काठमाडौँ । निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ को व्यक्ति निबन्ध संग्रह ‘अभिवन्द्य’ को तेस्रो संस्करण सार्वजनिक भएको छ। सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, समालोचक प्रमोद प्रधान र निबन्धकार रोदनले संयुक्त रूपमा उक्त निबन्ध संग्रहको लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा प्रा.डा. गौतमले ‘अभिवन्दन’ लाई मान्छे पढेर निस्केको निबन्ध कृति भन्दै यसले नेपाली निबन्ध साहित्यमा नयाँ शैलीको विकास गरेको बताउनुभयो । उहाँले रोदनले धेरै स्रष्टाका अनुद्घाटित तथ्यलाई निबन्धमार्फत बाहिर ल्याएको उल्लेख गर्नुभयो । पुस्तक पढ्नुभन्दा मान्छेलाई पढ्न कठिन भएको उल्लेख गर्दै प्रा.डा. गौतमले रोदनले यो दुस्साहस गरेको बताउनुभयो ।

समालोचक प्रमोद प्रधानले सरल भाषाशैलीमा लेखिएका निबन्धले सबै पाठकको मन जित्ने विश्वास व्यक्त गर्दै आफ्नो बारेमा पनि निबन्ध परेकोमा खुशी व्यक्त गर्नुभयो । ‘अभिवन्दन’ का स्रष्टा रोदनले कृतिको रचना गर्नुको उद्देश्यबारे प्रकाश पार्दै भोली के हुन्छ भन्ने अनिश्चितता र स्मृतिग्रन्थप्रति विश्वास नभएकोले जिउँदै सम्मान गर्ने र सम्मान ग्रन्थ निकाल्नु पर्ने धारणा राख्नुभयो । उहाँले आफूले आजसम्म संगत गरेका मान्छे खराब नभएको र आफ्नो कमाई साथीभाइ नै भएको बताउनुभयो । राममणि रिसाल र तेजेश्वर बाबु ग्वँगको प्रभाव आफ्नो लेखनीमा परेको उहाँले उल्लेख गर्नुभयो ।

समीक्षक प्रदीप सापकोटाले विभिन्न क्षेत्रका व्यक्तित्वको जीवन र योगदानलाई निजात्मक अनुभूतिको चास्नीमा मज्जाले घोलेर लेखिएका व्यक्तित्व निबन्ध पठनीय भएको बताउनुभयो । उहाँले निबन्ध काव्यात्मक र मीठो भएको साथै सरल भाषाशैलीले निबन्धलाई प्राण दिएको बताउँदै ‘अभिवन्द्य’ ले परम्परावादी निबन्धकारिता तोडेको धारणा राख्नुभयो ।

सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले संस्थाको स्थापनाको उद्देश्यबारे जानकारी गराउनुभयो भने कोषाध्यक्ष तारा केसीले स्वागत र सदस्य पूर्णबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।