जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले मान्छेको मुख थुन्नु हुँदैन सडक कवितावाचन कार्यक्रम सम्पन्न गर्ने भएको छ ।

पछिल्लो समय नेपालको संविधान विपरीत राज्य पक्ष तथा विविध पक्षबाट भए गरेका अराजक गतिविधिलाई निरुत्साहन गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको संस्थाका महासचिव मदन भण्डारीले जानकारी दिनुभयो।

संविधानले व्यवस्था गरेका स्वतन्त्रतालाई बन्देज गर्ने कसैको अधिकार नभएकाले त्यसको सांकेतिक विरोधका रुपमा कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारी बताउनु हुन्छ ।

पछिल्लो समय राज्यमा सुशासन र सुव्यवस्था कायम नहुँदा एकातर्फ स्वेच्छिक मृत्युवरण गर्ने शृङ्खला बढ्ने र अर्कातर्फ व्यवसायीहरूलाई प्रोत्साहनको नीति नहुँदा बेथिति बढेकाले स्रष्टाहरुको धर्म आफ्नो कलमद्वारा खबरदारी गर्नु रहेकाले कार्यक्रम आयोजना गरिएको संस्थाका मानार्थ संरक्षक विश्वमोहन गौचनको धारणा रहेको छ ।

संस्थाले राज्य निकायबाट हरेक खराब तथा महत्त्वपूर्ण निर्णय रातको १२ बजे गर्ने भएकाले शनिबार मध्याह्नको १२ बजे पृथ्वीचोकमा कार्यक्रम आयोजना गरिएको प्रवक्ता ताराबहादुर गुरुङले जानकारी दिनुभयो ।

उक्त सडक कवितावाचन कार्यक्रममा वाचित उत्कृष्ट रचनालाई संस्थाले आफ्नो मुखपत्रमासमेत प्रकाशन गर्ने जनाइएको छ ।