
साहित्यपोस्टमा वर्षभरि प्रकाशित पर्या-कवितामध्येबाट उत्कृष्ट तीन कविताका कविलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । जेठ २७ गते काठमाडौंमा आयोजित आठौं वातावरण साहित्य गोष्ठीका अवसरमा विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरिएको हो ।
पुरस्कृत पर्या-कविताहरूमा डा. विप्लव ढकालको ‘भ्यागुताको बिहे’ (प्रथम), वासुदेव अधिकारीको ‘हिउँमारा तापमान’ (द्वितीय) र कृष्ण बाउसेको ‘डाइनोसरको भजन’ (तृतीय) रहेका छन् । पुरस्कृति कविहरूलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद राशिका साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
साहित्यपोस्टमा प्रकाशित भएका पर्या–कविता (पर्यावरण कविता) हरुमध्येबाट सर्वोत्कृष्ट तीन कविताका घोषणा गरिए विजय हितानको संयोजकत्वमा साहित्यकारद्वय डा. देवेन सापकोटा र बिमला तुम्खेवा सम्मिलित तीन सदस्यीय निर्णायक समितिले गरेको थियो ।
साहित्यपोस्टले ‘पर्यावरण साहित्य’लाई विशेष महत्त्वका साथ प्रकाशन गर्दै आएको छ । यसको सम्पादकका रूपमा पर्यावरण अभियन्ता विजय हितान रहनुभएको छ । यो पुरस्कारको प्रायोजन हितानले नै गर्नुभएको हो ।
साहित्यपोस्टले गएको वर्षदेखि सुरू गरेको पर्या-साहित्य अभियानअन्तर्गत ०७९ चैतसम्ममा प्रकाशन भएका कविताहरूमध्येबाट सर्वोत्कृष्ट तीनलाई यो पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
०८० सालबाट वार्षिक रूपमा पुरस्कार प्रदान गर्दै पर्या–अभियानलाई निरन्तरता दिइने विजय हितानले बताउनुभएको छ ।
विश्व वातावरण दिवस अवसर पारेर सरगम प्रकाशन प्रा.लि. तथा साहित्य पोस्टको सहयोगमा विश्व नेपाल साहित्य महासंघ आयोजनामा सम्पन्न कार्यक्रममा पुरस्कार वितरणका साथै पर्यावरण साहित्य सम्बन्धी विविध सेसनहरू रहेका थिए । सन् २०१६ देखि युकेमा रहेका नेपाली साहित्य संगठनको सहकार्यमा नियमित रूपमा हुँदै आएको वातावरण गोष्ठीलाई निरन्तरता दिँदै यस वर्ष पर्यासाहित्यमाथि चर्चा–परिचर्चा काठमाडाैंमा गरिएको हो ।
‘पर्या–साहित्य गोष्ठीमा भारत, भुटान र नेपालका विद्वानहरूले कार्यपत्र पेस गर्नुभएको थियो । साथै पर्या–साहित्यका सिद्धान्तकार तथा कार्यक्रममा विशेष सल्लाहकार डा. गोविन्दराज भट्टराईको विशेष उपस्थिति रहेको थियो ।
गोष्ठीमा भुटानका डा. शिवराज भट्टराई, नेपालका डा. नन्दिनी भेल्यो र सलिल सुवेदीको विशेष प्रस्तुति रहेको थियो ।
त्यसैगरी पर्यावरण साहित्यमा लेखिएका चार पुस्तक पर्या–साहित्य सिद्धान्त र सिर्जना, पृथ्वीका सुस्केराहरू, पर्या–प्रेमको गुञ्जन, ब्लु प्लानेट (अंग्रेजी संस्करण) को समेत विमोचन गरिएको छ ।
कार्यक्रममा नेपाली पर्या साहित्य प्रतिष्ठानको समेत घोषणा गरियो । प्रतिष्ठानलाई प्रा.डा. गोविन्दराज भट्टराईले एक लाख सहयोग गर्नुभएको छ ।
गोष्ठीमा पर्या–साहित्यका दुई शोधार्थीले आआफ्नो अनुसन्धान अनुभव सुनाउनुका साथै विभिन्न स्रष्टाहरूले पर्या–कविता वाचन गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

