काठमाडौँ । एपेक नेपालले यस वर्षदेखि प्रदान गर्ने दुई नयाँ पुरस्कार, विश्वज्योति काव्यसमान र विश्वज्योति पाण्डुलिपि पुरस्कारका विजेताहरूको घोषणा गरेको छ।

कवि उषा शेरचनलाई पहिलो विश्वज्योति काव्यसमान प्रदान गरिने भएको छ । वि.सं. २०१२ सालमा पोखरामा जन्मनुभएको शेरचनका ६ वटा कविता, मुक्तक र आख्यान कृति तथा ५ वटा गीति एल्बम प्रकाशित छन्। दर्जनौँ सम्मान र पुरस्कारबाट सम्मानित शेरचन समकालीन नेपाली काव्य साहित्यमा युगचेतना, नारी समवेदना र प्रकृति प्रेमका लागि परिचित हुनुहुन्छ। उहाँ ३० को दशकदेखि लेखनमा सक्रिय हुनुहुन्छ र प्रसिद्ध तथा स्थापित कवि मानिनुहुन्छ। काव्यसमानमा सम्मान पत्रसहित नगद रु. ५१ हजार रहेको छ।

यसैगरी, ४० वर्ष ननाघेका र कुनै पनि कृति प्रकाशित नभएका युवा कविहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापित विश्वज्योति पाण्डुलिपि पुरस्कार यस वर्ष युवा कवि हेमन्त शिशीरलाई प्रदान गरिने भएको छ । ४६ वटा प्राप्त पाण्डुलिपिमध्ये निर्णायक मण्डलले शिशीरको पाण्डुलिपिलाई उत्कृष्ट ठहर गरेको हो। उहाँको कवितासंग्रह ‘बन्द घरको झ्याल’ चैत्र २५ गते भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजना हुने एपेक नेपालको वार्षिकोत्सव समारोहमा लोकार्पण गरिनेछ। उक्त समारोहमा विश्वज्योति काव्यसमान प्रदान गर्ने कार्यक्रम पनि रहेको एपेक नेपालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।