जीवन जीवन्तद्वारा लिखित उपन्यास ‘चरैवेति’ को लोकार्पण तथा परिसम्वाद कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा सम्पन्न गरियो ।

कार्यक्रम साहित्यकार भुवनहरि सिग्देलको अध्यक्षता तथा आख्यानकार नयनराज पाण्डेको प्रमुख आतिथ्यमा सुनपकुवा मा.वि.मोरङका संस्थापक प्रधानाध्यापक प्रेमचन्द्र सापकोटाको विशेष आतिथ्यमा समीक्षकद्वय कवि,उपन्यासकार सुमन वर्षा तथा अर्का समीक्षक त्रिविवि नेपाली केन्द्रीय विभागका उप प्राध्यापक आख्यानकार डा.अशोक थापालगायत सयौं साहित्यानुरागीहरूको समुपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा साहित्यकार भुवनहरी सिग्देलले अभ्यागतहरुलाई स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रममा सुनपकुवा माध्यमिक विद्यालय, मङ्गलबारे मोरङका संस्थापक प्रधानाध्यापक प्रेमचन्द्र सापकोटालाई पूर्वविद्यार्थीहरुका तर्फबाट दोसल्ला ओढाई ताम्रपत्र प्रदान गरी अभिनन्दन गरिएको थियो ।

उक्त कार्यक्रममा अतिथि वक्ता सुमन वर्षाले उपन्यासकै क्षेत्रमा डेढ दशकदेखि खोज अनुसन्धान गरिरहनु भएका उपन्यासकार जीवन्तले पुरातनवादी परम्पराबाट विश्वास गुमाई जातीय र आर्थिक रुपले विपन्न वर्गमा परेको समस्यालाई साक्षी भावमा हेरेर नदीको बहावमा बग्दै गरेको ढुङ्गालाई चिल्लो शालिग्रामको रुपमा प्रस्तुत गर्न सफल रहेकोमा खुशी व्यक्त गर्दै भौगोलिक आञ्चलिकता,पूर्वी नेपालको किपट प्रथा, बसाईं सराई र स्थानान्तरण,प्रस्तुत गरिएको सन्दर्भलाई सजीव ढङ्गले चरैवेति उपन्यासमा प्रस्तुत गरी नवीन सत्यको खोजीका लागि निरन्तर अघि बढिरहनुपर्छ भन्ने भाव बोकेको हुनाले कृति उत्कृष्ट रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपन्यास विधामा आधारित रहेर लामो समयदेखि खोज अनुसन्धान गरिरहेका उपन्यासकार जीवन्तले धर्मान्तरणको वर्तमान सामाजिक यथार्थतालाई आर्थिक र राजनैतिक रङ दिएर हाम्रा आदिवासी र जनजातिहरूको मौलिक पहिचान समाप्त पार्ने तितो यथार्थतालई धर्मका नाममा गरिने कुनै पनि अतिवाद र त्यसका नाममा खोजिएको सत्य सर्वकालिक र सर्वमान्य नहुने भएकोले मानवजातिले सदैव नवीन सत्यको खोजी गरिरहनुपर्ने बताउँदै धर्म परिर्वतन गरेपछिको सनातनीहरूलाई हेर्ने दृष्टिकोण र सनातनीले हेर्ने दृष्टिकोण बीचमा प्रश्न र संशयपश्चात सामाजिक परिवेशमा उब्जिएका प्रश्नहरूको समाधानका लागि लेखकीय भूमिकामा चरैवेति लिएर समालोचना विधाबाट आख्यान क्षेत्रमा आएको विचार व्यक्त गर्नुभयो ।

उक्त अवसरमा समीक्षक थापाले रुपमति उपन्यासदेखि आजसम्म आइपुग्दा संरचनामा फेरबदल हुनु स्वभाविक रहेको हुनाले धर्मपरिर्वतन जस्तो गहन र सम्बेदनशील विषयवस्तुको उठान गरी चराचर जगत स्थिर नभई चलायमान रहेको हुनाले चरैवेतिले नेपाली उपन्यास परम्परामा नौलो अभियानको थालनी गरेको बताउँदै उपन्यासमा बाइबलको समाजशास्त्रीय व्याख्या गरी तिनका विरोधाभाषलाई दविषयवस्तु बनाइएकोले पाठक र समीक्षकको हेर्ने दृष्टिकोणमा समानताको खोजी गरिनुपर्ने भन्दै जीवनमा अभाव र दुःख रहे पनि फेरि उठेर निरन्तर हिँड्ने साहस गरिरहनु नै सार्थक जिन्दगीको पर्याय रहेको बताउनुभयो ।

यसैक्रममा प्रमुख अतिथिका रुपमा रहेका आख्यानकार पाण्डेले समग्रतामा कार्यक्रमको ब्याख्या गर्दै लेखक समीक्षकहरू स्वयं पनि एकअर्काको लेखन कलाबाट सिक्दै र प्रयोग गर्दै जाने अवसरको रुपमा आफूले पाएको भन्दै जीवनमा पूर्णताको अपेक्षा गर्न कठिन हुनाले उपन्यासमा कतिपय कमजोरी रहेको पनि हुन सक्ने बताउँदै उठान गरिएको विषयवस्तु चोटिलो रहेकाले पाठकको मन जित्न सक्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा अभिनन्दित सुनपकुवा माविका प्रधानाध्यापक सापकोटाले आफ्ना विद्यार्थीहरुले गरेको उन्नति र प्रगतिमा आफूलाई अत्यन्त खुसी मिल्ने भएकोले पेशमेकरको भरमा धानेको आफ्नो जिन्दगीमा अझै थप ऊर्जा मिलेकोले जीवनको जिजीविषा अझै बढेर गएको बताउनुभयो ।

लोकार्पण तथा परिसम्वाद गरी दुई चरणमा सम्पन्न गरिएको उक्त कार्यक्रमको सञ्चालन कवि महेश क्षितिजले चोटिलो र प्रभावकारी भूमिकाका साथ सम्पन्न गर्नुभएको थियो । सयौंको संख्यामा उपस्थित साहित्यानुरागी तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको सो कार्यक्रम सभ्य एवम् भव्य रुपमा सम्पन्न गरिएको थियो ।

पुस्तक पेट टर्नरले बजारमा ल्याएको छ ।

-जयराम बिडारीको रिपोर्ट