
घोराही । राप्ती साहित्य परिषद् दाङ शाखाले यस वर्ष पनि वार्षिक साधारण सभा तथा स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम गर्ने भएको छ। परिषद्ले यस वर्ष तीन पुरस्कार र तीन जना अग्रज स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ।
परिषद्का अनुसार, मनोज बुढाथोकीद्वारा स्थापित ‘यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार’ बाट कवि एवम् समालोचक डा. कृष्णराज डिसी सम्मानित हुनेछन्। त्यसैगरी, लालबहादुर आर.सी लगायत रावत परिवारद्वारा स्थापित ‘वेदवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार’ गायक प्रकाश रेग्मीलाई प्रदान गरिनेछ। कृष्णप्रसाद अधिकारी (कृष्ण-गायत्री प्रतिष्ठान)द्वारा स्थापित ‘कृष्ण गायत्री प्रज्ञा पुरस्कार’ कवि एवम् समालोचक, अनुसन्धानकर्ता डा. कृष्णराज सर्वहारीलाई प्रदान गरिनेछ।
यसबाहेक, परिषद्ले साहित्यकार एवम् समाजसेवी विनोद पोख्रेल, साहित्यकार पद्मप्रसाद शर्मा र निवर्तमान अध्यक्ष तथा सल्लाहकार कवि दीपक शर्मा ‘समीर’ लाई सम्मान गर्ने निर्णय गरेको छ। यी सम्मान तथा पुरस्कारहरू चैत्र १६ गते होटेल मालिना, घोराही, दाङमा आयोजना हुने ‘बहुभाषिक काव्य उत्सव’ को अवसरमा प्रदान गरिनेछ।
परिषद्का अध्यक्ष यम रेग्मीले पहिले चैत्र २३ गतेका लागि तय गरिएको १७औँ वार्षिक साधारण सभा तथा स्रष्टा सम्मान, पुरस्कार तथा बहुभाषिक काव्य उत्सव विशेष कारणवश चैत्र १६ गते शनिबारका लागि सारिएको जानकारी दिनुभयो। पुरस्कार छनोट समितिको संयोजकमा निवर्तमान अध्यक्ष एवम् सल्लाहकार दीपक शर्मा ‘समीर’ र सदस्यहरूमा निवर्तमान उपाध्यक्ष शारदा शर्मा, वर्तमान उपाध्यक्ष सुरेशकुमार पाण्डेय र सदस्य सचिव यम रेग्मी रहनुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

