काठमाडौं । लेखक जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’ को बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा भव्य लोकार्पण गरिएको छ। लेखक लामिछाने र पत्रकार बसन्त बस्नेतले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा पुस्तकका विषयमा लामिछाने र बस्नेतबीच एउटा जीवन्त अन्तर्संवाद पनि सम्पन्न भएको थियो ।

पत्रकार बस्नेतले ‘अक्षत अन्टार्कटिका’ लाई अन्टार्कटिकाको मनमोहक सौन्दर्य, वैज्ञानिक अनुसन्धान र वातावरणीय सन्देशको प्रभावकारी प्रस्तुतीकरण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो पुस्तक केवल यात्रा संस्मरण मात्र होइन, रहस्यमय अन्टार्कटिकाको रोचक शिल्प पनि हो। यसको सरलता, भाषिक मिठास र उत्कृष्ट संयोजनले जो कोहीलाई पनि मोहित पार्छ।’ बस्नेतले लामिछानेको यो कृति उहाँका अघिल्ला कृतिहरू भन्दा शैलीमा भिन्न रहेको र संस्मरण लेखनमा नयाँ प्रयोग गरिएको उल्लेख गर्नुभयो । चिसो अन्टार्कटिकाको कथा भएता पनि पुस्तकले पाठकलाई लेखनको न्यानोपन अनुभूति गराउने उहाँको धारणा थियो।

लामिछानेले अन्टार्कटिका यात्राको योजना बनाउँदै गर्दा नै लेख्ने विचार गरेको र यात्राको क्रममै २५ हजार शब्द लेखिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म अन्टार्कटिकाको अनुभव लेख्ने तयारीका साथ गएको थिएँ। फर्किएपछि थप अध्ययन गरी पुस्तक लेखनलाई तीव्रता दिएँ।’ त्यसैले एक वर्षभित्रै पुस्तक प्रकाशित गर्न सफल भएको उहाँको भनाइ थियो।

‘अक्षत अन्टार्कटिका’ मा सन् २०२४ जनवरी १३ देखि २४ सम्मको अन्टार्कटिका यात्राको अनुभव समेटिएको छ। सरल भाषामा लेखिएको यो यात्रा वृत्तान्तले पाठकलाई पृथ्वीको सबैभन्दा रहस्यमय स्थानको रोमाञ्चक भ्रमण गराउँछ। पुस्तकले अन्टार्कटिकाको दृश्य चित्रण मात्र गरेको छैन, पृथ्वीको भविष्यप्रति चेतना जगाउन पनि प्रेरित गर्दछ। नियात्रा कृति भएता पनि यसमा कतै आख्यानको झलक, कतै काव्यात्मक अभिव्यक्ति र वैश्विक चिन्तन, चिन्ता तथा चासो समेटिएको छ । मानवीय सम्बन्ध र सरोकारलाई पनि हार्दिकतापूर्वक प्रस्तुत गरिएको छ। पुस्तकले पाठकमा यो प्रश्न पनि उठाउँछ: अन्टार्कटिकाको अद्भुत सौन्दर्यलाई भावी पुस्ताका लागि कसरी सुरक्षित राख्ने ?