
कोलोराडो । अमेरिकाको कोलोराडो राज्यको डेन्भर सहरमा आयोजित एक साहित्यिक समारोहमा गोविन्द गिरी प्रेरणाकृत पारिजातको जीवनी “सुश्री पारिजात”को चर्चा कार्यक्रम सम्पन्न भयो । समारोहमा कृतिका लेखक गोविन्द गिरी प्रेरणाले सो जीवनी लेखनका विविध पक्ष र पाटाहरूरूको विषयमा चर्चा गरे ।
समारोहमा उपस्थित प्रमिला शर्मा, विजयराज शर्मा, कृष्णमुरारी ढुङ्गेल, तारा अधिकारी, राजु सिटौला, रमिता तुलाधरलगायतले सुश्री पारिजातको विषयमा विविध जिज्ञासा राख्नुका साथै लेखकलाई शुभकामना प्रकट गरेका थिए ।
कार्यक्रमको सुरूमा राइटर्स इन्टरनेशनल, ग्लोबल कमिटी अमेरिकाका अध्यक्ष ज्ञानेन्द्र गदालले सुश्री पारिजातका लेखक गोविन्द गिरी प्रेरणाको परिचय प्रस्तुत गर्दै कार्यक्रमको आयोजनाका बारेमा मन्तव्य प्रस्तुत गरेका थिए । तत्पश्चात् राइटर्स इन्टरनेशनल, ग्लोबल कमिटी अमेरिकाका तर्फबाट गोविन्द गिरी प्रेरणालाई सम्मान गरिएको थियो ।
गिरीलाई कृष्णमुरारी ढुङ्गेलले खादा पहिराएका थिए भने अनेसास बोर्ड अफ ट्रष्टिका अध्यक्ष पदम विश्वकर्माले सम्मानपत्र समर्पण गरेका थिए । सम्मानपत्रको बेहोरा ज्ञानेन्द्र गदालले पढेर सुनाएका थिए ।
समारोहमा कोलोराडोका साहित्यकार तथा साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

