साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कविता, आख्यान र समालोचना लेखनमा लागिपर्ने सक्रिय लेखक जीवन जीवन्तकृत पहिलो उपन्यास “चरैवेति” प्राप्त भएकाे छ ।

२ सय ४३ पृष्ठमा बुनिएको चरैवेतिमा ‘आकस्मिकता’, ‘दसैँ र सयपत्रीको पात’, ‘कान्छा काकाको विद्वेष’, ‘विश्राम’, लगायत अन्य आकर्षित शीर्षकहरू समावेश छन् ।

पुस्तकको पछिल्लो कभर पृष्ठमा लेखिएको छ, “…जगत् मिथ्या हो, भ्रम हो, माया हो भन्ने ज्ञानामृत प्राप्त भएपछि पनि सयौँ वर्षदेखि मानवसभ्याताले देश, धर्म, जाति, भाषा अनेक नाममा अनेक जगत् खडा गर्दै आएको छ । यसै मिथ्या जगत्भित्रका सप्तरङ्गी भ्रमबिच रुमलिएको एउटा अतृप्त पात्रको सत्य – खोजतर्फको यात्रा – प्रयास हो, चरैवेति । यसले परिवारभित्रको (अ) राजनीति, समाजभित्रको (अ) राजनीति, धर्मभित्रको (अ) राजनीति र संस्कृतिभित्रको (अ) राजनीतिबाट सिकार बनेको एउटा चरित्रको जीवन्त कथा बुनेको छ । अशिक्षाको अन्धकारभित्रको अश्वेत-भ्रम र शिक्षाको उज्यालोपछिको श्वेत-भ्रमबिचबाट उसको चरैवेति आरम्भ भएको छ ।”

सर्जकको सरगममा लेखक उल्लेख गर्छन्, “मानवसभ्यतामा निर्मित अनेक जगत्मध्ये ‘चरैवेति’मा बाइबलको जगत्‌को परिभ्रमण गरिएको छ । यो बाइबलको धर्मशास्त्रीय, आध्यात्मिक जपाइ होइन, यो त भौतिकवादी पठन मात्रै हो, यो कसैप्रति आग्रह वा पूर्वाग्रह होइन । भौतिकता र आध्यात्मिकताबिचको मतान्तरले ‘चरैवेति का सन्दर्भमा पनि प्रश्नहरू आउन सक्छन् तर तिनलाई त्यसै रूपमा बुझिदिन सर्जकीय आग्रह छ । यसमा बाइलबकै सरगममा प्रवेश गर्नुमा सर्जकको पूर्वजप्रतिको आग्रह र आस्था नै हो । दुनियाँमा लेख्नेहरूले प्रायः कि आफ्नै पूर्वजका कथा लेखेका छन् कि सन्तानका कथा । होमरले पूर्वजका कथा लेखे, वेदव्यासले ‘महाभारतमा आफ्नै सन्तानको कथा लेखे, पुराणले पूर्वजको कथा भन्छ, बाइबल, कुरान आदिले पनि पूर्वजकै कथा सुनाउँछ, यस सर्जकले पनि पूर्वजकै सरगम लेखे ।”

किरण सिँजाली मगर लेख्छन्, “एउटा सामान्य मानिस इसाई भएपछि उसले समाज र आफ्नो परिवारबाट कस्ता कस्ता लाञ्छना खेप्नुपर्दछ र उनको दैनिकी कसरी व्यतीत हुन्छ भन्ने तथ्यको आख्यानीकरण चाख लाग्दो छ । दैनिक इसाई जीवनको अभ्यास भए तापनि बाइबलमा भएका अनेकौँ विरोधाभासी प्रश्नहरूप्रति आफू अनुत्तरित हुनु आफैमा बहुसङ्ख्यक इसाईहरूको वास्तविकता हो । यसबाट प्रताडित व्यक्तिको बाह्यान्तरिक जीवनको चिरफार गर्न उपन्यास सफल छ । उपन्यासमा बाइबललाई गलत साबित गर्न खोजिएको छैन तर परमेश्वरको वचन हो भने कसरी विरोधाभास छन् भन्ने जिज्ञासालाई उदाङ्ग पार्ने प्रयत्न भएको छ । यसलाई भौतिकवादी दृष्टिबाट उठान गरिएकाले यो जो कसैका लागि चाखलाग्दो छ ।”

पेज टर्नरबाट प्रकाशित ‘चरैवेति’को मूल्य ५ सय २५ रुपियाँ रहेको छ ।