‘सिर्जनाको खोजी र प्रतिभाको सम्मान’लाई मूल मन्त्र बनाएको सूचक प्रकाशनले आफ्नो १५ औँ वार्षिकोत्सव भव्य रूपमा सुसम्पन्न गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रेक्षालयमा आयोजित उक्त कार्यक्रममा ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार’ साहित्यकार इल्या भट्टराई र वरिष्ठ सञ्चारकर्मी राजेश खनाललाई नगद र प्रमाणपत्रसहित संयुक्त रुपमा समर्पण गरिएको छ ।

त्यस्तै, ‘सूचक सम्मान’ कवि गीता कार्की, साहित्यकारत्रय ज्ञानु अधिकारी, लीलादेवी श्रेष्ठ तथा सपना लामिछाने, कविद्वय डा. रेणुका सोलु एवम् वसन्त नकर्मी, समाजसेवी हेमन्तकुमार कार्की, स्वास्थ्यसेवी डा. सिद्धार्थ रञ्जितलाई प्रदान गरिएको छ ।

त्यसैगरी, पत्रकार जयराम बिडारी, कवि रश्मि रिमाल तथा समीक्षक अरुण खत्री ‘नदी’लाई कदर-पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा शिक्षाविद् एवम् समाजसेवी केदारनाथ श्रेष्ठ, साहित्यकार जलेश्वरी श्रेष्ठलगायतका अतिथिहरूको उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले तीन कारणले कार्यक्रम विशेष रहेको दाबी गरे । एक, कार्यक्रमको शुभारम्भ र समापन तोकिएको समयमा भएको । दुई, सम्मानित अनुहारहरूमा युगौँ दलनमा राखिएका आधा आकाश धानेका महिलाहरूको बाहुल्यता । र तीन, वक्ताहरूको सङ्क्षिप्त र सान्दर्भिक मन्तव्य । प्रभावहीन, बोझिलो र वाक्कलाग्दो मन्तव्य श्रवण गर्न नपरेकोमा उनी सन्तुष्ट देखिन्थे ।

कार्यक्रमका सहजकर्ता युवा कवि तथा गजलकार प्रकाश समीरको आग्रहको जवाफ दिँदै राईले विशुद्ध साहित्यिक कार्यक्रमका निम्ति प्रज्ञाका दुई सभाकक्ष (लेखनाथ र पारिजात प्रेक्षालय) को हलभाडाका हकमा पचास प्रतिशत सहुलियत दिने उद्घोष गरे ।

पुरस्कृत व्यक्तित्वहरूको प्रतिनिधित्व गर्दै साहित्यकार इल्या भट्टराईले लेखन पुरस्कारका निम्ति नभए पनि पुरस्कृत हुँदाखेरि गौरवान्वित अनुभूत भएको उल्लेख गरिन् । लेखकको नाउँमा स्थापित पुरस्कार ग्रहण गर्न पाएकोमा आफूलाई गर्व लागेको उनको भनाइ थियो ।

सम्मानित व्यक्तित्वको तर्फबाट मन्तव्य राख्ने सिलसिलामा सपना लामिछानेले उपस्थित, पुरस्कृत र सम्मानित सबैप्रति कृतक्ज्ञता ज्ञापन गरिन् ।

अर्का कवि वसन्त नकर्मीले आफूभन्दा अग्रज साहित्यकारसामु उभिएर दुई शब्द राख्न पाएकामा सूचक प्रकाशनप्रति आभार व्यक्त गरे ।

सम्मानित साहित्यकारद्वय गीता कार्की र रेणुका सोलुले एकेक वटा कविता वाचन गरे ।

उपस्थित अतिथिहरूलाई स्वागत गर्ने सिलसिलामा प्रकाशनका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ले आफूहरूले स्तरीय सिर्जना र सकारात्मक योगदान भएका स्रष्टाहरूलाई ओझेलमा पारी पहुँचवाला स्रष्टालाई उत्प्रेरित गर्ने सिन्डिकेटको सदा विरोध गरेको जिकिर गरे । राम्रोलाई राम्रो भन्न आँट गर्नुपर्ने बताउँदै उनले सत्ता र शक्तिको आडमा साहित्य, साहित्यिक सिर्जना र स्रष्टालाई अतिरञ्जित गर्ने प्रवृत्ति विरूद्ध खबरदारी गर्नु आफूहरूको अभीष्ट भएको अभिमत राखे ।

साहित्यकार हिरण्यकुमारी पाठकको अध्यक्षतामा उक्त पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न भएको थियो ।