देवचुली-१७ स्थित पिप्रहर सामुदायिक होमस्टेमा घडियाल काव्य उत्सवको दोस्रो संस्करण आज शुक्रबारदेखि सुरु भयो । पाँच वर्षअघि २०७५ सालमा घडियाल काव्य उत्सवको पहिलो संस्करण आयोजना गरेको स्थानीय ह्याप्पी एफएमले विषयवस्तु र मुद्दालाई परिस्कृत र परिमार्जित गर्दै दोस्रो संस्करण आयोजना गरेको हो । सन् १९७० देखि नै दुर्लभ मानिएको अति सङ्कटापन्न जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि घडियाल काव्य उत्सव-२०८० गर्न लागिएको एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले बताउनुभयो ।

देवचुली नगरपालिका मुख्य संरक्षक रहेको घडियाल काव्य उत्सव शुक्रबार र शनिबार गरी २ दिनसम्म चल्नेछ । कार्यक्रमलाई नेपाली कांग्रेसका नेता शशांक कोइरालाले बिहान ११:०० बजे उद्घाटन गर्ने बताइएको छ ।

`मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण विश्वबाटै लोप हुने अवस्थामा पुगेको अति संकटापन्न घडियाल गोहीको संरक्षणका लागि काव्य उत्सव गर्न लागिएको हो,´ प्रबन्ध निर्देशक कडरियाले भने, `पर्यापर्यटन, जैविक विविधता, दिगो पर्यटन, संरक्षण र सम्बर्द्धनका विविध आयामहरूलाई समेट्दै कार्यक्रम गर्नेछौं ।´

महेन्द्र राजमार्गको फारमबाट एक किलोमिटर दक्षिण नारायणी नदी किनारमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा शुक्रबार र शनिबार घडियाल काव्य उत्सवका विभिन्न ९ वटा सेसन हुनेछन् । उक्त सेसनमा घडियाल गोही, नारायणी नदी, चरा पर्यटन, संरक्षण शिक्षा, निकुञ्जको आवश्यकता र बाध्यता, प्रकृति र साहित्यको समिश्रण, देवचुली डाँडाको गौरवका बारेमा छलफल गर्दै काव्य वाचन गरिने कार्यक्रम रहेको छ ।

उत्सवमा आज पहिलो दिन शुक्रबार `सङ्कटमा घडियाल : लोभदेखि लोपसम्म´, `वेग र भेगको दोसाँधमा नारायणी´, `शिक्षाको संरक्षण कि संरक्षणका लागि शिक्षा´, `चराचरमा चरा´, `नवलपुरमा राष्ट्रिय निकुञ्ज आवश्यकता कि बाध्यता´ गरी ५ वटा कार्यक्रम आयोजना हुँदैछन् । त्यसैगरी दोस्रो दिन शनिबार `प्रकृतिसँग साहित्य´, `शिरको गाथा तीरको व्यथा´ र वैभवशाली देवचुली शीर्षकमा बहस तथा छलफलका कार्यक्रम हुनेछन् । सोही दिन बिहान ८ बजे काव्य वाचनको कार्यक्रम रहेको छ । काव्य वाचनमा गण्डकी प्रदेशसहित मध्यनेपालका १८ जना स्रस्टाले कविता वाचन गर्ने कार्यक्रम रहेको सहजकर्ता लेखराम सापकोटाले बताउनुभयो । कार्यक्रमको समापनमा जिल्लाका ८ वटै पालिकाका सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले बताएको छ ।

कार्यक्रममा डब्लुडब्लुएफ नेपालका प्रमुख डा. घनश्याम गुरुङ, पूर्वमन्त्री एवम् पानी विज्ञ गणेश शाह, वर्ड लाइफ इन्टरनेशनल एसिया पार्टनरसिप म्यानेजर डा. हुम गुरुङ, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल पुर्जा मगर, गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जि.सी, महनायक राजेश हमाललगायत विभिन्न स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा बहस हुनेछ ।

जिल्लाको पर्यटन प्रवर्द्धन र साहित्य विकासमा महोत्सवले सहयोगी भूमिका खेल्ने विश्वास लिएको ह्याप्पी एफएमका स्टेशन म्यानेजर आदर्श सुशीलले बताए ।