
साहित्य सन्ध्यामा ‘मानव स्वास्थ्य र जीवनशैली’बारे चर्चा भएको छ । सन्ध्याको नियमित कविगोष्ठीसँगै मानव र जीवनशैलीबारे चर्चा गरिएको हो ।
कार्यक्रममा डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ले मानिसले खानेकुरामा हेलचेक्राइँ गरिरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
‘मोटारसाइकलमा पेट्रोल हाल्न त हामी शुद्धता खोज्छौँ’, उहाँले भन्नुभयो, ‘खानेकुरामा शुद्धता खोजिन्न ।’ उहाँले अहिले हामीले बाँचेको समय रोग, शोक र पीडाको समय हो भन्दै हामीलाई बाँचुन्जेल सहाराबिना बाँच्ने स्वास्थ्य आवश्यक हुने बताउनुभयो ।
‘आजको समय भनेको मानवको मात्र होइन समग्र जैविक विविधता रक्षाको चिन्ता गर्ने समय हो । हामी चाहिँ आफ्नै जीवनको चिन्ता आफैँले नगर्ने समस्या भोगिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘ हाम्रो जीवनशैलीमा आएको परिवर्तनले गर्दा औषधिको बलमा कुनै पनि रोगबाट मुक्त हुन सकिँदैन । उल्टो औषधिको मात्रा बढ्दै जान्छ र औषधिका पाश्र्वप्रभाव पनि देखिन्छन् ।’
कार्यक्रममा भावना न्यौपाने, मुकुन्द न्यौपाने, डम्बर पहाडी, खेमराज निरौला, डा. फणीन्द्रराज निरौला, डा. गोविन्दप्रसाद आचार्य र विधान आचार्यले आआफ्ना कविता, गीत, मुक्तक, एलाक, लघुकथा वाचन गर्नुभएको थियो ।
विगत चार दशकदेखि अविच्छिन्न रूपमा मासिक साहित्यिक गोष्ठी साहित्य सन्ध्याले गर्दै आइरहेको छ । यस्तै समसामयिक विषयमा पनि बहस तथा छलफल गर्दै आइरहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

