काठमाडौँ । त्रिलोचन ढकालद्वारा लिखित ‘क्रिया किन र कसरी?’ नामक पुस्तक चैत्र ५ गते आनन्दआश्रम, आँधीखोलामा सार्वजनिक गरिएको छ।

साहित्यकारहरू शेषमणि आचार्य, रामराज रेग्मी, गेहेन्द्रेश्वर कोइराला र रघुनाथ अधिकारी तथा लेखक ढकाल स्वयंले संयुक्त रूपमा उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो।

८० पृष्ठ लामो यस पुस्तकले मृत्यु, किरिया, अन्धविश्वास, धर्म, दर्शन, मानव उत्पत्ति, युग विभाजन, साहित्य र वास्तविकता जस्ता गहन विषयहरूलाई समेटेको छ। पुस्तकमा मृत्यु के हो ?, म को हुँ ?, किरिया विधिमा संशोधनको आवश्यकता, अन्धविश्वासको जन्म र प्रकृति, धर्मको परिभाषा, सनातन धर्म र अन्धविश्वासमा आधारित धर्म, लोकायत दर्शन, परलोकको खोजी, विभिन्न युगहरू (पाषाण युगदेखि आणविक युगसम्म), वेद र पुराणको प्रमाणिकता, शव व्यवस्थापनका विभिन्न विधि (जल समाधि, भू-समाधि, आदि), किरिया गर्ने अवधि, कर्मकाण्ड, अशौच, दान, गरुड पुराण, वैतरणी नदी, दानको महत्व, धर्म र संस्कृतिको संरक्षण तथा परिवर्तन, सती प्रथा र दास प्रथा, हिन्दू धर्म र संस्कृतिको विकासक्रम, आदीमानवको धर्म संस्कृति, भविष्यमा हुनुपर्ने सामाजिक परिवर्तन (शोषणको अन्त्य, सामाजिक विभेदको समाप्ति, आदि), मार्क्सवाद र कम्युनिस्ट पार्टीको दर्शन, नास्तिक र आस्तिक दर्शन, अध्यात्मवादी र भौतिकवादी दर्शन आदिका बारेमा विस्तृत छलफल गरिएको छ।

पुस्तकले किरियाकर्मलाई यथार्थपरक दृष्टिकोणबाट हेर्दै अन्धविश्वासबाट मुक्त हुनुपर्नेमा जोड दिँदै आधुनिक समय सुहाउँदो संस्कार र जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्य राखेको छ। शब्दार्थ प्रकाशनबाट प्रकाशित यस पुस्तकको मूल्य रु २ सय ५० रहेको छ।