
मिरिक (दार्जिलिङ), चैत २६ / दार्जिलिङ जिल्लाको मिरिक नगरपालिकास्थित फुवागढी सार्वजनिक भवनमा साहित्य सुनौँ परिवार मिरिकको आयोजनामा स्रष्टा जिनर घतानीद्वारा लिखित पहिलो कृति ‘दृष्टिकोण’ कथा सङ्ग्रह सार्वजनिकीकरण गरियो ।
कहिले बालबालिका सम्बन्धी, कहिले नारी सम्बन्धी, कहिले नवप्रतिभा सम्बन्धी, कहिले अग्रजपुस्ता सम्बन्धी, कहिले स्रष्टा सम्बन्धी केही न केही साहित्यिक रचनात्मक क्रियाकलाप साहित्य सुनौँ परिवारले गरिरहेकै हुन्छ ।
यसै सन्दर्भमा यो कार्यक्रममा संस्थाका अध्यक्ष साहित्यकार राजबहादुर राईको अध्यक्षता, साहित्यकार जीवन लाबरको प्रमुख आतिथ्य, कवि मदन ओझाको विशिष्ट आतिथ्य तथा स्रष्टाहरू- पीएल जोशी, तेजमान बराईली, डा.साङ्मु लाप्चा, उर्मिला घिसिङ, शीला गुरुङ, हिरण लकान्द्री, विनेश प्रधान, पेमा लामा, ग्याल्बो लामा, एमएल दियाली, अमर दुङ्माली, सुदर्शन अम्बटे, डीपी सशांकर, अशोक सेन्चुरी, बीबी विश्वकर्मा, राधा रसाइली, विनय सेन्चुरी र रमेश गजमेर आदिको उपस्थिति थियो ।
संस्थाका पदाधिकारीद्वय अध्यक्ष राजबहादुर राई र सचिव शीला लामाले तोरण उठाएपछि शुरु भएको कार्यक्रममा मञ्चासिन अतिथिहरूको बाहुलीबाट विद्याकी देवी सरस्वतीको तस्विरमा पुष्पगुच्छासहितको दीप प्रज्ज्वलन गरी कार्यक्रमको घुम्टी खोलिएको थियो ।
कार्यक्रममा साई समिति फुवागढीका स-साना नानीहरू- मेघा खवास, दृष्य खवास, संस्कृति खवास, यूनिक सुब्बा, हृदय तामाङले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
त्यसैगरी रचनात्मक कृयाकलापअन्तर्गत शिवानी रसाइली र रोहिणी तामाङले नेपाली गीत प्रस्तुत गरे भने अजम प्रधान, साङ्मु लाप्चा, शर्मिला प्रधान, ऋृतु खवास, सुदर्शन अम्बोटे, सुनिता प्रधान, मनोहर शर्मा, विलास तामाङ, सञ्जित तामाङ, सन्ध्या सुब्बा र विनोद खातीले कविता वाचन र गणेश बराईलीले लघुकथा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शीला लामाले मिरिक क्षेत्रमा हुँदैआएका साहित्यिक गतिविधिहरूअन्तर्गत साहित्यिक कृतिहरूको नियमित प्रकाशन तथा सार्वजनिकीकरण भइरहनुलाई प्रगतिको सूचकको रूपमा लिइन् भने विशिष्ट अतिथि मदन ओझा, तेजमान बराइली तथा जीवन लाबरले कथाकार जिनर घतानीलाई सृजनशील शुभकामना व्यक्त गरे ।
जिनर घतानीको ‘दृष्टिकोण’माथि भूतपूर्व शिक्षिका उर्मिला घिसिङले संक्षिप्त परिचय दिएकी थिइन् भने कमला तामाङले कथाकारको परिचय राखेकी थिइन् ।
कार्यक्रमका अध्यक्षसमेत रहेका साहित्यकार राजबहादुर राईले कथाको सीप र शिल्पको बारेमा जोड दिए मात्र कथा कथाको रूपमा स्थापित हुने बताए ।
कार्यक्रमको अन्त्यमा लेखक परिवार घतानीपत्नी र छोरी डा.शुभेच्छा घतानीलाई नागरिक अभिनन्दन पनि गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

