
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले आफ्ना संस्थापक अध्यक्ष साहित्यकार होमनाथ सुवेदीलाई ‘नेपाली डायस्पोरा स्वर्ण तारा’ सम्मानबाट सम्मानित गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा सुवेदीलाई यो सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा सुवेदीद्वारा लिखित तीनवटा काव्य – ‘नन्दिनी शोक महाकाव्य’, ‘नन्दा शोक खण्डकाव्य’, र ‘सेती गजल खण्डकाव्य’ – तथा उहाँद्वारा सम्पादित ‘नन्दादेवी स्मृतिग्रन्थ’ को समेत विमोचन गरिएको छ । कार्यक्रमको उद्घाटन दीप प्रज्वलन र अनेसासकी माता नन्दा सुवेदीको तस्वीरमा माल्यार्पण गरी गरिएको थियो।
विमोचित कृतिहरूको समीक्षा विभिन्न साहित्यकार तथा समालोचकहरूले गर्नुभएको थियो । प्रा.डा. जीवलाल सापकोटाले ‘नन्दिनी शोक महाकाव्य’, डा. नारायण शर्मा गैह्रे र महेश पौड्यालले ‘सेती गजल खण्डकाव्य’, र सन्ध्या पहाडीले ‘नन्दादेवी स्मृतिग्रन्थ’ को समीक्षा प्रस्तुत गर्नुभएको थियो । भिडियो बुकका वाचक शिव त्रिपाठीले काव्यहरूका विषयमा प्रकाश पार्नुभएको थियो ।
सम्मानित व्यक्ति सुवेदीले आफ्नो मन्तव्यमा शोक काव्यमा विज्ञानसम्मत पक्षहरू समावेश गरिएको बताउनुभयो । उहाँले आफ्नी धर्मपत्नी स्वर्गीय नन्दा सुवेदीको निधन पश्चात् उत्पन्न शोकलाई सिर्जनामा बदल्दै एक वर्षभित्र तीनवटा कृति लेखेको बताउँदै यो समारोहलाई नन्दाको आत्मालाई श्रद्धाञ्जलि अर्पण गर्ने एक प्रकारको ‘एकाह पुराण’ को रूपमा व्याख्या गर्नुभएको ।
प्रमुख अतिथि राईले सुवेदीको कृतित्व र अनेसासले गरेको सम्मानको प्रशंसा गर्दै अनेसास र नेपाल प्रज्ञा प्रतिष्ठानबीचको सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो जसमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, अनेसासका केन्द्रीय सदस्यहरू, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, अनेसासका सल्लाहकारहरू, विभिन्न च्याप्टरका प्रतिनिधिहरू, साहित्यकारहरू, कलाकारहरू, पत्रकारहरू लगायतको उपस्थिति थियो। स्वर्गीय नन्दा सुवेदी एक प्रतिष्ठित गायिका तथा साहित्यप्रेमी हुनुहुन्थ्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

