
साहित्य सन्ध्याले नेपाल प्रज्ञाप्रतिष्ठनमा एक विशेष कार्यक्रम आयोजना गरी पाँच जना विशिष्ट व्यक्तिलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरेको छ ।
उक्त कार्यक्रममा पाँच कवितासङ्ग्रह र दुई उपन्यासका स्रष्टा उमेश उपाध्यायलाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान, साहित्यकार खेमराज निरौलालाई साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान, चिकित्सा सेवाबाट अन्तर्राष्ट्रिय स्तरमै देशको ख्याति बढाउन सफल डा. वसन्त पन्तलाई साहित्य सन्ध्या कृबा पुरस्कार तथा सम्मान, चालिस वर्षको उमेरमा अक्षर चिनी सतासी वर्षको उमेरमा नियात्रा लेख्ने नियात्राकार, सङ्गठक, प्रेरक व्यक्तित्व नन्दकला सुवेदीलाई साहित्य सन्ध्या हरिप्रिया हरिकृष्ण चापागाईँ पुरस्कार तथा सम्मान र एकल आमाको संरक्षणमा सङ्घर्षका साथ अध्ययन गरिरहेकी छात्रा गोमा कामीलाई साहित्य सन्ध्या मन पुरस्कार तथा सम्मान अर्पण गरिएको हो ।
कार्यक्रममा साहित्य सन्ध्याको अभियानलाई सहयोग र हौसला प्रदान गर्ने संस्था हेमराज पहारी स्मृति प्रतिष्ठान, विद्युत्कर्मी साहित्य समाज र सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रलाई पनि हार्दिक आभार प्रकट गरियो ।
प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य माननीय रघुजी पन्तले बिजुली बत्ती बालेर उद्घाटन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता साहित्य सन्ध्याका अध्यक्ष रामवियले गर्नुभएको थियो भने साहित्य सन्ध्याकै सचिव जयन्ती स्पनदनले स्वागत र सदस्य रूपक अलङ्कारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिभा छनौट समितिका तर्फबाट साहित्यकार विधान आचार्यले प्रतिभा छनौटका आधार र औचित्य प्रकट गर्नुभयो । साहित्यसन्ध्या कृबा पुरस्कार र साहित्यसन्ध्या मन पुरस्कारका संस्थापक नर्मदेश्वरी सत्याल र साहित्यसन्ध्या हरिप्रिया हरिकृष्ण चापागाईँ पुरस्कारका संस्थापक पोषरमण चापागाईँले पुरस्कार स्थापनाको आवश्यक्ता र महत्त्व दर्साउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रा. केशव सुवेदीले साहित्य सन्ध्याको चालिस बर्से लामो अभियानमा भए गरिएका योगदानको समीक्षा गर्ने बेला भएको जानकारी दिनुभयो । प्रमुख अतिथि माननीय रघुजी पन्तले नयाँ पुस्तालाई नेपाली भाषा साहित्यमा लगाउन नसक्ने हो भने नेपाली भाषा साहित्य लोप हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै त्यसबाट बच्न यस्तै साहित्यिक कार्यक्रम गरी नयाँ पुस्तालाई बढी मात्रामा सक्रिय गराउनु उचित हुने विचार व्यक्त गर्नुभयो ।
धन्यवाद ज्ञापनका क्रममा साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले राख्नुभएको विचारअनुसार साहित्य सन्ध्याका योजनाकार, संस्थापक, अभियन्ता, सल्लाहकारहरू राज्यको गरिमामय पदमा पुग्न सक्नुलाई साहित्य सन्ध्याकै महत्त्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ ।
करिब दुई घण्टा सञ्चलित उक्त कार्यक्रम अध्यक्ष रामविनयको मन्तव्यसँगै समापन गरियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

