सोमवार बिहान १० बजे मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासी फेसबुक लाइभमा देखिए । उनले आइतबारदेखि समाजिक सञ्जालमा भाइरल भइरहेको ‘युएसएड, नर्वे र जमर्नीको पैसा खाएर किताब लेख्नेहरू’ शीर्षकको पोस्टरमा आफ्नो पनि नाम र तस्वीर रहेको विषयबाट कुरा शुरु गरे । उक्त पोस्टरमा धरावासीको साथमा कनकमणि दीक्षित, खगेन्द्र संग्रौला, युग पाठक, कुन्दन दीक्षित, नारायण वाग्ले, आहुती र सीमा आभासको तस्वीर रहेको छ ।

‘लेखकका हैसियतबाट हामी एकदमै सामाजिक प्राणी हौं । लेखकका हैसियतबाट हामी समाजबाट एकदमै टाढा जानु पनि हुँदैन र समाजमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने हाम्रो आफ्नो दायित्व रहन्छ । हामीलाई समाजबाट उठेका प्रश्नहरूको उत्तर लेख्दा नै उपन्यास, कथा, निबन्ध र कथाहरू भएका हुन् । त्यसैले हाम्रो लेखनमाथि पाठकले उठाएका प्रश्नहरूको उत्तर दिनु हाम्रो दायित्व हुन्छ ।’ भन्दै आफ्नो कुरा राख्न शुरु गरे । अनौपचारिक शैलीमा केही कुरा गरेपछि धरावासी ‘लेखकहरूले विदेशीबाट पैसा लिएर धर्मसंस्कृति, भाषा तथा राष्ट्रियता समाप्त गरे’ भन्ने आक्षेपतर्फ केन्द्रित भए । उनले भने, ‘यस्ता आक्षेपहरू चाहिँ ठीक होइन । यस्तो आक्षेप लगाउनुभन्दा पहिले ती लेखकहरूका किताबभित्र पस्नुपर्यो र ती किताबमाथि प्रश्न गर्नुपर्यो लेखक माथि होइन । हाम्रो फोटोमाथि प्रश्न गर्ने होइन । हाम्रा फोटाहरू राम्रा पनि होलान्, नराम्रा पनि होलान् । व्यक्तिगत गुण अवगुण पनि हामीभित्र होलान् । त्यसैले, हामी व्यक्तिमाथि होइन, हामीले लेखेका किताब माथि तपाईँले प्रश्न गर्नुपर्छ ।’

धरावासीको पूर्ण मन्तव्य उनकै फेसबुकवालमा हेर्न सकिन्छ ।

अब कुरा गरौं अहिले भइरहेको विवादको । यो विवाद नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै ‘युएसएड’मार्फत् नेपालजस्ता विभिन्न मुलुकलाई गर्दै आएको सहयोग बन्द गरेपछि शुरु भएको देखिन्छ । चर्चित युट्युबर टंक दाहालले आफ्नो युट्युब च्यानलबाट एक भिडियो प्रशारण गरे । उक्त भिडियोले अहिले राम्रो चर्चा पाइरहेको छ । र, सँगै समाजिक सञ्जालमा माथि उल्लिखित लेखकहरूको तस्वीर र नामसहित पोस्टर भाइरल बनेको छ । उक्त पोस्टरलाई लिएर नेपाली साहित्य क्षेत्र दुई भागमा विभाजित भएको प्रस्ट देख्न सकिन्छ ।

उक्त पोस्टर सर्वप्रथम फेसबुक पेज ‘सनातन चौतारी’बाट प्रसारित भएको देखिन्छ । पोस्टर सेयर गर्दै पेजले लेखेको छ, ‘कलाकार तथा सिनेमा – विदेशी पैसामा । लेखक तथा बुद्धिजीवी – विदेशी पैसामा । मिडिया तथा पत्रकार – विदेशी पैसामा । सबैको एउटै उदेश्य नेपालको धर्म, संस्कृति र सभ्यता मास्ने । सबैले चिनौं ।’

सनातन चाैतारी पेजबाट

उक्त पेजले स्रोतका रूपमा सन् २०१४ मा ‘माईसंसार डलकम’मा प्रकाशित ‘अमेरिकाले बारम्बार डलर दिएर माया गरेकाहरुको सूची’ शीर्षकको समाचार सामग्रीलाई प्रस्तुत गरेको छ । उक्त पेजले सम्बन्धित पोस्टरसहित पोस्ट गरेपछि ‘मोहन लामा रुम्बा’, ‘जीवन पानी’, ‘रे शम’ लगायत फेसबुक ह्यान्डलहरू हुँदै यो पोस्टर भाइरल बनेको देखिन्छ ।

यस प्रकरणमा राधाका लागि मदन पुरस्कार विजेता धरावासीले फेसबक लाइभमै आएर प्रष्टीकरण दिइसकेका छन् । साथै, अर्का लेखक युग पाठकले पनि फेसबुकमार्फत् किताब लेखेबापत आफूले एक पैसा पनि हात नपारेको लेखेका छन् । उनी लेख्छन्, ‘प्रिय जागरुक नेपाल पुलिस, यो मोहन लामा रुम्बा नामको सम्भवतः फेक आइडीबाट (सनातन चौतारी नामको पेजको समेतको संलग्नतामा) मेरो समेत फोटो राखेर किताब लेखेबापत नर्वेबाट पैसा लिएको कुरो सार्वजनिक गरिएको जानकारी हुन आयो । तर मेरो हातमा आजसम्म एक पैसो परेको छैन र मलाई यो कुरोको कुनै जानकारीसम्म छैन । त्यसैले यो फेक आइडी र पेजको पछाडि को छन् त्यसको सत्यतथ्य पत्ता लगाई मैले पाउनपर्ने कति पैसो हो (त्यो रकमको जानकारी यिनै फेकहरुलाई थाहा हुनसक्ने वा यिनैले सुटुक्क खाइदिएको हुनसक्ने सम्भावना भएकोले) त्यसको विवरण सार्वजनिक गरी उक्त रकम मलाई फिर्ता गराइदिनुहुन अनुरोध गर्दछु ।’

के हो वास्तविकता ?

कृष्ण धरावासीले लाइभबाटै आफूले एक जिडिजेट नेपालको प्रोजेक्टमै रहेर साँस्कृतिक उपन्यास ‘टुँडाल’ लेखेको बताइसकेका छन् । यो कुरा उनले उक्त उपन्यासको १८ पृष्ट लामो भूमिकामै पनि बेलिविस्तार लगाएका छन् । उक्त संस्थाले नेपालका छ वटा शहरका लागि शहरी लेखनका लागि नेपाली लेखकहरूसँग आवेदन माग गरेको थियो । उक्त प्रोजेक्टमा रहेर लेखकहरू प्रतिवेदनदेखि, उपन्यास, कथा, कविता वा निबन्ध लेख्न स्वतन्त्र थिए । सोही प्रोजेक्टमा भक्तपुरका लागि धरावासीको प्रतिवेदन पास भयो । त्यस्तै, धरानका लागि सीमा आभास र नेपालगञ्जका लागि अमर न्यौपानेको प्रतिवेदन स्वीकार भयो । उक्त प्रोजेक्टमा रहेर भाइरल पोस्टरमा नाम नरहेका भीष्म उप्रेतीले बुटवल र प्रकाश आङ्दाङ्वेले धनगढीका लागि छनौट भए । अमर न्यौपानेले पनि ‘पानीको घाम’ कुन संस्थाको वृत्तिमा लेखियो भन्ने कुरा उल्लेख गरेका छन् ।

लेखनका लागि अनुदान (ग्राण्ड) संसारभरि नै हुँदै आएको सामान्य अभ्यास हो । लेखकहरूलाई आर्थिक बोझबाट टाढा राख्न तथा स्वतन्त्र भएर लेखन कार्य गर्न सहयोग गर्ने उदेश्यले यस किसिमका अनुदान तथा फेलोशीपहरू प्रदान गर्ने गरिन्छ । विश्वका विकसित मुलुकहरूले धेरै अघिदेखि यस किसिमको अभ्यास गरी लेखक तथा बैद्धिक जगतको संरक्षण गरेका छन् । त्यही भएर तिनीहरूको साहित्य समृद्ध छ । विश्वभर प्रभाव छाडेका छन् ।

लेखक जीवा लामिछाने यसै विवादका विषयमा लेख्छन्, ‘अन्तर्राष्ट्रिय स्तरमा नोबेल पुरस्कार, पुलित्जर पुरस्कार विजेता लेखहरूले पनि अनुदानको सहयोगमा महत्त्वपूर्ण कृतिहरू लेखेका छन् । टोनी मोरिसन, एडवार्ड जोन्स, कोल्सन ह्वाइटहेट, भियेत थान गुयेन जस्ता चर्चित लेखकहरूले अनुदानबाट लाभ उठाउँदै उत्कृष्ट साहित्य सिर्जना गरेका छन् । अनुदानले सिर्जनशीलता, अनुसन्धान र बौद्धिक उन्नतिमा टेवा पुर्याउने भएकाले यसलाई नकारात्मक रूपमा हेर्नु गलत हो ।’ लामिछानेका अनुसार लेखकहरूले ग्रान्ट लिएर समाजलाई उपयोगी हुने पुस्तक लेखेका छन् भने त्यो गौरवको विषय हो, आलोचना र घृणाको होइन ।

अन्त्यमा, लामिछानेकै शब्द सापट लिँदै, लेखकको पनि आलोचना हुनुपर्छ तर त्यो रचनात्मक र घृणामुक्त हुनुपर्छ । रचनात्मक आलोचनाले सिर्जनाशीलतालाई सघाउ पुर्याउँछ भने घृणायुक्त आलोचनाले हानि । बहस साहित्यिक गुणस्तर, लेखनले समाजको पारेको प्रभाव र बौद्धिक योगदानमा केन्द्रित हुनुपर्छ । बहस ‘अनुदान कसले पायो ?’ भन्ने प्रश्नमा नभएर ‘अनुदानबाट लेखिएका कृतिहरुले कस्तो सामाजिक प्रभाव छाडे ?’ भन्ने प्रश्नमा हुनुपर्छ । व्यक्तिगत पूर्वाग्रहले भरिएका बहसहरूले कसैलाई फाइदा पुर्याउँदैन ।

कसले के भने ?

यस विवादमा कवि तथा गीतकार श्रवण मुकारुङ लेख्छन्, ‘देशकै प्रतिष्ठित लेखकहरुमाथि दुराग्रह राखेर दुष्प्रचार गर्ने, तथानाम गाली गर्ने तपाईंको नियत के हो ? कस्तो संस्कृतिको पृष्टपोषण गर्न खोजिरहनुभएको छ तपाईंले ? तपाईं मानिस नै त हो ? कि के राजनीति हो यो ? तपाईंको विवेकलाई धिक्कार छ ।’

साहित्यकार तथा समीक्षक महेश पौड्याल भन्छन्, ‘विद्वतवृत्ति लिएर किताब लेख्न पाइन्छ । दुनियाँमा चलेको चलन हो । त्यसैले, अहिले सञ्जाल तताउनुमा मेधावी लेखकहरूको छवि धूमिल पार्ने बद्नियताबाहेक म केही देख्दिनँ । अँ, नेपालमा अपवाह फैल्याउने, र अपवाहमै टेकेर सत्तोसराप गर्ने चलन डरलाग्दो छ । म आफैँ पनि परेको छु यस्तोमा । तर, हामी आफ्नै प्रज्ञा र चेतनाले उभिएका मान्छेले यस्ता अपवाहका पछाडि लाग्नु हुन्न । मेरो अनुभव के छ भने परपीडामा रमाउने (स्याडिस्ट) प्रवृत्ति बोकेका कतिपय मानिसहरू यस्तै मौका कुरेर बस्छन्, र अरूलाई चोट पुर्याउँछन् । अपवाहले कसरी दुखाउँछ, त्यो अनुभव सबैलाई छ, अथवा अहिले हुँदैछ । यस्तो वृत्तिबाट निवृत्ति नलिई चेतना फुलाउन सकिँदैन । सम्यक बन्न पनि सकिँदैन ।’

अर्का साहित्यकार तथा सम्पादक जीवन जीवन्त लेख्छन्, ‘एउटा पाठकका रुपमा पर्दापछाडिका सबै कुरा त थाहा छैन तर तीमध्ये केही लेखकका त्यस्ता पुस्तक पढेको छु । त्यसमा कुनै संस्थाको वृत्तिमा लेखेको भन्ने सम्बन्धित कृतिको भूमिकामा नै उल्लेख गरिएको छ । अहिले समाचार बन्दा ती कृति नपढेकाहरुका लागि ‘हटकेक’ बन्यो तर ती कृति सम्बनिधत विषय र विचारका दृष्टिले मलाई चाहिँ आपत्तिजनक लागेको थिएन । जस्तैः टुँडाल, पानीको घाम ।’

कृष्ण उदासी लेख्छन्, ‘… मैले उहाँहरुका (भाइरल पोस्टरमा भएका लेखहरु) प्रायः सबै किताबहरु पढेको छु । कुनै पनि किताबको कुनै पनि पानामा, कुनै पनि अनुच्छेद र कुनै पनि वाक्यमा देशको सार्वभौमिकता, राष्ट्रिय सुरक्षा, कुनै जाति र समुदायमाथि अपमान, कुनै जात, धर्म संस्कार र संस्कृतिमाथि प्रहार र भाषाको अपमान गरेको पाएको छैन ।’

निबन्धकार लक्ष्मण अर्याल लेख्छन्, ‘पुस्तक प्रकाशनका लागि सहयोग लिनुलाई गलत भन्नुहुन्न तर सहयोग लिएर उसैको नूनको सोझो गरिएको छ भने गलत हो । कृतिभित्रको मूल्यांकनबिना लेखकलाई आरोपित नगरौं ।’

लेखक शरद् प्रधान लेख्छन्, ‘अनुदान पाएर उत्तम साहित्य सिर्जना गर्नु राम्रो हो तर अनुदान दाताको विचार बोकेर लेखेको हो भने गलत हो ।’