
काठमाडौँ । नेपाली आधुनिक मुक्तकका प्रवर्तक तथा आदर्श गुरु भीमदर्शन रोकाको स्मृतिमा आयोजित भावपूर्ण समारोहमा साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेले दुई विशिष्ट व्यक्तित्वलाई सम्मानित गर्नुभएको छ। कार्यक्रममा कलाकार शशीविक्रम शाहलाई ‘भीमदर्शन रोका आदर्श गुरु सम्मान’ बाट र काभ्रेपलाञ्चोकको पनौतीस्थित ‘सहारा ज्येष्ठ नागरिक समाज’ लाई ‘भीमदर्शन रोका आदर्श समाजसेवा सम्मान’ बाट सम्मानित गरिएको हो। प्रत्येक सम्मानमा जनही पचास हजार रुपैयाँ राशि रहेको थियो ।
प्रमुख अतिथि घिमिरेले शशी शाहको कलाकारिताको प्रशंसा गर्दै उहाँलाई नेपाली चित्रकलाका माध्यमबाट नेपाललाई विश्वमा चिनाउने विशिष्ट कलासाधकको संज्ञा दिनुभयो। यसैगरी, उहाँले ज्येष्ठ नागरिकको सेवा र सम्मानमा समर्पित सहारा ज्येष्ठ नागरिक समाजको पनि उच्च प्रशंसा गर्नुभयो। घिमिरेले भीमदर्शन रोकाको साहित्यिक र शैक्षिक व्यक्तित्वको चर्चा गर्दै उहाँका विद्यार्थीहरूद्वारा स्थापित कोषले हरेक वर्ष यसरी आदर्श व्यक्तित्व तथा संस्थालाई सम्मान गर्नु प्रशंसनीय रहेको बताउनुभयो ।
समारोहका सभापति एवम् सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशीले २०४० सालमा एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूले आफ्ना आदर्श गुरु रोकाको सम्मानमा यो संस्था स्थापना गरेको स्मरण गराउनुभयो। उहाँले रोकालाई विनयी, स्वाभिमानी, इमानदार, समयनिष्ठ, परिश्रमी र कर्तव्यनिष्ठ आदर्श गुरुको रूपमा चित्रण गर्नुभयो। प्राचार्य राजवंशीले वर्तमान विद्यार्थी पुस्ताको तुलनामा २०४० समूहका विद्यार्थीहरूले गुरु र अभिभावकप्रति देखाएको सम्मान अनुकरणीय रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा कलाकार कृष्ण मानन्धरले शशीविक्रम शाहको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो भने नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, कोषका अध्यक्ष जयदेवकृष्ण श्रेष्ठ, पूर्वसचिव दीपेन्द्रनाथ शर्मा लगायतले भीमदर्शन रोकाको योगदानको स्मरण गर्नुभयो। सम्मानित शशीविक्रम शाह र सहारा ज्येष्ठ नागरिक समाजका प्रतिनिधिले सम्मानबाट गौरवान्वित भएको प्रतिक्रिया दिनुभएको थियो। कार्यक्रममा भीमदर्शन रोकाकी धर्मपत्नी मीना रोकाको पनि स्मरण गरिएको थियो । यादव भट्टराईको उद्घोषणमा सम्पन्न कार्यक्रममा नेपाली साहित्य र कलाक्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। भीमदर्शन रोका स्मृतिकोष वि.सं. २०६० मा स्थापित भई २०६४ सालमा विधिवत् दर्ता भएको हो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
