
चर्चित लेखक बुद्धिसागरको संस्मरणात्मक कृति हो ‘उसले दिएको उमेर’ । अक्सर एकपछि अर्को कृति लेख्न लामो समय लिन्छन् बुद्धिसागर । तर उपन्यास एक्लो प्रकाशन भएको नौ महिनामै यो संस्मरणात्मक कृति प्रकाशनमा आएको छ । यो उनको पाँचौँ कृति हो ।
आफैँलाई मन परेका केही संस्मरणहरुलाई यस कृतिमा उतारेको लेखक बुद्धिसागरले जनाएका छन् । उनले भनेका छन्, ‘यो उपन्यास, कविताभन्दा पनि मेरो जीवनका केही स्मृति हुन् जसलाई म मेरा पाठकहरुसँग साझा गर्न चाहन्छु ।’
पुस्तक ‘उसले दिएको उमेर’मा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्ने प्रकाशक फाइनप्रिन्टले जनाएको छ । एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन । उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ । पुस्तक ‘उसले दिएको उमेर’मा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन् ।
लेखक भन्छन्, ‘साइकिल सिक्दा गोडामा लागेका खत अझै छन् । सोच्छु— हरेक सिकाइका खत कहीँकतै रहिरहन्छन्, कुनै देखिन्छन्, कुनै देखिँदैनन् ।’ तसर्थ यो पुस्तक लेखकको स्मृति मात्र होइन, उनले सुनाउन चाहेका खत हुन् ।
कैलालीमा जन्मिएका बुद्धिसागरको किशोरावस्था कालीकोटको मान्ममा बितेको हो । ०६० सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक जितेका उनले ०६६ सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गरेका छन् ।
सन् २०१९ मा इन्टरनेसनल राइटिङ प्रोग्रामका मानार्थ फेलो रहेका उनको पुस्तक ‘कर्नाली ब्लुज’को अङ्ग्रेजी अनुवाद सोही नाममा प्रकाशित छ । उनका ‘फिरफिरे’ र ‘एक्लो’ उपन्यास अनि कवितासङ्ग्रह ‘बुद्धिसागरका कविता’ फाइनप्रिन्टबाटै प्रकाशित छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

