
गायक सुमित खड्काको एकल सांगीतिक साँझ ‘राष्ट्रको लागि संगीतः देशको आवाज भाग ४’ सम्पन भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एकल सांगीतिक कार्यक्रममा गायक खड्काले आफ्ना लोकप्रिय पुरानादेखि नयाँ राष्ट्रिय भाव बोकेका १६ गीतहरु प्रत्यक्ष वाद्यवादनसहित प्रस्तुति दिएका थिए ।
कार्यक्रममा गायक खड्कालाई लोकप्रिय गायिकाद्वय प्राश्ना शाक्य र अन्जु गौतमले साथ दिएका थिए ।
कार्यक्रममा गायक खड्काले गीतकारहरु केशव भट्राई, कल्याण श्रेष्ठ, किरण खरेल, एसपी कोइराला, चूणमणि देवकोटा, सुरेन्द्र खड्का, ध्रुवराज पौडेल, माधव पोखरेल, शंकर खरेल, अमर वान्तु, पारसमणि बराल, कल्याण श्रेष्ठ लगायतका रचना र शक्ति बल्लभको संगीत रहेका गीतहरु गाएका थिए ।
चलचित्र पाश्र्व गायन, आधुनिक गायनमा आफूलाई निरन्तर क्रियाशील रहँदै आएका गायक खड्काको एकल साँझमा “हाम्रो गौरव हाम्रो झन्डा, हिमाल पहाड तराई, राजनीति, यो देश हाम्रो देश, पहिलो भाइ पहाडमा, कहाँ म जन्मे, यो देशको हावा, उत्तरका सेता हिमाल, सारा संसार, हिमाल हेरेर, नेपालीको मनमा, म हुँ एउटा मान्छे, तिम्रो पनि रगत, हामी पहिले नेपाली, वीरको छोरा, हाम्रो देश हामी नेपाली”लगायतका गीत गाएका थिए ।
कार्यक्रममा कोशी प्रदेशका सदस्य भीम पराजुली, वरिष्ठ संगीतकार शक्ति वल्लभ, चलचित्र निर्माता तथा अभिनेत्री दीपाश्री निरौलालगायत कलाकारहरुको उपस्थिति रहेको थियो । साे अवसरमा दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासलाई सम्मान गर्नुका साथै सुप्रसिद्ध राष्ट्रिय गीतकारहरुको गीति संगालोको विमोचन पनि गरिएको थियो ।
विगतका वर्षहरुमा पनि राष्ट्रका लागि संगीत अन्तर्गत गीत गाउँदै आएका गायक खड्काले यस वर्ष बढ्दो वैदेशिक रोजगारीका क्रममा देश छाडेका युवाहरुलाई लक्षित गरी देशप्रेमको भावना जगाउने खालका गीतहरु समावेश गरिएको बताएका छन् ।
नेपाल सांस्कृतिक महासंघको सहकार्यमा स्पार्क एडभरटाइजिङले आयोजना गरेको कार्यक्रमलाई मोरङ समाज काठमाडौंले प्रवर्द्दन गरेको थियो । यसअघि उनले ‘देशको आवाज’, ‘देशको आवाज–२’ र ‘देशको आवाज–३’ काे एकल प्रस्तुति दिइसकेका छन् !
साहित्यकार ,गीतककार ,समाजसेवी लगायत निकै बाक्लो मात्रामा बिराटनगरबाट यही कार्यक्रमको लागि भनेर बुध्दिजिबी आएका थिए भने प्रत्येकको हातमा सानो झन्डा र मिलाएर बिच बिचमा ठूलो झन्डा र साॅस्कृतिक पोषाकले सुसज्जित युवा युवती ओहोरदोहर गरिरहेका देखिन्थे यो विशेष आकर्षण र सर्वप्रिय बनिरहेको देखिन्थ्यो !
नाम र दाम भन्दापनि उनले जुन माटो र माटोप्रतिको भाव दर्शाएका छन निरन्तर सबैले सराहना गरिरहेका थिए !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

