गुवाहाटी, असम । निलीमा आचार्यले प्रेषित गरेको सूचना अनुसार गुवाहाटीको लताशिल उजनबजारमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । लीलबहादुर क्षेत्री फाउन्डेसनको अगुवाइमा तथा इन्द्रेनी प्रकाशन, असमको सहयोगमा आयोजित उक्त कार्यक्रममा छ वटा नयाँ पुस्तकहरूको विमोचन गरिएको छ । विमोचित पुस्तकहरू नेपाली साहित्यको विविध विधामा केन्द्रित रहेका छन् र विभिन्न लेखकहरूको सिर्जनात्मकताको प्रतिनिधित्व गर्दछन् ।

लीलबहादुर क्षेत्री फाउन्डेसनको अगुवाइमा तथा इन्द्रेनी प्रकाशन, असम र नेपाली परिषद् कामरूपको सहयोगमा आयोजित उक्त कार्यक्रममा ६ वटा नया पुस्तकको विमोच गरिएकाे छ । विमोचित पुस्तकहरूमा :

१. अतीतका ऐनाभित्र विविध झाँकी (निबन्ध सङ्ग्रह) पद्मश्री सम्मान प्राप्त बहुमुखी प्रतिभाधर लीलबहादुर क्षत्रीद्वारा लिखित यस निबन्ध सङ्ग्रहमा उहाँले पाँच दशकभित्र विभिन्न पत्रपत्रिकामा लेखेका ३३ वटा निबन्धहरू समावेश छन् । नियात्रा, संस्मरण, ऐतिहासिक दस्तावेज, पुस्तक समीक्षा, धार्मिक तथा ऐतिहासिक स्थलका विवरण, र विशिष्ट व्यक्तित्वहरूको चर्चा यसमा समेटिएको छ । डा. गोविन्दराज भट्टराईको भूमिका र रुद्र बरालको शुभकामनाले सजिएको यस पुस्तकले असमको गोर्खाली जनसमुदायको इतिहासका विभिन्न पाटाहरूलाई उजागर गर्दछ । (मूल्य: ३३० रुपियाँ)

२. लीलबहादुर क्षत्री उपन्यास समग्र (उपन्यास सङ्ग्रह) यस सङ्ग्रहमा लीलबहादुर क्षत्रीका चार उत्कृष्ट उपन्यासहरू – ‘बसाइँ’, ‘अतृप्त’, ‘ब्रह्मपुत्रका छेउछाउ’, र ‘प्रतिध्वनिहरू विस्मृतिका’ – समावेश छन् । सन् १९५७ देखि २००४ सम्म लेखिएका यी उपन्यासहरूले नेपाली साहित्यमा उहाँको महत्वपूर्ण योगदानलाई देखाउँछन् । पुस्तकमा पूर्वोत्तर भारतको उपन्यास साहित्यको संक्षिप्त इतिहास र क्षेत्रीको साहित्यिक योगदानको विस्तृत विश्लेषण पनि समावेश गरिएको छ । (मूल्य: ६८० रुपियाँ)

३. पाँच प्रसिद्ध गोर्खा (जीवनी सङ्ग्रह) ज्ञानबहादुर छेत्रीद्वारा लिखित यस पुस्तकमा पाँचजना गोर्खा गौरवका व्यक्तित्व र कृतित्वको सरल र तथ्यात्मक व्याख्या गरिएको छ । डम्बर सिंह गुरुङ, छबिलाल उपाध्याय, दलवीर सिंह लोहार, नरबहादुर भण्डारी, र मित्रसेन थापाको जीवनी समावेश गरिएको यस पुस्तकले असमको जीवनी साहित्यमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । (मूल्य: २०० रुपियाँ)

४. उत्तरण (लघुकथा सङ्ग्रह) इन्दिरा गौतमको दोस्रो लघुकथा सङ्ग्रह “उत्तरण” मा ७० वटा लघुकथाहरू समावेश छन्। पारिवारिक द्वन्द्व, पिँढीगत व्यवधान, अन्धविश्वास, सामाजिक विसङ्गति, नारी अस्मिता, र मानवीय व्यवहार जस्ता विषयवस्तुलाई सरल र व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ। (मूल्य: १५० रुपियाँ)

५. आमाका लुर्कन (कविता सङ्ग्रह) पुरुषोत्तम उपाध्याय दाहालको दोस्रो कविता सङ्ग्रहमा १०३ वटा रचनाहरू – कविता, गोठाले गीत, मुक्तक, गजल, र चारु – समावेश छन् । गोर्खाली जनजीवनको धुकधुकीलाई यी रचनाहरूमा झल्काइएको छ । (मूल्य: २५० रुपियाँ)

६. ओझेलका प्रवर (कविता सङ्ग्रह) थमन कोइरालाको पहिलो प्रकाशित कविता सङ्ग्रह ‘ओझेलका प्रवर’ मा ६२ वटा कविता र केही गीतहरू समावेश छन् । वैयक्तिक प्रेम, पीडा, जातीय सङ्कट, देशप्रेम, र मानवीय भावनालाई यी रचनाहरूमा उजागर गरिएको छ । (मूल्य: २०० रुपियाँ)

कार्यक्रममा रुद्र बरालले पुस्तकहरूको प्रस्तुतीकरण गर्नुभएको थियो ।