
साहित्यपोस्ट पर्या-कविता प्रतियोगितामा डा. विप्लव ढकालको कविता ‘भ्यागुताको बिहे’ सर्वोत्कृष्ट घोषित भएको छ । साहित्यपोस्टमा प्रकाशित भएका पर्या–कविता (पर्यावरण कविता) हरुमध्येबाट पुरस्कृत गरिने पुरस्कारमा डा. ढकालको कविता सर्वोत्कृष्ट घोषित भएको हो ।
विजय हितानको संयोजकत्वमा साहित्यकारद्वय डा. देवेन सापकोटा र बिमला तुम्खेवा सम्मिलित तीन सदस्यीय निर्णायक समितिले ढकालको पर्या-कवितालाई सर्वोत्कृट घोषित गरेको हो ।
साहित्यपोस्टले गएको वर्षदेखि सुरू गरेको पर्या-साहित्य अभियानअन्तर्गत ०७९ चैतसम्ममा प्रकाशन भएका कविताहरूमध्येबाट सर्वोत्कृष्ट पर्या-कविताको छनौट गरिएको हो ।
ढकालले १५ हजार रूपियाँ राशिको पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नुहुनेछ ।
साहित्यपोस्टले ‘पर्यावरण साहित्य’लाई विशेष महत्त्वका साथ प्रकाशन गर्दै आएको छ । यसको सम्पादकका रूपमा पर्यावरण अभियन्ता विजय हितान रहनुभएको छ । यो पुरस्कारको प्रायोजन हितानले नै गर्नुभएको हो ।
हितानका अनुसार जेठ २७ गते आठौं वातावरण साहित्य गोष्ठीका अवसरमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा पुरस्कार हस्तान्तरण तथा सम्मान गरिनेछ ।
पढ्नुहोस् सर्वोत्कृष्ट कविताः
भ्यागुताको बिहे
– विप्लव ढकाल
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
सिमसारमा
बजिरहेको होला नौमती बाजा !
शिरमा बाबरी फूलको मुकुट लगाएर
पाल्कीमा चढिसके होलान् दुलाहा राजा !
जलकुम्भी झारको गुन्द्रीमा बसेर
जुहारी खेलिरहेका होलान्
आदिवासी चराहरु !
छमछम बजाउँदै भुइँफूलको पाउजु
उडिसके होलान् लोकन्ती भँवरा !
हिलोमा ‘ट्यार्र ! … ट्यार्र !!’
मङ्गल गीत गाउँदै
सङ्गीतका राजकुमारीहरुले
बोकिसके होलान् सगुनको थाली !
हे गाइने किरा !
अँधेरी खोलामा जानु छ मैले
सिमसारतिर जानु छ,
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
म एउटा बूढो शङ्खे किरा
अहिलेसम्म बाटोमै घस्रिरहेको छु !
मेरो वरिपरि बसेर
रोइरहेका छन् धानचरीहरु !
बाटो छेकेर उनीहरु
प्रश्न गर्छन् मलाई—
‘हामीले त रोपेका थियौँ
कलकलाउँदो धानको बोट,
तर आज खेतमा
कसरी फल्यो प्लास्टिकको चामल ?
गोठमा भैँसी दुहुन गएकी थिइन् राजमती
तर आज बाल्टीमा
कसरी भरियो कोकाकोलाको झोल ?
काउलीको फूलमा बसेको माहुरी
पातमाथि झर्छ किन ?
निधारबाट पसिना खस्दा
दुबोको मुना मर्छ किन ?’
हे दमाईं किरा !
गैरी खेतमा जानु छ मैले
तालतलैया जानु छ,
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
बारीभरि लटरम्म फलेका छन्
चाउचाउका प्याकेटहरु !
जङ्गलमा किन दुश्मनहरु रोइरहेछन् ?
चिम्सा आँखाहरु रोइरहेछन् कतै
चुच्चा नाकहरु रोइरहेछन् !
अङ्गोछा खोलेर रोइरहेछन् कोही
टोपी झिकेर रोइरहेछन् !
उनीहरुको आँसुमा भरिएको छ साइनाइड
उनीहरुको शरीरबाट
झरिरहेको छ अजिनोमोतो !
गोजीमा नागरिकता जस्तो सुसाइड नोट बोकेर
सिमाना काटी कहाँ हराए तिनका सन्ततिहरु ?
जलकुम्भीको आहालभित्र
को गर्दै छ भातको राजनीति ?
साइत नबिगार भन्छु
सुन्दै सुन्दैनन् उनीहरु !
हे फकिरा !
लेकैको कानेमा जानु छ मैले
औलको मानेमा जानु छ !
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

