पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ५ वटा पुस्तक प्राप्त भएका छन् ।

१. आत्माबोध – भागवत खनाल


लेखक भागवत खनालको निबन्ध सङग्रह हो ‘आत्माबोध’ । भागवतका निबन्धहरूमा सुदूर जीवनका सम्झनाहरुका साथै जीवन दर्शन, स्वप्रेम, आत्मानुभूति, आत्माबोध लगायत तत्त्वहरू पाइन्छन् ।

”भाइ भागवत एक प्रतिभाशाली छात्र थियो । म छुट्टीमा घर आएका बखतमा आफूले लेखेका कथा र कविता पढेर सुनाउँथ्यो ।” पुस्तकमा प्रकाशक दुर्गाप्रसाद खनाल लेख्नुहुन्छ, ”उसको लापरबाहीसाथ लेख्ने बानी थियो तापनि लेखाइमा परिपक्कता देखिन्थ्यो । भाइका रचनाले भरिएका धेरै कापी र डायरीहरु त्यसै लथालिङ्ग भएर हराए । पछिल्लो समयमा भाइका रचनाहरु राष्ट्रिय दैनिक पत्रिका, सामयिक प्रकाशन र विभिन्न अनलाइन माध्यमबाट प्रकाशित हुन थाले । विलम्बसाथ नै भए तापनि भाइ आफ्ना रचनाका माध्यमबाट सार्वजनिक रुपमा मुखरित हुन थालेको देख्दा खुशी लाग्यो । केही दिनअघि एउटा निबन्ध सङग्रह पनि प्रकाशन गर्ने हो कि भनेर जिज्ञासा राखेँ । भाइले ‘प्रकाशन संस्था खोजिरहेको छु, केही समय लाग्छ’ भन्यो । मैले भनेँ, ‘प्रकाशन गर्दा लाग्ने छपाइ खर्च म दिन्छु । मलाई तेरो पुस्तकको प्रकाशक हुने इच्छा छ ।’ भाइ खुशी भयो । म पनि खुशी भएँ ।”

त्यसैगरी, पुस्तकको आवरण बनाउनुहुने राजीव घिमिरे लेख्नुहुन्छ, ”यस पुस्तकको आवरण सिँगार्ने अवसर दिनुभएकोमा मित्र भागवत खनालप्रति अत्यन्त आभारी छु । यो आवरण चित्र पुस्तकमा समाहित रचनाहरुमा अभिव्यक्त विचारमा भिजेका रङ्ग र भावनामा लुकेका दृश्यहरु खोज्ने प्रयास हो । यहाँ मैले निबन्धका शब्दहरुलाई दृश्यमा अनुवाद मात्र गरेको हुँ । आवरण पृष्ठको चित्रले आत्मखोज, आत्मप्रेम, आत्मस्वीकृति र आत्मयात्रालाई प्रतिकात्मक रुपमा प्रस्तुत गरेको छ । यसले व्यक्तिको आन्तरिक गहिराइ र अस्तित्वको विशालतालाई चित्रित गर्दछ । भनिन्छ, एक चित्रले हजार शब्द बोल्छ । यहाँ एक एक निबन्धहरु शब्दरुपी हजार हजार चित्र बोकेर पाठकसामु जीवन्त बनेका छन् । यो सङग्रह एक साहित्यिक कृति मात्र होइन, अपितु विचारको क्यानभासमा पोतिएका सशक्त शब्दहरुको मोहक चित्र पनि हो । लेखक भागवत खनाल शब्दका कुशल चित्रकार हुन् ।”

पुस्तकलाई दुर्गाप्रसाद खनालले प्रकाशन गर्नुभएको हो । ३० वटा निबन्ध समेटिएको पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।

………..

२. अक्षत अन्टार्कटिका – जीवा लामिछाने


नियात्राकार जीवा लामिछानेको यात्रा वृतान्त हो ‘अक्षत अन्टार्कटिका’ । नियात्राकारले पुस्तकमा अन्टार्कटिका महादेशमा आफूले गरेको यात्राको बारेमा लेख्नुभएको छ ।

”मैले १२ दिन यात्रा गरेको त्यो सेतो साम्राज्यको विशाल वैभवलाई आँखामा अटाउन नसकेपछि त्यसलाई मनमा धारण गरेको थिएँ ।” नियात्राकार लामिछाने आफ्नो कुरामा लेख्नुहुन्छ, ”त्यहाँ मानिसहरुको कोलाहल थिएन । अनौठो खालको मौनता थियो । त्यो सेतो साम्राज्यको यात्राबाट फर्किदा मभित्र त्यही मौनता स्थापित भएको थियो । जीवनको दौडधुपमा लागिहाल्नुपर्ने नभएको भए म ध्यानस्थ भएर कति दिन आफैंभित्रको त्यो मौनतासित संवाद गरिरहने थिएँ हुँला । त्यहाँको हिउँको स्निग्ध सेतोपनको पवित्र आभालाई आफ्नो अन्तर्मनभित्र समेटेर चुपचाप बसिरहनु कति मज्जाको अनुभूति हुन्थ्यो होला । तर म लेखनमा अभ्यासरत पनि त छु । त्यसैले लाग्यो, मलाई मौन बस्ने छुट छैन । आफ्ना आँखा र ब्रह्मले देखेका महत्त्वपूर्ण कुरालाई शब्दमा रुपान्तरित गरेर आत्मीय पाठकहरुसित शब्दमार्फत संवाद गर्ने मलाई बानी लागिसकेको छ । यो किताब, जुन अहिले तपाईँहरुको हातमा छ, मैले त्यो सेतो साम्राज्यमा जे देखेँ, जे अनुभूत गरेँ, त्यसको सामान्य शब्द– बिम्ब र एउटा सङक्षिप्त ‘मौनलाप’ मात्र हो ।”

पुस्तकको पछिल्लो कभर पृष्ठमा लेखिएको छ, “जीवा लामिछानेकृत अक्षत अन्टार्कटिका सरल भाषामा लेखिएको यस्तो यात्रा वृतान्त हो, जसका हरेक अनुच्छेद र अध्यायले पाठकलाई पृथ्वीको सबैभन्दा रहस्यमय एवम् कौतुकमय स्थानको रोमाञ्चक भ्रमण गराउँछन् । यस पुस्तकले अन्टार्कटिकाको दृश्य चित्र मात्र प्रस्तुत गर्दैन, पृथ्वीको भविष्यप्रति हामीलाई सचेत हुन प्रेरित पनि गर्छ । नियात्रा कृति भए पनि यसमा कतै आख्यानको छनक पाइन्छ, कतै काव्यात्मक अभिव्यञ्जना भेटिन्छ । यसमा कतै वैश्विक चिन्तन, चिन्ता र चासो व्यक्त भएका छन् भने कतै मानवीय सम्बन्ध र सरोकारलाई हार्दिकतासहित अभिव्यक्त गरिएका छन् । पुस्तक पढिसकेपछि थाहा हुन्छ, अन्टार्कटिका चिसो मात्र छैन, सौन्दर्य पनि छ । के त्यो चमत्कृत पार्ने सौन्दर्यलाई हामीले भावी पुस्ताका लागि सुरक्षित राखिदिन सक्छौँ ? यो पुस्तक पढिरहँदा पाठकको मन मस्तिष्कमा यही प्रश्नले हस्तक्षेप गरिरहन्छ ।”

पुस्तकलाई फाइनप्रिन्टले बजारमा ल्याएको छ । १ सय ८३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ६ सय रुपियाँ रहेको छ ।

…………

३. जूनकिरीको उज्यालो – मुना भण्डारी


कवि मुना भण्डारीको कवितासङग्रह हो ‘जूनकिरीको उज्यालो’ । कवि भण्डारीले कवितामार्फत कतै स्वाभिमानको शन्देस प्रवाह गर्नुभएको छ, कतै वैदेशिक रोजगारीले पारिवारिक विघटन भएको पीडा लेख्नुभएको छ ।

”लेखिका भण्डारीको कवितासङग्रह ‘जूनकिरीको उज्यालो’ भित्र नियाल्दा फरकफरक शीर्षकमा विभिन्न भावहरुको प्रस्तुतिले पहिलाका भन्दा खारिएका र माझिएका कविता र गीतहरुले पाठकको मनलाई सहज रुपमा ध्यानकर्षण गर्न सकेको पाइन्छ ।” पुस्तकमा सत्य शास्वत लेख्नुहुन्छ, ”बयालीस वटा कविताहरुले सामाजिक परिवेश, राजनीतिक परिवेश, सांस्कृतिक परिवेश र पारिवारिक परिवेशभित्रका घटना परिघटनाहरुको भावभँङगीको सँगालोका रुपमा रहेका छन् । प्रकाशित कृतिभित्र पाँचवटा मन छुने गीतहरु पनि समावेश रहेका छन् । तीजको चाडबाड, सामाजिक विकृति विसङगतिलाई प्रहार गर्दै मनका बह पनि गीतमार्फत पोखिएका छन् । २०४६ सालको जनआन्दोलनको आततायी परिवेशलाई पहिलो पटक लिपिबद्ध गर्न शुरु गरेकी साहित्यकर्मी भण्डारीको जोश जाँगर र उत्साहको सम्मान गर्दै लेखनी कार्यमा कलम नरोकियोस् भन्ने हार्दिक शुभकामना ।”

त्यसैगरी पुस्तकमा कवि मुना भण्डारी लेख्नुहुन्छ, ”२०४६ सालको आन्दोलनपछि मैले साहित्य क्षेत्रमा कलम चलाउन थालेँ । दिनभरिको अस्तव्यस्तता बेलुका आएर कलमको माध्यमबाट कापीमा उतार्ने मेरो बानी थियो । पलपलका तीतामीठा कुराहरुलाई कापीमा पोख्ने मेरो बानीले मलाई साहित्यलेखनतर्फ आकर्षित गर्यो । त्यसपछि म क्रमशः लेखनकार्यमा अगाडी बढदै आफ्ना भावना व्यक्त गर्न थालेँ । तिनै मनका भावना आज आएर पुस्तकमा सङकलित गरी भगवानरुपी पाठकवर्गप्रति राख्ने अवसर पाएको छु । ‘मनका छालहरू’ नामक पुस्तकको पहिलो संस्करण निकालिसकेपछिको प्रयासस्वरुप यहाँहरु सामु पुनः यो दोस्रो खण्ड निकालेको छु ।’

पुस्तकलाई विपन भण्डारीले प्रकाशन गर्नुभएको छ । ४२ वटा कविता रहेको पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।

………….

४. लौ भन्नोस् त ! – नवराज रिजाल


कथाकार नवराज रिजालको कथासङग्रह हो ‘लौ भन्नोस् त !’ । नवराज रिजालले कथामार्फत आजको नेपाली समाजमा देखिने यर्थाथ, जीवन्त, दृश्यहरुलाई शब्दमा उतार्नुभएको छ ।

”बाल्यवयमा जानी नजानी लागेका कयौँ बानी स्वतस्फूर्त नै छाडिए । कयौँलाई छाड्न तिरस्कारको सहयोग पनि लिनु पर्यो तर लहैलहै वा देखासिकीमा विद्यार्थीकालदेखि लागेको साहित्यिक भोकबाट चाहिँ अझै तृप्त हुन सकिरहेको छैन ।”, आफ्नो कुरामा कथाकार रिजाल लेख्नुहुन्छ, ”के गर्नु, यो त मनमा स्थायी बसोबासी नै हुन खोजिरहेको छ । त्यसैले हुनुपर्छ बेला बेलामा केही न केही लेख्न मन लाग्छ । न लेखुँ भन्यो, कता हो कता मन एकाएक भारी भएर आउँछ । अनि कापी कलमको खोजी गर्छ । त्यसैले आज म मन लागेपछि लेखिएका उन्नाइस कथाहरूको सँगालो ‘लौ भन्नोस् त !’ लिएर यहाँहरु माझ उपस्थित भएको छु । विगतमा मेरा कथाहरुले यहाँहरुबाट यथेष्ट माया ममता र स्नेह पाएका थिए त्यो कुरा मैले पटक्कै भुल्न सकिरहेको छैन । यसर्थ पहिले झैँ यस सङ्ग्रहले पनि सोही बमोजीम आवश्यम माया, ममता र स्नेह पाउने कुरामा म पूरापूर आशावादी छु ।”

त्यसैगरी पुस्तकमा प्रा.डा दयाराम श्रेष्ठ लेख्नुहुन्छ, ”नवराज रिजाल (वि.स. २०२२) को ‘यो लौ भन्नोस् त !’ पाचौँ कथासङग्रह हो । पहिलो र तेस्रो क्रमशः अदृश्य पीडा र ‘माटो खोज्दै’ लघुकथासङग्रह हुन भने दोस्रो ‘विखण्डित प्रवाह’ र चौथो ‘अब उप्रान्त’ कथासङग्रह हुन् । लघुकथासङग्रहरुका नाम छाड्दा कथासङग्रहको क्रममा यो सङग्रह तेस्रो नम्बरमा पर्दछ । यसले पुष्टि गर्दछ आख्यान लेखनमा कथाकार रिजालको मन पुरै भिजिसकेको छ यसर्थ पनि आख्यान क्षेत्रमा उनको नाम पनि नयाँ होइन । …
समसामयिक जीवनका विविध पक्षहरुप्रति चेतना, देशप्रति आम नागरिकहरुको दायित्वका सन्दर्भ, तराईका बासिन्दाहरुको जीवन शैली तथा बढ्दो सामाजिक विकृति आदिलाई मूल रुपमा समेटी तयार पारिएको यस सङग्रहका कथाहरु अभिधामूलक स्तरका हुनु आफैँमा अत्यन्तै महत्वपूर्ण छ ।”

पुस्तकलाई शब्दार्थ प्रकाशनले बजारमा ल्याएको हो । १९ वटा कथा समेटिएको पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।

………….

५. भवानी भिक्षुका उपन्यासमा आत्मपहिचान– डा. दुर्गाबहादुर घर्ती


लेखक डा. दुर्गाबहादुर घर्तीको पुस्तक हो ‘भवानी भिक्षुका उपन्यासमा आत्मपहिचान’ । घर्तीले पुस्तकमा भवानीको जीवन, उपन्यासका चरित्र, समाज, परम्परा र भूगोलमा निहित अस्तित्व आन्तरिक र बाह्य दुबै पक्षलाई पहिचान गर्नुभएको छ ।

”विवेच्य समीक्षात्मक कृतिमा भवानी भिक्षुको पहिचान गर्न नसकिएको जीवनको तथ्य खोजी गरिएको छ ।” पुस्तकमा प्रा. षडानन्द पौड्याल लेख्नुहुन्छ, ”गोटीहवाको ग्रामीण परिवेशमा बसोबास गर्ने भवानी भिक्षुका भाइ मखनलाल गुप्ता र भिक्षुकी नातिनी सारिका जयसवालले इन्द्रप्रसाद गुप्ता र यशोदादेवीका सन्तान जन्मिने तर जन्मेको केही समयपछि तिनको मृत्यु हुने गरेको तथ्य तौलिहवामा कपिलवस्तु साहित्यिक समाजको पहलमा भिक्षुचोकमा भवानी भिक्षुको शालिक अनावरण गर्ने अवसरमा प्रकट गरेको अभिव्यक्तिलाई कृतिमा स्थान दिएका छन् । भवानी भिक्षुलाई माईको झोलीमा भिक्षा दिएको हुनाले उनले आफ्नो थर गुप्ता नलेखेर साहित्य र व्यवहारमा समेत भिक्षु लेखेका हुन् भन्ने मौखिक जानकारी दिएको तथ्यलाई समिक्षक घर्तीले प्रामाणिक दृष्टिले कृतिमा स्थापना गरेका छन् । भिक्षुको जीवन सन्दर्भ, साहित्यिक यात्रा, भवानी भिक्षुको जीवनी र उपन्यासबिच अन्तरसम्बन्ध पहिचान गरी उनका उपन्यासमा समय, जीवन, तत्स्थानिक परिवेश, ज्ञान, सङकल्प, निश्चय आदिलाई समीक्षात्मक कृतिमा आत्मपहिचानको मूल्य निरुपण गर्ने केन्द्र बनाएको छ ।”

त्यसैगरी, लेखकीयमा डा.दुर्गाबहादुर घर्ती लेख्नुहुन्छ, ”प्रस्तुत अध्ययन आत्मपहिचानको विवेचनामा केन्द्रित छ । आत्मपहिचान आफूले आफैलाई हेर्ने र बुझ्ने प्रक्रिया हो । आफूले जगतलाई हेर्ने र जगतले आफूलाई हेर्ने दृष्टिकोण हुन्छन्, त्यसका साथै आफूले आफैँलाई हेर्ने दृष्टिकोण पनि हुन्छ । त्यो अन्यसँगको सम्बन्धमा आधारित हुन्छ । अन्य भन्नु जगत् नै हो । अन्यका बीचमा रहँदा व्यक्तिले आफूले कस्तो अनुभव गर्दछ भन्ने कुराको अध्ययन यसमा गरिएको छ । यसमा आत्मपहिचानको अध्ययनका लागि मनोविश्लेषण, घटनाक्रियाविज्ञान र अस्तित्ववादका सिद्धान्तलाई मुख्य आधार बनाएको छ । मनोविश्लेषात्मक अध्ययनका लागि सिग्मन्ड फ्रायड अल्फ्रेड एडलर, र्काल गुस्ताभ युङ्ग र ज्याक लकाँका सिद्धान्त लिइएको छ । घटनाक्रियाविज्ञान एडमन्ड हुसर्लद्धारा स्थापित मान्यता हो । त्यसअन्तर्गत अभिप्रायात्मक अनुभव, अभिप्रायात्मक चेतना र जागरुकतालाई यस अध्ययनमा सैद्धान्तिकद आधार बनाइएको छ । यस अध्ययनमा अस्तित्ववादी मान्यताहरुमध्ये घटनाक्रियापरक अस्तित्ववादलाई मुख्य आधार बनाइएको छ । यस सन्दर्भमा सोरेन किर्केगार्डका केही मान्यता लिइए पनि मुख्य रुपमा मार्टिन हाइडेगर, ज्याँ–पल सात्र्र र अल्बेयर कामुका मान्यतालाई लिइएको छ ।”

पुस्तकलाई अनुसन्धान विमर्श नेपालले बजारमा ल्याएको हो । २ सय २२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ९९ रुपियाँ रहेको छ ।