
विराटनगर । साहित्यकार बाबुराम पोखरेलको समालोचना संग्रह ‘समदृष्टि’ विराटनगरमा एक समारोहका साथ विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा साहित्यप्रेमी अतिथिहरूको उपस्थितिमा उक्त पुस्तकको विमोचन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा देवी नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, डा. हरिहर भण्डारी, साहित्यकार बलराम पोखरेल, गंगा सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष भूषण ढुंगेल, प्रा.डा. गोपाल दाहाल, नेपाल स्रष्टा समाज कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, साहित्यकार एनपी आचार्य, प्रा.डा. मेदिनीप्रसाद शर्मा नेपाल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल लगायतले पुस्तक विमोचन गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
‘समदृष्टि’ संग्रहमा पोखरेलले विश्वेश्वरप्रसाद कोइराला, भूपि शेरचनदेखि लिएर नयाँ पुस्ताका लेखकहरूका व्यक्तित्व र कृतित्वमाथि गहन समालोचना गर्नुभएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको १०७ औँ कृति ‘समदृष्टि’ माथि साहित्यकार हरि कट्टेलले समीक्षा गर्दै यसलाई निकै उत्कृष्ट समालोचना संग्रहको संज्ञा दिनुभयो । कट्टेलले समालोचना लेखनको चुनौतीलाई उजागर गर्दै पोखरेलले यस क्षेत्रमा उल्लेखनीय योगदान दिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिहरूले पोखरेलको ‘समदृष्टि’ लाई बौद्धिक र गहन समालोचनाको नमुना भएको बताउनुभयो । उहाँहरूले पोखरेलले आफूलाई समालोचकको रूपमा सफलतापूर्वक स्थापित गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो । लेखक पोखरेलले आफूले यस कृतिमा निकै मेहनत गरेको बताउँदै पाठकहरूको प्रतिक्रियाको आशा व्यक्त गर्नुभयो ।
नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष समेत रहेका पोखरेल मुक्तक लेखनका लागि पनि परिचित हुनुहुन्छ। यसअघि उहाँका अन्य साहित्यिक कृतिहरू पनि प्रकाशित भइसकेको छ । ‘समदृष्टि’ को प्रकाशनले नेपाली साहित्य क्षेत्रमा समालोचनाको विकासमा थप योगदान पुग्ने विश्वास लिइएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

