काठमाडौं । काठमाडौंमा धुमधामसँग चलिरहेको तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (नेटफेस्ट) को समानान्तर महोत्सव आजदेखि चितवन र बेलबारीमा पनि सुरु भएको छ। काठमाडौंको व्यस्तताबाट टाढा, यी दुई शहरमा पनि नाट्यप्रेमीहरुले नेपाली तथा अन्तर्राष्ट्रिय नाटकको मजा लिन पाउनुहुनेछ भएको छ।

बेलबारीमा प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले दिउँसो १ बजे ‘बेलबारी अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को उद्घाटन गर्नुभएको छ भने चितवनमा दिउँसो २ बजे भरतपुर महानगरपालिकाकी उपमेयर चित्रसेन अधिकारी र कलाकार विजय बरालले ‘प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को उद्घाटन गर्नुभएको छ । तीन दिनसम्म चल्ने यी महोत्सवमा नेपालसहित भारत, जापान, इरान र लिथुआनिया जस्ता देशका नाटकहरु प्रदर्शन हुनेछन्। बेलबारीमा नेपाल, भारत र जापानका ६ वटा नाटक तथा स्थानीय र विद्यार्थी समूहका नाटकहरू पनि मञ्चन हुने महोत्सव निर्देशक विकास बुढाथोकीले जानकारी दिनुभयो । चितवनमा भने पाँच विदेशी नाटकसँगै आयोजक संस्था र स्थानीय नाट्य संस्थाका नाटकहरू पनि प्रदर्शन हुनेछन् भन्ने महोत्सव निर्देशक प्रदीप अन्जानले बताउनुभएको छ ।

नाटक प्रदर्शन मात्र नभई दुवै महोत्सवमा चित्रकला, कविता, सांस्कृतिक प्रदर्शनी र अन्तक्र्रियात्मक छलफलहरू पनि आयोजना गरिएको छ। बेलबारीमा तमु बुद्धिष्ठ गुम्बामा र चितवनमा नारायणी कला मन्दिर परिसरमा महोत्सवका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। चितवनको महोत्सव कर्मी चौतारी, नारायणी कला मन्दिर र तरंग नाट्य समूहले मण्डला थिएटरसँगको सहकार्यमा आयोजना गरेको हो ।

नेटफेस्टले काठमाडौंबाहिरका रंगकर्मीहरूसँग सहकार्य गरी यस्ता समानान्तर महोत्सवहरू आयोजना गर्ने अभ्यास पहिलो संस्करणदेखि नै सुरु गरेको थियो। यस वर्ष पोखरामा पनि पाँच दिने समानान्तर नेटफेस्ट भइरहेको छ। नेटफेस्ट संयोजक केदार श्रेष्ठले यस अभ्यासले देशभरका रंगकर्मीहरूलाई एकै मञ्चमा ल्याउन र नाट्यकलाको विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।

काठमाडौंमा जारी निटफेस्टको आज पाँचौ दिन हो । मण्डला थिएटरमा जारी महोत्सवमा आज दिउँसो १२ बजे जापानको मास्टर शोको एन्ड मार्गरिटा, भारतको तमाशा, प्लेब्याक थिएटर विस्डम अफ लाइफ, आउटडोर पर्फमेन्सहरु साउन्ड्स अफ मन्डल र म्याक अफ म्याजिक मञ्चन हुँदैछन्।

हरेक दिन छलफल कार्यक्रमसमेत हुँदै आएको महोत्सवमा दिउँसो ३ : ३० बजे ‘राजनीतिमा कलानीति’ शीर्षकमा छलफल पनि हुनेछ। नेकपा माओवादीका सुदन किराँती, रामकुमारी झाँक्री, ठाकुर गैरे र प्रतिमा गौतम वक्ता रहेको अन्तक्र्रिया स्वतन्त्र पत्रकार प्रभाकर गौतमले सञ्चालन गर्नुहुनेछ । महोत्सवको हरेक दिनको समापन सन्ध्याकालीन संगीत, नृत्य वा कविताबाट हुँदै आएको छ। काठमाडौंमा जारी नेटफेस्ट चैत १२ सम्म चल्नेछ।