काठमाडौं । लघुकथा केन्द्रले आफ्नो साधारण सभाको अवसरमा दुई जना लघुकथाकारलाई सम्मान गरेको छ । केन्द्रले नेपाल स्रष्टा समाज नेपालका अध्यक्ष एवम् लघुकथाका सारथी श्रीओम श्रेष्ठ ‘रोदन’ लाई ‘लघुकथा केन्द्र सम्मान–२०८१’ बाट सम्मानित गरेको हो। उहाँलाई (एघार हजार एक सय एघार), दोसल्ला, खादा, र सम्मानपत्र प्रदान गरिएको थियो ।

यसैगरी, अर्का साहित्यकार तथा नेपाली साहित्य समाज, उर्लाबारी मोरङका संस्थापक सदस्य दिलिप राई ‘सगर’ लाई ‘योगनाथ बास्तोला लघुकथा सम्मान–२०८१’ बाट सम्मानित गरियो। उहाँलाई (पाँच हजार एक सय), दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो। यो रकम दाता लाहाचोक निवासी कृष्णप्रसाद बास्तोलाबाट प्राप्त भएको थियो।

रोयल इन्भेन्टस एण्ड ब्याङ्क्युट तीनकुनेमा सम्पन्न कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणमा स्रष्टा सम्मान र दोस्रो चरणमा साधारण सभा भएको थियो। कार्यक्रममा संस्थाकी अध्यक्ष लता केसीले अध्यक्षता गर्नुभएको थियो भने साहित्यकार तथा सर्वनाम थियटर नेपालका अध्यक्ष अशेष मल्ल प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा प्रा.डा भरत भट्टराई र डा. विदुर चालिसे विशिष्ट अतिथि रहनुभएको थियो । सम्मानित स्रष्टाहरूलाई सम्मानपछि मन्तव्य अवसर दिइएको थियो। कार्यक्रम सञ्चालन संस्थाका सहसचिव मिना पौडेल ‘वियुन्स’ ले गर्नुभएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष सत्या अधिकारीले गर्नुभएको थियो । पहिलो चरणको कार्यक्रम समापन अध्यक्ष लता केसीले गर्नुधएको थियो ।

कार्यक्रममा संस्थाको आजीवन सदस्य लगायत ६० जनाभन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो। दोस्रो चरणको कार्यक्रममा अध्यक्ष लता केसीले नयाँ कार्यको प्रस्तावना, सचिव रामराजा केसीले वार्षिक प्रगति विवरण र कोषाध्यक्ष सत्या अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यसमिति र आजीवन सदस्यको सहकार्यबाट केन्द्रका कार्यक्रमहरूलाई नयाँ ढङ्गबाट अघि बढाउने निर्णय गर्दै कार्यक्रम सम्पन्न भएको थियो।