नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले लेख्नुभएको अन्तिम पुस्तक ‘नइ र मेरो शताब्दी’नामक निबन्ध कृतिको लोकार्पण गर्नुभयो ।

सो पुस्तकलाई जोशीको ज्येष्ठ पुत्र अणुराज जोशीले सम्पादन गर्नुभएको हो । उहाँले कार्यक्रममा बुवाको अन्तिम पुस्तक यस रूपमा ल्याउन पाएकामा खुसी व्यक्त गर्नुभयो ।

यसैगरी वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा काइँलाले प्रा.डा.वीणा पौड्यालबाट सम्पादित ‘नरेन्द्रराज प्रसाईको अन्वेषणमा ललित त्रिपुरसुन्दरी’ नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘मोदनाथ प्रश्रितः भुइँदेखि शिखरसम्म’ नामक जीवनी ग्रन्थको पनि लोकार्पण गर्नुभयो ।

यी तीन वटै कृति नइ प्रकाशनद्वारा प्रकाशित भएका हुन् । वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा डा.मोदनाथ प्रश्रित, प्रा.डा. वीणा पौड्याल, अणुराज जोशी, वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरी र सदस्य सचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रस्तुत भएको थियो ।

वानीरा फाउन्डेसनका कार्यक्रम संयोजक भगवती बस्नेतद्वारा सञ्चालित उक्त समारोह वानीरा फाउन्डेसन भवनमा सम्पन्न भएको थियो । नेपाली साहित्यको इतिहासमा जनस्तरबाट स्थापना भएको स्रष्टाको सङ्ग्रहालय वानीरा फाउन्डेसन नै पहिलो मानिन्छ । वैरागी काइँलाबाट फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको थियो ।