
साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई समालोचक तथा लेखक गोपी मैनालीकृत गैरआख्यान कृति “घाउ आफैँलाई दुख्छ” प्राप्त भएकाे छ ।
१ सय ९२ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘आफ्नै कथा विशेष हुन्छ’, ‘बिचरा निजामती’, ‘मृत्यु अझै मरेन’, ‘प्रविधि, पुस्ता र परिवर्तन’, ‘जन्मभूमि’लगायत ३० थान निबन्ध सङ्ग्रहित छन् ।
“निबन्धकार गोपी मैनालीको यस निबन्धसङ्ग्रहमा सङ्ग्रहित अधिकांश निबन्धमा काल्पनिकताको प्रबलता पाइन्छ भने कतिपय निबन्धमा स्वैरकाल्पनिकता र सूक्ष्म व्यङ्ग्य पनि पाइन्छ । गृहीत विषयको दार्शनिक व्यख्या, स्वैरकाल्पनिक प्रस्तुति, बेजोड कल्पना र बौद्धिकताको सम्मिलनका साथ त्रैकालिक परिवेशको चित्रण पाइने यिनका निबन्धको मुख्य उद्देश्य वर्तमान युगीन जनजीवनका विविध यथार्थको प्रकटीकरण रहेको छ ।” भूमिकामा प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल लेख्छन्, “कतिपय निबन्धमा प्रथम पुरुष, कतिपय निबन्धमा तृतीय पुरुष र कतिपय निबन्धमा दुवै पुरुष दृष्टिविन्दुको प्रयोग पाइने यिनका निबन्धमा विचारको प्रबलता पाइए पनि त्यो विचार कुनै राजनीतिक वाद विशेषमा भने केन्द्रित छैन । यिनका निबन्धमा युगीन राजनीतिक, सामाजिक, प्रशासनिक आदि विभिन्न क्षेत्रका विकृति र विसङ्गतिका साथै निजामती प्रशासनमा हुने गरेको राजनीतिक हस्तक्षेपप्रति आलोचना गरिएको छ भने यिनै क्षेत्रका सत्कार्यका प्रशंसा गरिएको छ । यिनले आफ्ना विभिन्न निबन्धमा स्वदेश र विदेशका विविध क्षेत्रका विभिन्न व्यक्तिहरूका सत्कर्मको मुक्तकण्ठले प्रशंसा गरेका छन् । स्वैरकल्पनाको सुन्दर प्रयोग पाइने यिनका कतिपय निबन्धमा राष्ट्रवादी भावना सलबलाएको भेटिन्छ ।”
आफ्ना कुरामा गोपी मैनाली लेख्छन्, “प्रत्येक निबन्ध लेखनमा मलाई सधैँ पछ्याइरहने दुई पात्र छन्, मेरी आमा र मेरो जन्मस्थान । आमा अहिले छैनन्, वासस्थान पनि जन्मस्थानबाट अलि पर छ । लाग्छ आमा र जन्मभूमि एकै हुन्, जो निःस्वार्थ छन् । आमा र जन्मभूमिले कहिल्यै केही लिँदैनन्, दिने मात्र गर्छन् । एउटा निबन्ध त नमोबुद्धको डाँडामा बसेर मनमा आमा र आँखामा जन्मस्थानलाई राखेर लेखेको छु । यो कृति आमाको प्रेरणाको उपज हो । आमाहरू महान् हुन्छन्, आमाप्रति जन्मजन्म ऋणी छु ।”
पुस्तकलाई सन्तोषी माता प्रा.लि.ले बजारमा ल्याएको हो र मूल्य ४ सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

