
काठमाडौं । नेपाली साहित्यका शिखर पुरुष भूपी शेरचनको जीवन र व्यक्तित्वबारे उहाँकी छोरी कविता शेरचनद्वारा लिखित संस्मरण ‘भूपी छोरीको स्मृतिमा’ बजारमा आएको छ । यो पुस्तक, जुन ‘भूपीः अ डटर्स मेम्वाएर’ को नेपाली अनुवाद हो, भूपीको विरोधाभासपूर्ण जीवनका विभिन्न आयामहरूलाई उजागर गर्दै उहाँको छविलाई नयाँ नजरले हेर्ने प्रयास गर्दछ।
आधुनिक नेपाली कविताका सर्वोच्च शिखर मानिने भूपी शेरचन आज पनि उत्तिकै आदर र सम्मानका साथ पढिन्छन्। मानवीय संवेदना र सामाजिक न्यायका पक्षधर कवि भूपीको जीवन भने रहस्य र विरोधाभासले भरिएको थियो। कम्युनिस्ट आदर्शलाई आत्मसात् गरेका उहाँले विलासी जीवनशैली अपनाउनुले उहाँको जीवनलाई थप जटिल बनाएको छ। यही विरोधाभासका कारण उहाँ आफ्ना सिर्जनाभन्दा बढी किस्सा र हल्लामा बाँच्न बाध्य हुनुभयो ।
पुस्तक लेख्ने क्रममा कविता शेरचन भन्नुहुन्छ, “कवि भूपी शेरचनबारे मैले अनेकौं किस्सा सुनेकी छु, केही सत्य तर धेरै कपोलकल्पित ! तिनै किस्साहरूलाई यस पुस्तकमार्फत मैले रहस्योद्घाटन गर्ने प्रयास गरेकी छु।” उहाँले थप भन्नुभयो, “सम्पन्न परिवारमा जन्मेर पनि बुबाले किन साम्यवादी दर्शन अँगाल्नुभयो ? सर्वहारा कवि कसरी राजावादी बन्न पुग्नुभयो ? साथीभाइ र परिवारसँग उहाँको सम्बन्ध कस्तो थियो ? यस्ता प्रश्नहरूको उत्तर दिँदै उहाँका जीवनका विभिन्न पाटा केलाउने र पाठकसमक्ष ल्याउने मेरो प्रयास यो पुस्तक हो।”
प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नीरज भारीले नेपाली साहित्यका महान् व्यक्तित्वहरूबारे नयाँ पुस्तालाई जानकारी गराउने र उनीहरूमा साहित्यिक सम्पदाप्रति श्रद्धा जगाउने उद्देश्यले आफूहरूले यस्ता संस्मरण र जीवनीहरू प्रकाशित गर्दै आएको बताउनुभयो । यसअघि उहाँहरूले गोविन्द गिरीद्वारा लिखित पारिजातको जीवनी ‘सुश्री पारिजात’ र लक्ष्मीप्रसाद देवकोटाका छोरा पद्म देवकोटाद्वारा लिखित संस्मरण ‘सम्झनामा बुबा लक्ष्मीप्रसाद देवकोटा’ प्रकाशित गरिसक्नुभएको छ ।
‘भूपी छोरीको स्मृतिमा’ मा कविताले बुबा भूपीसँगको आफ्नो भावनात्मक सम्बन्ध, उहाँबारे चलेका हल्लाहरू र उहाँको व्यक्तित्व निर्माणमा प्रभाव पार्ने कारकहरूको विश्लेषण गर्नुभएको छ । धनाढ्य परिवारमा जन्मेका सर्वहारा कविदेखि समाजवादी कवि भूपी शेरचनसम्मको उहाँको यात्राको मार्मिक चित्रण पनि यस पुस्तकमा गरिएको छ । यो किताब केवल छोरीको स्मृति मात्र नभई भूपीसँग सम्बन्धित प्रश्नहरूको जवाफ र शेष शंकाहरूको स्पष्टीकरण पनि हो । भूपीलाई नजिकबाट चिनेकी छोरीको यो संस्मरणले उहाँको बाहिर देखिने चम्किलो र आकर्षक व्यक्तित्वभित्र लुकेको अथाह पीडालाई उजागर गर्दछ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

