ण-सरस्वती साहित्य पुरस्कारकी संरक्षक सरस्वती जोशी, परिषद्का सल्लाहकार राधेश्याम लेकाली लगायतका साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसअघि वासु शशी साहित्य पुरस्कार विनोद अश्रुमाली, मञ्जु काँचुली लगायतका थुप्रै साहित्यकारहरूले प्राप्त गरिसक्नुभएको छ भने वासु शशी स्मृति सम्मान तीर्थराज वन्त, डा. मोहन हिमांशु थापा लगायतका साहित्यकारहरूलाई प्रदान गरिएको थियो। यस वर्षको सम्मान र पुरस्कारले नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याउने सर्जकहरूलाई सम्मान गरेको छ।