
पोखरा । समुदायस्तरमा सार्वजनिक पुस्तकालयको अभाव भएको विद्यार्थीले गुनासो गर्नुभएको छ । घर वरपर पुस्तकालयको पहुँच नहुँदा विद्यालयको पुस्तकालयको भर पर्नुपर्ने उहाँको भनाइ छ । उहाँहरु भन्नुहुन्छ, ‘घर वरपर पुस्तकालय छैन । विद्यालयको पुस्तकालयले अभाव टारेको छ । रुची अनुसारको किताब नहुँदा आफैंले किनेर पढ्छौ ।’
पोखराको लेकसाइडस्थित बारहीघाटमा जारी १२ औं संस्करणको एनसेल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलको अलिमियाँ कक्षमा आइतबार ‘विद्यार्थीसँग किताब’ को चर्चा भयो । राजनीतिज्ञ रसिसहरि भण्डारीसँग गण्डकी बोर्डिङ स्कुलकी प्रेन्सा रेग्मी, भानुभक्त माविका सुविन विक, बालोदय माविकी श्रीयंका रेग्मी, छोरेपाटन माविका सोहन कार्की, कुम्दिनी होम्स्का एरिन गुरुङ किताबसँगै पुस्तकालयको पहुँचका बारेमा गफिनुभयो ।
प्रेन्साले समुदायस्तरमा पुस्तकालयको पहुँच नभएको बताउनुभयो । विद्यालयको पुस्तकालय र बजारका पुस्तक पसलबाट किनेर आफ्नो पठन भोक मेटाउने उहाँको भनाइ थियो । ‘टोल समाजमा पुस्तकालयको पहुँच छैन । बजारमा गयो भने खोजेको पुस्तक पाइन्छ । घरमै बुवा आमाले पनि खोजेको किताबहरु ल्याइदिनुहुन्छ । मैले त्यसरी पनि पढ्छु’, उहाँ भन्नुहुन्छ, ‘घरमै थुप्रै पुस्तकहरु छन् । ति पुस्तकबाट पनि ज्ञान लिन्छु । मोबाइललाई प्रयोग गर्दै प्रविधिको माध्यमबाट पनि धेरै ज्ञान प्राप्त गरिरहेको हुन्छु ।’ उहाँले इन्टरनेटको पहुँचबाट पनि पुस्तकहरु पढ्ने सुनाउनुभयो । उहाँले थप्नुभयो, ‘किनभने घरनजिकै पुस्तकालय छैन ।
सुविनले विद्यालयको पुस्तकालयले मात्रै रुची समेट्न नसक्ने बताउनुभयो । ‘समाजमा पुस्तकको पहुँच छैन । बजारमा जाने हो भने पहुँच हुन्छ’, उहाँले भन्नुभयो, ‘विद्यालयमा पुस्तकालय हुन्छ । विद्यालयको पुस्तकालयले रुची समेट्न सक्दैन । गुरु, घरपरिवारले पुस्तक उपलब्ध गराइदिनुहुन्छ । आफैंले किनेर पनि पुस्तक पढ्ने गर्छु ।’ पुस्तक पढेर प्राप्त गरेको ज्ञान अरु समक्ष पनि बाँड्ने गरेको उहाँले बताउनुभयो ।
एरिन गुरुङले समुदायस्तरमा पुस्तकालयको पहुँच नरहने साझा समस्या भएको खुलाउनुभयो । उहाँले नेपालमा सार्वजनिक पुस्तकालय विकासमा जोड दिनुपर्ने तर्क पेश गर्नुभयो । सामुदायिक पुस्तकालयको अभावमा आफैंले किताब किनेर समेत पढ्ने गरेको उहाँले बताउनुभयो। ‘घरकै कुरा गर्ने हो भने पुस्तक किनिरहेको हुन्छु । एक महिनामा, हप्तामा इच्छा अनुसार किनिरहेको हुन्छु । मेरो बुवाले पनि विदाको बेलामा एउटा दुईटा किताब किन्नुहुन्छ’, उहाँ भन्नुहुन्छ, ‘उहाँले पढेर सक्नेवित्तिकै छोटो सारांश दिनुहुन्छ । त्यसले मलाई अझ पढ्न मन लाग्छ ।’
विद्यालयमा भने पुस्तकालय सुविधासम्पन्न रहेको बताउनुभयो । पुस्तकालयमा पुगेर सबै कक्षाका विद्यार्थीहरु पढ्ने बानीको विकास भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आख्यानदेखि गैरआख्यान, राजनीति, इतिहासका सबै प्रकारका पुस्तक पाइन्छ ।
विद्यालयमा साहित्य समूह बनाएर पठनसंस्कृतिमा जोड दिइरहको उहाँले सुनाउनुभयो । ‘महिनाको अन्तिममा साहित्य समूहको बैठक बस्छौं । र हामीले कुन पुस्तक पढ्यौं छलफल गर्छौं । साथीले पढेको पुस्तकमा रुची लाग्यो भने साटासाट पनि गर्छौं’, उहाँले सुनाउनुभयो ।
प्रेन्सा, सुविन, एरिनले जस्तै श्रीयंकाले पनि पुस्तकालयको पहुँच नभएको समस्या दोहोर्याउनुभयो । ‘घरतिर कुनै पुस्तकालय छैन । विद्यालयमा छ । शिक्षकहरुलाई यस्तो पुस्तक ल्याइदिनु मलाई मनपर्छ भन्यो भने उहाँहरुले ल्याइदिनुहुन्छ । धेरै जसो उपन्यास पढ्छु’, उहाँको भनाइ थियो ।
सोहनले घरपरिवारको प्रोत्साहनले पढ्ने बानीको विकास भएको सुनाउनुभयो । ‘पुस्तकको पहुँचको कुरा गर्दा विद्यालयमा पुस्तकालय छ । पुस्तकालयमा हरेक विषयका किताबलाई समावेश गरिएको छ’, उहाँ भन्नुहुन्छ, ‘घर वरपर सामुदायिक पुस्तकालयको पहुँच छैन । घरपरिवारले प्रोत्साहित गर्नुहुन्छ पुस्तक पढ्नलाई ।’
पढ्ने बानीको विकास गर्नलाई किशोर अवस्थामा साथीभाईको महत्वपूर्ण भूमिका रहनेमा उहाँहरु एकमत हुनुभयो । साथीभाईले पढेको पुस्तकको चर्चा गर्दा पढ्नलाई रुची जगाउनेमा उहाँहरु सहमत हुनुहुन्थ्यो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

