बोस्टन , अमेरिका / नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएका साहित्यकार दिनेश राजभण्डारीको बुधबार साँझ ८० वर्षको उमेरमा निधन भएको छ । कविता, गीत, कथा लगायतका विधामा सिर्जनरत राजभण्डारीका ३१ वटा कृति प्रकाशित छन् ।

डेढ दशकदेखि अमेरिकाको बोस्टनमा बस्दै आएका राजभण्डारी अनेसास बोस्टन च्याप्टरको कोषाध्यक्ष तथा सिर्जना उत्सव बोस्टनको संस्थापक सदस्य पनि थिए । हिमालयन्स लायन्स क्लब, बोस्टन र जिबिएनसीमा पनि संलग्न राजभण्डारी केही समयदेखि अस्वस्थ थिए। मास जनरल अस्पतालमा उपचार गरी नर्सिङ होममा स्वास्थ्यलाभ गराइरहनु भएको राजभण्डारी विहीबार घर फर्कने तयारी गरिरहनु भएको थियो ।

नेपालमा रहँदा रत्न रेकर्डिङ संस्थानमा रहेर काम गर्नुभएका राजभण्डारीका छोरा – छोरी नेपालमा रहे पनि उहाँ पत्नी आँशु राजभण्डारीसँग बोस्टनमा बस्दै आउनुभएको थियो । राजभण्डारीको पार्थिव शरीरलाई शनिबार बिहान १०:३० बजे बोस्टनको जमैका प्लेनमा रहेको फरेष्ट हिल्स दाहसंस्कार गृहमा अन्तिम संस्कार गरिने छ । उहाँको अन्तिम संस्कारका लागि सहयोग गर्न चाहनेहरूका लागि गोफण्डमार्फत सहयोग गर्न सकिने पनि पारिवारिक श्रोतले जनाएको छ ।

यसैगरी अनेसास बोस्टन च्याप्टर र हिमालयन्स लायन्स क्लबले पनि संस्थामार्फत सहयोग गर्न चाहनेहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ।