
काठमाडौँ । चलचित्र निर्देशक, सञ्चारकर्मी तथा लेखक प्रकाश सायमीद्वारा लिखित पुस्तक ‘कोलाहलको कोलाज’ एक समारोहबीच सार्वजनिक भएको छ। ‘सुरशक्ति समूह’ नामक नेपाली सांगीतिक क्षेत्रका सात जना चर्चित गायिकाहरु – संगीता राना प्रधान, कुन्ती मोक्तान, विमला राई, रमना श्रेष्ठ, प्रतिमा राजभण्डारी, पवित्रा सुब्बा र दिपा राई – ले संयुक्त रुपमा उक्त कृतिको विमोचन गर्नुभएको थियो । एजुकेशन पब्लिशिङ हाउस, जमल, काठमाडौँबाट प्रकाशित यस कृतिको विमोचन कार्यक्रम पनि सोही स्थानमा सम्पन्न भएको थियो ।
सृजनात्मक गद्य विधामा लेखिएको यस कृतिमा रचना विद्या र व्यक्ति विम्ब गरी दुई भाग समावेश छन्। लेखक सायमीले शङ्कर लामिछाने, देव आनन्द, गुलजार जस्ता व्यक्तित्वहरूको जीवनका सुक्ष्म पक्षहरूलाई रोचक शैलीमा प्रस्तुत गर्नुभएको छ। उहाँले केही समयअघि मात्र स्वर सम्राट नारायण गोपालको जीवनीमा आधारित कृति ‘नारायण गोपाल’ बजारमा ल्याउनुभएको थियो। ‘कोलाहलको कोलाज’ ले सायमीको लेखन यात्रामा अर्को महत्वपूर्ण आयाम थपेको छ भन्ने कुरामा दुई मत देखिँदैन।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

