
पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित ‘समता काव्य सन्ध्या’को ३७९ औँ शृङ्खला साहित्यकार प्रा.डा. ईश्वरमणि अधिकारीको सन्ध्या नायकत्वमा सम्पन्न भयो। तीन दशकदेखि निरन्तर चलिरहेको यस साहित्यिक कार्यक्रममा यस पटक साहित्यकार अधिकारीको उपस्थितिले थप रौनक थपेको थियो।
कार्यक्रममा कवि तीर्थ श्रेष्ठले प्रा.डा. अधिकारीका कविताहरूको गहनता र भावुकताको प्रशंसा गर्दै समता काव्य सन्ध्याले नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्याएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले डा. अधिकारीजस्तै थुप्रै प्रतिभावान् साहित्यकारहरूलाई समताले जन्माएको उल्लेख गर्नुभयो।
सन्ध्या नायक प्रा.डा. अधिकारीले आफ्ना “सानु साथी”, “जानेहरूलाई”, “फरार”, “सम्बोधिका” र “साविती” जस्ता उत्कृष्ट पाँच कविता वाचन गर्नुभयो। कविता लेखनलाई जीवन जिउने कला र साधनाको रूपमा चित्रण गर्दै उहाँले समता र पोयुसांपलाई आफ्नो कविताको घर र आराधनास्थल भएको बताउनुभयो। उहाँ १७ औँ सन्ध्यादेखि समतासँग जोडिएको पनि बताउनुभयो।
यस महिना कवि वासु शशीको जन्मजयन्ती पनि परेकाले साहित्यकार दीपक समीपले वासु शशीको जीवन र कृतित्वबारे जानकारी दिँदै उहाँका कविता पनि वाचन गर्नुभयो।
संस्थाकी सल्लाहकार सरस्वती प्रतीक्षाले प्रा.डा. अधिकारीलाई मस्तिष्कका दुवै पाटा (गणित र साहित्य) उत्तिकै प्रभावकारी ढङ्गले चलाउने अद्भुत प्रतिभा भएको साहित्यकारको रूपमा प्रशंसा गर्नुभयो।
कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरु’, जगन्नाथ रेग्मी, भूमिराज बस्ताकोटी, अमृत क्षेत्री, तारानाथ पराजुली, शरण आँशु, पूर्णिमा प्रतिबिम्ब, हिममाया पौडेल, अमृता पोखरेल, छन्दिका, समीप बैरागी र दीर्घराज गिरी ‘प्रियसी’ लगायतका कविहरूले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।
संस्थाको साहित्य विभागकी संयोजक केशु शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष लक्ष्मण थापाले गर्नुभएको थियो भने सञ्चालन सचिव एमडी काफ्लेले गर्नुभएको थियो। समता काव्य सन्ध्याले नेपाली साहित्यको श्रीवृद्धिमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै कार्यक्रम सम्पन्न भयो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

