
‘वाटिका’ साहित्यिक सङ्गालो २०८१ प्रकाशित भएको छ । पोखराथोक साहित्य सङ्गमको २५ औं वार्षिकोत्सवको अवसारमा हालै पाल्पाको पोखराथोकमा आयोजित एक कार्यक्रमका बीच ‘वाटिका’ सार्वजनिक गरिएको हो ।
पोखराथोक साहित्य सङ्गम, वगनासकाली–२ पोखराथोक, माडी, पाल्पाको वार्षिक प्रकाशन साहित्यिक सङ्गालो ‘वाटिका’को वर्ष २२ अंक २३ का रूपमा प्रकाशित यस अङ्कका प्रधानसम्पादक गोविन्द खनाल र सम्पादक विष्णुप्रसाद पहारी हुनुहुन्छ ।
‘वाटिका’का हरेक अङ्क विशेष हुने गरेका छन् । यसपटक ‘वाटिका’ले कविता विशेषाङ्ंक प्रकाशित गरेको हो ।
यस अङ्कमा समाविष्ट सामग्रीहरूका हकमा कविता बारे जान्न चाहने पाठकका लागि उपयोगी सामग्रीहरू यसमा रहेका छन् । विषयसूची तर्फ दृष्टि दिँदा खण्ड क) मा कविता सिद्धान्त सम्बन्धित सामग्रीहरू रहेका देखिन्छ । जसमा डा. टंकप्रसाद पन्थको कविताको परिचय र स्वरूप, कृष्ण प्रसाद कोइरालाको संस्कृत कविहरूमा प्रतीयमान अर्थको अभिव्यक्ति कला जस्ता सामग्री रहेका छन् । यिनका अतिरिक्त पुष्कर अथक रेग्मीलगायतका नेपाली काव्य क्षेत्रमा पछिल्लो समय देखापरेका विभिन्न लघु उपविधाहरू बारेका सैद्धान्तिक जानकारी प्रदान गर्ने सामग्री पनि यसमा समेटिएका छन् । खण्ड ख) मा दुई अन्तर्वार्ता रहेका ‘वाटिका’को खण्ड ग) मा कविता, गीत, गजल, मुक्तक, शीत, छेस्का कवितालगायत अग्रज देखि अनुज पुस्तासम्मका १२४ कविका काव्य रचनाहरू समावेश छन् । २७२ पृष्ठको यस पत्रिकाको आवरण आकर्षक छ ।
समस्यापूर्ति कविता यस पत्रिकाको विशिष्ट पहिचानको रूपमा रहँदै आएको छ । सम्भवतः ‘वाटिका’ एकमात्र साहित्यिक प्रकाशन हो जसले युवक कवि मोतीराम भट्टद्वारा प्रारम्भ गरिएको समस्यापूर्ति कवितालाई जीवित राखेको छ । यस अङ्मा यस वर्षका लागि दिइएका दुई विषय ‘जीवन्त बन्ने छ कला मभित्र’ र ‘यो नाङ्गो गाईजात्रा’ शीर्षकमा नौ जना सर्जकका समस्यापूर्ति कविता समावेश गरिएका छन् । आगामी अङ्कका लागि ‘त्यो शारदी चन्द्रमा’ र ‘बाँचोस् यो जिन्दगानी’ समेत दुई शीर्षक दिइएका छन् ।
सम्पादकीयमा लेखिएको छ, ‘हाम्रो समाजका धेरैजसो व्यक्तिले आफ्नो समयलाई सम्पत्ति कमाउने, मोजमस्ती र रमाइलो गर्ने अथवा अन्य कार्यमा खर्च गर्दछन् भने साहित्यकर्मीले समयको उपयोग आदर्श समाज निर्माणका परिकल्पना सहित समाजका विकृती विसङ्गतिको चिरफार गर्दै समाजलाई सचेत बनाउने कार्यमा सदुपयोग गर्दछन् । यसैले साहित्यकार राष्ट्रका गहना हुन्, सरकारले साहित्यकारको उचित मूल्याङ्कन गर्न सकेमात्र देशमा सुशासन र समृद्धिको प्रत्याभूति सम्भव हुन्छ । ’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
