कोलकाता । भारतको पश्चिम बङ्गाल राज्यको कल्याणी विश्वविद्यालयले मार्च १७ मा नेपालका प्रगतिवादी कवि युद्धप्रसाद मिश्र र भारतका प्रगतिवादी कवि नागार्जुनको रचनाकर्ममाथि अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेको छ। ‘नागार्जुन र युद्धप्रसाद मिश्रको रचनाकर्म’ शीर्षकको यस गोष्ठीमा दुई देशका कविहरूको रचनात्मक यात्रा, समानता र भिन्नताका पक्षहरूमा गहन छलफल भयो।

गोष्ठीको उद्घाटन सत्रमा कल्याणी विश्वविद्यालयका डिन डा. सावित्री नन्दा चक्रवर्ती र हिन्दी विभागकी पूर्व अध्यक्ष डा. चन्द्रकला पाण्डेयले प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो भने नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले पनि आफ्नो प्राज्ञिक धारणा राख्नुभएको थियो ।

गोष्ठी तीन चरणमा विभाजित थियो । दोस्रो सत्रमा नेपालबाट प्रा.डा. देवी नेपाल र डा. नवराज लम्साल तथा भारतबाट डा. सत्यप्रकाश तिवारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रा.डा. नेपालले नागार्जुन र युद्धप्रसादका रचनाहरूमा देखिने वैचारिक, सैद्धान्तिक र व्यावहारिक समानताहरू औँल्याउँदै दुवै कविहरूले निम्नवर्गीय जनताको मुक्ति र सामाजिक जागरणका लागि आवाज उठाएको उल्लेख गर्नुभयो । उहाँहरूको रचनामा देखिने समानताका रूपमा आशावाद, जीवनवाद, सामाजिक विकृतिप्रतिको विरोध, समतामूलक समाजको परिकल्पना जस्ता पक्षहरूलाई उहाँले उल्लेख गर्नुभयो ।

डा. लम्सालले नागार्जुन र युद्धप्रसादले देखेको सपना र लेखेको सिर्जना एउटै रहेको तर्क प्रस्तुत गर्दै दुवै कविको सिर्जनाले नेपाल र भारतमा प्रजातन्त्र स्थापनामा भूमिका खेलेको धारणा प्रस्तुत गर्नुभयो । डा. तिवारीले दुवै कविको जीवन र सिर्जनामा गरिबी, सङ्घर्ष, क्रान्ति, जेल जीवन र जनजागरणका भावनाहरू समान रूपमा अभिव्यक्त भएको बताउनुभयो । उहाँले भारतेन्दु हरिश्चन्द्र र मोतीराम भट्ट, प्रेमचन्द र गुरुप्रसाद मैनाली जस्ता नेपाल र भारतका अन्य स्रष्टाहरूको तुलनात्मक अध्ययनको आवश्यकतामा जोड दिनुभयो ।

कल्याणी विश्वविद्यालय हिन्दी विभागका अध्यक्ष प्रा.डा. अरुण होताले यस गोष्ठीलाई भारत र नेपालको सांस्कृतिक सम्बन्धको दृष्टिले ऐतिहासिक महत्त्वको कार्यक्रम भएको बताउनुभयो । गोष्ठीमा भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्चका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

गोष्ठीको अन्तिम सत्रमा कल्याणी विश्वविद्यालयका १६ जना स्नातकोत्तर र विद्यावारिधि शोधार्थीहरूले आ-आफ्नो शोधपत्र प्रस्तुत गर्नुभएको थियो । कल्याणी विश्वविद्यालय हिन्दी विभागका अध्यक्ष डा. हिमांशु कुमारले यस प्रकारका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गोष्ठीमा १०० भन्दा बढी विद्यार्थी, प्राध्यापक र प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।