काठमाडौं । कवि तथा नाटककार गिलु रातोसको नाट्यकृति ‘मेषीदण्ड’  बानेश्वरस्थित मण्डला थिएटरमा लोकार्पण भएको छ। मण्डला थिएटर नेपालद्वारा प्रकाशित यस कृतिलाई कवि श्रवण मुकारुङ, लेखक तथा अभियन्ता अनुभव अजित, रैथाने सङ्गीतका अनुसन्धाता झुमा लिम्बू र स्वयं लेखक गिलु रातोसले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो।

६ गतेबाट सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव–२०२५’ को अवसरमा मण्डला थिएटरमा आयोजित एक समारोहमा यस कृतिको लोकार्पण गरिएको हो। लोकार्पण समारोहमा बोल्दै कवि मुकारुङले ‘मेषीदण्ड’ लाई काल्पनिकताभन्दा पर गएर कलाको माध्यमबाट सत्य बोल्ने ऐतिहासिक दस्तावेजको संज्ञा दिनुभयो। उहाँले भन्नुभयो, ‘यो नाटकले नाटक काल्पनिक मात्र हुन्छ भन्ने भाष्यलाई चिर्दै वास्तविकतालाई उजागर गर्छ। अहिलेको पुस्ताले लेखेको यो अब्बल नाट्यकृति हो र यसको प्रकाशनले यसलाई थप निर्देशकहरूका लागि पहुँचयोग्य बनाएको छ।”

लेखक तथा अभियन्ता अजितले नाटकमा राज्यद्वारा गरिने विभेद र त्यस विरुद्ध एकीकृत आन्दोलनको आवश्यकतालाई उजागर गरिएको उल्लेख गर्दै समाजमा हुने विभेदविरुद्ध यस्ता कृतिहरू निरन्तर लेखिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, रैथाने सङ्गीतका अनुसन्धाता लिम्बूले नाटकले भाषा र सङ्गीतको माध्यमबाट समाजलाई कसरी जोडेको छ भन्ने रोचक पक्षबारे प्रकाश पार्नुभएको थियो ।

अनिल सुब्बा निर्देशित ‘मेषीदण्ड’ नाटक गत साउनमा मण्डला थिएटरमा एक महिनासम्म सफलतापूर्वक मञ्चन भएको थियो। अब यसको प्रकाशित रूपले यसलाई अझ व्यापक पाठक र दर्शकसम्म पुर्‍याउने अपेक्षा गरिएको छ। मण्डला थिएटरले यस नाटकलाई पुस्तकका रूपमा प्रकाशन गरेको हो।