प्रसान्त उप्रेती “भुइँ मान्छे”
पोखरा । यस वर्षको प्रतिष्ठित हेमराज पहारी स्मृति पुरस्कार–२०८१ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकस्थित सिर्जना साहित्य सदनलाई प्रदान गरिएको छ।

घाचोकमा आयोजित साहित्यिक कार्यक्रममा नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङले सदनका अध्यक्ष शिवप्रसाद पोखरेललाई एक लाख रुपैयाँ नगद र ताम्रपत्र सहितको पुरस्कार प्रदान गर्नुभएको थियो।

कार्यक्रममा प्राज्ञ गुरुङले आफ्नो गाउँ, भाषा, साहित्य, ठाउँको पहिचान, संस्कार र संस्कृतिको संरक्षणमा सबैको ध्यान आकर्षित गर्दै आफ्ना सनातन धर्म, संस्कार र संस्कृति जोगाउनुको महत्वमा जोड दिनुभयो। उहाँले विदेशी शक्तिले नेपालको सनातनी धर्ममाथि गरिरहेको प्रहारको उदाहरण दिँदै अमेरिकाको पछिल्लो कदमलाई उल्लेख गर्नुभयो।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले सिर्जना साहित्य सदनको पुरस्कारले सिंगो गाउँपालिकालाई गौरवान्वित तुल्याएको बताउनुभयो। उहाँले सदनको श्रीवृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

प्रतिभा चयन समितिका संयोजक कृष्णप्रसाद बास्तोलाले कास्कीका दर्जनौं साहित्यिक संस्थाहरू मध्ये सिर्जना साहित्य सदनलाई उत्कृष्ट ठहर गर्दै छनोट गरिएको जानकारी दिनुभयो। समितिमा प्राज्ञ हरिदेवी कोइराला र साहित्यकार दुर्गा शाह बाबा सदस्य रहनुभएको थियो।

हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपानेले सिर्जना साहित्य सदन कास्कीकै एक उत्कृष्ट साहित्यिक संस्था भएकोले पुरस्कार प्रदान गरिएको बताउँदै नेपाली भाषा साहित्यमा युवा वर्गलाई समाहित हुन आग्रह गर्नुभयो। सदनका अध्यक्ष पोखरेलले पुरस्कारले संस्थाको गरिमा अझ उच्च भएको बताउनुभयो।

कार्यक्रममा सदनका पूर्वअध्यक्ष महेश्वर अनुरागी, अग्रज कवि छविलाल आचार्य, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कराज रेग्मी, लोकगायिका हरिदेवी कोइराला लगायतले मन्तव्य राख्नुभएको थियो। कवि छविलाल आचार्य र बालकवि देवेश पहारीले स्वर्गीय हेमराज पहारीको सम्झनामा कविता वाचन गर्नुभएको थियो।

२०६७ सालमा स्थापित प्रतिष्ठानले सिर्जना साहित्य सदनलाई प्रदान गरेको यो आठौँ पुरस्कार हो। यसअघि संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद् दाङ, विमल गुरुङ स्मृति पुस्तकालय धरान, लोककवि अली मियाँ (मरणोपरान्त), झरना साहित्य परिवार मकवानपुर, साहित्य सन्ध्या काठमाडौँ, र साहित्यकार सरुभक्तलाई पुरस्कार प्रदान गरिसकेको छ।

२०५४ देखि निरन्तर क्रियाशील सिर्जना साहित्य सदनले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थानका लागि विभिन्न साहित्यिक गतिविधि गर्दै आइरहेको छ र हरेक वर्ष मुखपत्र ‘सिर्जना’ प्रकाशन गर्दै आएको छ। साहित्यकार हेमराज पहारीको २०६६ फागुन १७ गते सडक दुर्घटनामा निधन भएको थियो। उहाँको स्मृतिमा स्थापित प्रतिष्ठानले हरेक दुई वर्षमा यो पुरस्कार प्रदान गर्दै आइरहेको छ।