धनकुटा । साहित्यकार रोशन परियारलाई यस वर्षको ‘रमेश स्मृति सम्मान-२०८१’ प्रदान गरिने भएको छ। धनकुटाको पाख्रीबास नगरपालिका–४ स्थायी घर भएको परियारलाई साहित्यकार रमेश हरिलठ्ठकको स्मृतिमा स्थापित रमेश स्मृति कोषले यो सम्मान प्रदान गर्न लागेको हो।

कोषका संयोजक दीप मिलनका अनुसार, हरेक वर्ष नेपाली भाषा साहित्यमा उल्लेखनीय योगदान पुर्‍याउने साहित्यकारलाई सम्मान गर्दै आएको कोषले यस वर्ष परियारलाई छनोट गरेको हो। छनोट समितिको निर्णय अनुसार परियारलाई सम्मान प्रदान गरिने मिलनले जानकारी दिनुभयो।

यस वर्षदेखि कोषले ‘प्रोत्साहन पुरस्कार’ पनि प्रदान गर्ने निर्णय गरेको छ। यो पुरस्कार देवदहकी समज्ञा अधिकारीलाई प्रदान गर्नेभएको छ । अधिकारी साहित्यिक तथा सामाजिक संस्था ‘उज्यालो लालटिन प्रतिष्ठान’की संस्थापक सदस्य तथा हाल अध्यक्ष हुनुहुन्छ ।

आधुनिक गजल लेखनमा सक्रिय रहेका हरिलठ्ठकको २०३७ सालमा जन्म भएको थियो। उहाँको २३ वर्षको अल्पायुमा निधन भएको थियो। हरिलठ्ठकको ४४औँ जन्मजयन्तीको अवसर पारेर कोषले सम्मान तथा पुरस्कार प्राप्त गर्ने साहित्यकारहरूको नाम सार्वजनिक गरेको हो।