
सुनील उलक
हुन त अचेल नौलखा हारको अर्थ नौ लाख मूल्य पर्ने हार नै हुन्छ तसर्थ अचेल जो कोहीले पनि बनाउन सक्दछन् । तर जुन बेला यो नौलखा हारको नाम रहन गयो त्यो बेला भने यो बहुमूल्य थियो । जो कोहीको लागि किन्न वा बनाउन सम्भव थिएन । करिब २०० वर्ष अगाडि नौ लाख मूल्यको यो हार जङ्गबहादुरको समयमा नै करिब ९० लाखको थियो । तसर्थ अहिलेको तुलना गर्ने हो भने अनुमान नै गर्न सक्दैनौँ । यो अरबौं रुपैयाँ पर्न सक्छ ।

सुनील उलक
१७औं शताब्दीमा मराठा राज्यमा पेशवाहरू खानदानी प्रधानमन्त्री थिए । त्यतिबेला प्रधानमन्त्रीलाई पेशवा भनिन्थ्यो । र खानदानी रुपमा प्रधानमन्त्री हुँदै आएपछि पेशवा नै थरका रुपमा नै राख्न थाले । मराठा राज्यमा सन् १७२० मा बालाजी विश्वनाथ पेशवा बनेका थिए । यसपछि उनकै सन्तति पेशवाका रुपमा नियुक्त हुन थाले । उनकै सन्तति बाजीराव द्वितीय बाल्यकालमा नै पेशवा बनाइएका थिए । बाजीराव द्वितीय निःसन्तान थिए । बाजीरावको समयमा अंग्रेजले उनको जागीर मात्र होइन, मराठा राज्यको अस्तित्व नै समाप्त पारिदियो । तर पनि बाजीरावलाई मृत्युसम्म मासिक ८० हजार पेन्सन दिइरहे । तर अंग्रेजले धर्मपुत्रका हकमा यो नियम लागु गर्न चाहेन । नानासाहेबलाई भने बाजीरावले मराठा राज्यबाट निष्काशन भइसकेपछि मात्र पालेको धर्मपुत्र हुँदा उनलाई पेशवा मानेन । तर नानासाहेब आफैँ तथा रानी लक्ष्मीबाई तथा तात्या टोपेले पेशवाको रुपमा नायक बनाएर १८५७ मा कानपुरमा अंग्रेजविरुद्ध युद्ध लडे । यसमा अंग्रेजसँग हार भएपछि सबै भागाभाग भए ।
नानासाहेबको बाल्यकालको नाम भने धोन्दु पन्त थियो । अंग्रेजहरूले भारतमा आफ्नो शक्ति विस्तार गर्न थालिसकेका थिए । साना साना राज्यहरूमाथि आक्रमण गर्दै अंग्रेजले आफ्नो प्रभुत्व कायम गर्दै थिए । यसै क्रममा बाजीराव द्वितीय पेशवा हुने समयमा नै मराठा राज्यमा अंग्रेजले आक्रमण गरेपछि बाजीराव द्वितीय भागेर अर्कै राज्यमा शरण लिन पुगेका थिए । यहीँ नानासाहेबलाई धर्मपुत्रका रुपमा आफूसँग राखेका थिए । राज्य नभए पनि अंग्रेजले बाजीराव द्वितीयलाई पेन्सन उपलब्ध गराउँदै आएको थियो । सन १८५१ मा बाजीरावको निधन भयो । यिनै बाजीरावको नाममा उनकै जीवनमा आधारित एउटा फिल्मले निकै चर्चा पायो, बाजीराव मस्तानी । बाजीरावको निधनपछि उनका धर्मपुत्र नानासाहेबले आफैँलाई बिना राज्यको पेशवा घोषणा गरे । अंग्रेजले उनलाई पेशवाले पाउने पेन्सन दिन अस्वीकार गरे । किनकि नानासाहेव पुस्तैनी पेशवा परिवारमा जन्म लिएका थिएनन् । यही कारणले नानासाहेब अंग्रेजविरुद्ध युद्धको तयारीमा लागे ।
अंग्रेजबाट पेन्सन नपाएपछि नानासाहेब अंग्रेजविरुद्ध हतियार उठाउन थाले । सन् १८५७ मा भएको अंग्रेज विरुद्धको कानपुर विद्रोहमा तात्या टोपेको साथ लिएर नानाले नेतृत्व लिएका थिए । अंग्रेजले यो आन्दोलनलाई नराम्रोसँग दबाएपछि भागेका नानासाहेब लामो समयसम्म हराए । अंग्रेज सरकारले उनको खोजी निकै गर्यो । उनको टाउकाको मूल्य अंग्रेजले त्यो समय नै एक लाख राखेको थियो । उनलाई जिउँदो वा मृत शरीर लिएर आउनेका लागि एक लाखको पुरस्कार तोकिएको थियो । तसर्थ फकिर भएर गुमनाम भई लुकिछिपी हिँड्न थाले । सन् १८५८ को शिवरात्रिमा पशुपति दर्शका लागि हिँडेका योगीहरूको भिडमा छद्म भेषमा नानाका परिवार तथा सयौँ सिपाही नेपाल सीमामा प्रवेश गरे । यसरी नेपाल सीमा प्रवेश गरेका नानासाहेबले अचानक तत्कालीन श्री ३ जङ्गबहादुरलाई शरणका लागि अनुरोध गरे । जङ्गबहादुरले नाना तथा उनको साथ आउने सबैका लागि पहिरन तथा नेपाल प्रवेश गर्ने समय पनि तोकिदिएका थिए । सबैलाई संन्यासीको पहिरनमा आउन तथा शिवरात्रीका लागि नेपाल प्रवेश गर्ने हजारौँ संन्यासी योगीहरूको भिडमा नेपाल प्रवेश गर्न सुझाएका थिए । जसअनुसार संन्यासीको रुपमा त्रिवेणी पुगेका उनले परिवार र परिचारिकासहित नेपाल सरकारसमक्ष शरण मागे ।
सन् १८५७ को लखनउ विद्रोह दवाउन जङ्गबहादुर स्वयं अंग्रेजलाई सहयोग गर्न पुगेका हुनाले पनि १८५७ कै कानपुर विद्रोहका नायकलाई शरण दिन निकै अप्ठेरो परेको थियो । शुरुमा शरण दिन अस्वीकार पनि गरे तर नानाको साथमा आएको त्यो भिडमा अवधका बेगम हजरत महल तथा उनका छोरा र केही सहयोगीहरू पनि थिए । जङ्गले नानाका साथ आएका महिलाहरूलाई मात्र शरण दिन सक्ने जानकारी पठाए । जङ्गले चाहेको भए नानासाहेबलाई अंग्रेजलाई बुझाएर लाख पुरस्कार र अंग्रेजबाट अन्य सहयोग पनि पाउन सक्थे । तर उनले अंग्रेजलाई त्यो सहयोग नगरेर ढाँटे । यसको बदलामा नानासाहेबबाट लाखौँ मूल्यका जवाहरातहरु लिए । यसरी शरण स्वीकार गर्नुअगाडि बेगम हजरत महल तथा नानाका रानीहरूले धेरै जवाहरात जङ्गलाई उपहारमा दिएका थिए ।
कसैले दिएको उपहार स्वीकार गरी ती उपहार दिनेको चाहना पूरा गर्नुलाई आजको भाषामा घुस लिने भनिन्छ । तसर्थ जङ्गले त्यतिबेला घुस स्वीकार गरेका थिए । यसका साथै नानाका दाजुभाइलाई सुरक्षित राख्न पनि श्री ३ ले थुप्रै जवाहरात स्वीकार गरेका थिए । सक्कली नक्कली तथा मूल्य थाहा पाई बिक्री समेत गर्नका लागि जङ्गले दिल्लीबाट जवाहरात व्यापारीलाई समेत नेपाल बोलाएका थिए । त्यसबेला नानाको परिवार तथा हजरत महलबाट पाएको जवाहरात ती व्यापारीलाई बिक्री गरेका थिए । त्यसबेला जङ्गले बहुमूल्य नौलखा हार, पन्नाको ३ इन्च लामो नानासाहेबको सिल तथा अंगुरको झुप्पा भन्दा ठूलो पन्नाको झुप्पा भने बिक्री गरेनन् । ती बहुमूल्य सामग्री आफैसँग राखे । जङ्गले नानाको परिवारका खर्चका लागि सालाना ६-७ हजार कर उठ्ने दुई गाउँ पनि दिएका थिए ।
पेशवा खानदानको खानदानी गहना थियो नौलखा हार । शुरुमा बाजीराव प्रथमले हीरा मोती तथा पन्ना जडित बहुमूल्य हार बनाउन लगाएका थिए । पेशवाका रुपमा यो हार गलामा लगाएर दरबार पुग्दथे । उनको मृत्युपछि जो जो पेशवा बने, उनले यो नौलखा हार पनि जागीरसँगै पाउँदै गए । हरेक नयाँ पेशवाले यस हारमा जवाहरात थप्दै गएका थिए । जसले गर्दा यसको मूल्य अझै बढ्दै गयो । नानासाहेवको समयमा आइपुग्दा यो हारको मूल्य करिव ९० लाख पुगिसकेको थियो ।
सन् १८५७ को विद्रोहमा रानी लक्ष्मीबाई तथा भारतीय प्रथम स्वतन्त्रता सेनानी तात्या टोपेलाई आफ्नो साथ लिएर अंग्रेजविरुद्ध लडेका नानासाहेब भने कानपुरमा अंग्रेजको विजयसँगै हराए । उनका साथ लडेका तात्या टोपे अंग्रेजद्वारा समाइएपछि फाँसीको सजाय पाए । यसरी अंग्रेजले समाएमा मृत्युदण्ड पाउन सक्ने हुँदा नानासाहेब पेशवा गोप्य रुपमा कानपुरबाट भागेर नेपाल आइपुगेका थिए ।
यता नानासाहेव कानपुरबाट भागेर नेपालको त्रिवेणी हुँदै आउँदै गरेको खबर जङ्गबहादुरले पाएपछि आफ्ना कान्छो भाइ कृष्णबहादुर राणा तथा विशेष दूतका रुपमा केदार नरसिंह राणालाई लिन पठाएका थिए । नानासाहेव जब नेपाल प्रवेश गरे, उनका साथ उनकी विधवा धर्मआमा सरस्वती बाई, नानाकी रानी कृष्णा बाई र काशी बाई, काम गर्ने सेविका सुन्द्रा बाई (उनलाई काकु बाई पनि भनिन्थ्यो), भाइ बाला राव, तात्या टोपे, सेक्रेटरी अजिमुल्ला खान, बाबा गोडबोले, झन्नु सिंह, परशुराम जगमल तथा अन्य केही नोकरहरू आएका थिए । तर अंग्रेजहरूबीच एउटा हल्ला फैलिएको थियो, यिनीहरूका साथ केही अंग्रेज पनि थिए । तर पछि त्यहाँ रहेका सरकारी कर्मचारी नरसिंह पाध्याले सैनिक अफिसर सिद्दिमान सिंह राजभण्डारीलाई अंग्रेज महिलाहरूको भने हत्या भइसकेको समाचार पठाएका थिए । शरण माग्न ठूलै समूह आए पनि जङ्गबहादुरले अन्ततः महिला तथा परिचारिकालाई मात्र शरण दिन सक्ने जानकारी दिए । उनले सिद्धिमान सिंहलाई खबर पठाए, “नानासाहेव र बालासाहेबलाई भनिदिनू, म उनीहरूलाई शरण दिएर अंग्रेजसँगको सम्बन्ध बिगार्न चाहन्नँ ।”
यसरी खुला रुपले नानासाहेब र बालासाहेबलाई शरण नदिने भनिएपछि उनलाई छोड्न आएका अन्य सबै फर्किए तर सेक्रेटरी अजिमुल्ला खानका साथ नानासाहेब र बालासाहेब भने गएनन्, नेपालमा नै रहे ।
नानासाहेबले आफू ठूलो समूहका साथ आएको हुँदा खर्चको अभाव रहेको जानकारी दिँदै आफूसँग रहेको नौलखा हार बेच्ने मनशाय सिद्धिमान सिंहमार्फत गरेका थिए । पछि जङ्गबहादुरले नगद ९३ हजार रुपैयाँ मात्र दिन चाहेको जानकारी पाएपछि केही समय दोधारमा परे । तर आफ्नो खाँचो ठूलो भएको र त्यति धेरै रकम अरुले दिन नसक्ने सम्झी उनले सो नब्बे लाख भन्दा बढी पर्ने नौलखा हार जङ्गबहादुरलाई केवल ९३ हजार रुपैयाँमा नै दिएका थिए । नानासाहेबले आफ्नो लाहा छापको लागि बनाएको ३ इन्च लामो पन्ना पनि जङ्गबहादुरलाई नै दिए । यस बहुमूल्य हारलाई शिरोमणि हार भनिन्थ्यो । जसमा एकातर्फ नानासाहेबको छापको रुपमा नानाको घोडा चढेको आकृति कुँदिएको थियो । यसको साथै श्री ३ को श्रीपेचमा अंगुरका झुप्पा झै झुन्ड्याइएको पन्नाहरु पनि नानासाहेबले नै दिएका थिए ।
नानासाहेवले नेपालमा ल्याएका जवाहरातको सूची जुन सिद्धिमान सिंहले जङ्गबहादुरलाई पठाएका थिए । त्यसमा ४८ वटा मोती र २४ वटा पन्ना भएको नेकलेस तथा २ इन्च चौडा र ३ इन्च लामो हिरा पनि थियो । नेकलेसको बीचमा करिब आधा इन्चको चौकोर हिरा जडित थियो, जसको चारैतिर ३४ वटा साना साना हिरा जोडिएको थियो । साथै, साढे ३ इन्च लामो र २ इन्च चौडा अर्को एक हिरा जसको चारैतिर ३१ साना हिरा जडित थियो । त्यो पनि दिइएको थियो । अर्को एक इन्च चतुराकारको हिरा पनि थियो । यी सबै हिरा जवाहरात नानासाहेबले नेपालमा शरण पाउनका लागि जङ्गबहादुरलाई घुसका रुपमा दिएका थिए ।
भारतमा रहेको अंग्रेज सरकारको विरोधका कारण जङ्गबहादुरले बाहिर देखिने गरी नानासाहेबको विधवा धर्म आमा, दुई रानी तथा तथा अन्य परिचारिका महिलालाई काठमाडौँमा आउन अनुमति दिए तर नानासाहेबलाई भने काठमाडौ आउन दिएनन् । तर भित्र गोप्य रुपमा नानासाहेब नेपालभित्र नै रहन छुट दिए । थापाथली दरबार नजिकै एक घर भाडामा लिएर शरणागत महिलाहरूलाई बस्ने प्रबन्ध मिलाए । साथै सो घरको भाडाबापत मासिक ४०० रुपैयाँ पनि जङ्गबहादुरले नै व्यवस्था गरिदिएका थिए । लखनउ विद्रोहमा पकडाउ परेका बेगम हजरत महल, नवाव बिरजिस कद्रका साथ नानासाहेबसँग आएका उनका आमा, दुई रानी तथा परिचारिकालाई जङ्गबहादुरले शरण दिए । नानासाहेबको परिवार तथा बेगम हजरत महललाई पनि थापाथली नजिकै बस्ने व्यवस्था मिलाइदिएका थिए ।
नानासाहेब र बालारावलाई अंग्रेजले सुम्पन जङ्गबहादुरसमक्ष आग्रह गरे । तर जङ्गले यी दुईलाई अंग्रेज सरकारसामु सुम्पनु भन्दा सुरक्षित लुकाउन मद्दत गरे ।
नानासाहेब, बालासाहेब तथा अजिमुल्ला खान भने गोप्य रुपमा योगीको भेषमा नेपालमा नै रहे । समय समयमा थापाथली आएर धर्म आमा तथा रानीहरूलाई भेट्दथे तर जङ्गले थाहा नपाएझैँ गरिरहन्थे । नानाकी कान्छी रानी काशी बाई जम्मा २४ वर्षकी थिइन् । उनैका कारण जङ्गले आफ्नो दरबार नजिकै नानासाहेवको परिवारका लागि घर खोजिदिएका थिए । नानासाहेबको मृत्यु भइसकेको भए पनि काशी बाईले विधवा स्वरुपमा बसिनन् । कतै कतै काशी बाईलाई नानाको भाइ बाला रावको रानी पनि भन्ने लेखिएको छ ।
नानासाहेबबाट विभिन्न जवाहरातहरू घुस बापत पाएको हुँदा जङ्गबहादुरले नानासाहेबलाई सुरक्षित राख्ने व्यवस्था गोप्य रुपमा मिलाइदिएका थिए । शुरुमा अंग्रेजबाट उपहारमा पाएको चार जिल्लाको नयाँ नेपालमा नै लुकाइराखेका थिए । पछि अंग्रेजका दूतहरु समय समयमा बाँके आइरहने तथा जङ्गले बाँकेमा नयाँ शहरका रुपमा नेपालगञ्ज बनाउन लागेका हुँदा पनि त्यहाँ लुकाएर राख्न उचित नठानी दाङमा पठाउने सोच बनाएका थिए । त्यसका लागि आफ्नो विश्वासपात्र सिद्धिमानसिंह राजभण्डारीलाई दाङको बडाहाकिम बनाइपठाए । त्यहीँ नानासाहेबलाई पनि गोप्य रुपमा बस्ने सिद्धिमान सिंहले नै व्यवस्था मिलाइदिएका थिए । नानासाहेबले गोप्य रुपमा ३०० सिपाहीहरूलाई सुरक्षाका लागि पनि राखेका थिए । नाना तथा ती सबै सिपाहीहरू संन्यासीका रुपमा बसेका थिए । नानासाहेबका साथै उनका भाइ बाला राव पनि नेपालमा रहेको जानकारी गोप्य रुपमा अंग्रेजलाई थियो । तर जङ्गबहादुरले दाङको भित्री क्षेत्रमा गोप्य रुपमा सुरक्षित बस्न दिएका थिए । १९१६ साल जेठ (सन् १८५९ जुन) मा दाङबाट सरदार सिद्धिमान सिंहले जङ्गबहादुरलाई पत्र लेखेर नानासाहेवको भाइ बाला रावले आफ्नो परिवारलाई जङ्गबहादुरको शरणमा छोडेर जाने चाहेको कुरा लेखे । तर जङ्गले अस्वीकार गरे । यसको केही समयपछि बाला रावको पश्चिम नेपालमा रहेको समय देहान्त भयो । त्यति बेला नै जङ्गबहादुरले नानासाहेबको जङ्गलमा शिकारको क्रममा बाघको आक्रमणबाट मृत्यु भएको समाचार फैलाइयो । तर वास्तविकता कसैलाई पनि ज्ञात रहेन । विधवा आमाले कृयाकर्म गर्न खर्च नभएको भन्दै केही गहना १० हजार रुपैयाँमा बेचिन् । वि.सं. १९१६ कार्तिक २१ गते जङ्गबहादुरको सहयोगमा निधारको एक हड्डी जो नानासाहेवको हो भनिएको थियो, लाई चितामा राखेर अत्येष्टि गरियो ।
उता नानासाहेबको मृत्यु भएको भनी अन्त्येष्टि समेत गरिएको भए पनि काशी बाईले रातो साडी र निधारभरि टीका लगाउन तथा रातो चुरा लगाउन छोडिनन् । अर्कोतर्फ जङ्गले काशी बाईलाई गोप्य रुपमा पत्नी बनाए भनी हल्ला पनि चलेको थियो । उनको घरमा जङ्गबाहेक कसैलाई जाने अनुमति थिएन । काशी बाईको घर, बेगम हजरत महलको घर तथा पञ्जावकेशरी महाराजा रञ्जित सिंहकी विधवा जिंद कौर बस्ने घर नजिक नजिक नै थियो । सन् १८६० मे ७ मा थापाथली दरबार नजिकै बसिरहेका बेगम हजरत महल, काशी बाई तथा कृष्णा बाईले जङ्गबहादुरलाई किस्तीहरु भरिभरि सुन, हिरा, मोती तथा पन्ना इत्यादि जवाहरातहरू नजराना चढाएका थिए ।
सन १८६१ फेब्रुवरीमा जिंद कौर कलकत्तामा आफ्नो छोरालाई भेट्न फर्केपछि जिंद कौर बस्ने थापाथलीको घर काशी बाईलाई जङ्गबहादुरले दिएका थिए । बेगम हजरत महललाई पनि थापाथली दरबार नजिकै नै बस्ने घर बनाइदिएका थिए । जुन घरलाई बरफ बाग भनिएको थियो । सन् १८७३ मा हजरत महलको निधन भएपछि घन्टाघर नजिकै रहेको जामा मस्जिदमा कब्र बनाएर गाडियो । उनको महल बरफ बाग भने जङ्गको थापाथली दरबारभित्र नै समाहित भयो । छोरा नवाव बिरजिस कद्रलाई रानी भिक्टोरियाले क्षमा दिएपछि फर्केर कलकत्ता गए, त्यहाँ उनकै आफन्तबाट हत्या भयो ।
यता जङ्गबहादुरले नानासाहेबको मृत्युको झुठो समाचार प्रमाणित गर्न बिस्तारै सक्षम हुँदै गए । नेपालमा रहेको बेलायती रेसिडेन्ट ले.क. जर्ज रामसेले बेलायत सरकारलाई पत्र लेखेर नानासाहेबको मृत्यु भएको समाचार पठाए । यसरी सरकारी रुपमा नानासाहेबको मृत्युको झुटो समाचार फैलाएर जङ्गबहादुरले नानासाहेबलाई नेपालमा नै रहने व्यवस्था मिलाइरहे । त्यस्तै उनका सेक्रेटरी अजिमुल्ला खानको पनि बि.सं. १९१६ को मंसिरमा नै बुटवलमा देहान्त भएको खबर अंग्रेजलाई पठाइसकेका थिए ।
यसरी नानाको मृत्यु भइसकेको समाचार व्यापक गरी अन्त्येष्टिसमेत गरेको ६-७ वर्षपछि काशी बाईका बाबु नेपाल आए । छोरीलाई भेटेपछि छोरीको पहिरन देखेर आश्चर्यचकित भएका थिए । उनमा विधवाको स्वरुप कत्ति पनि थिएन । निधारमा सिन्दुर, हातमा चुरा, आँखामा चमक उस्तै देखे । बाबुलाई काशी बाईले आफ्नो पतिको निधन नभएको जानकारी दिएका थिए । काशी बाईलाई भेट्न नाना हरेक साल शिवरात्रिको समय थापाथली पुग्दथे । केही समय उनको साथ बसेर फेरि गुप्तवासतर्फ लाग्दथे ।
४२ साल पर्वपछि बि.सं. १९४२ को कार्तिकमा जनरल केदारनरसिंह राणा काठमाडौँबाट लखेटिए । नानासाहेबका साथ केदारनरसिंहको राम्रो सम्बन्ध थियो । तसर्थ उनले लेखापढी गरी कागजपत्र मिलाई फर्जी नाम राखेर फकिरका रुपमा बि.सं. १९४४ मा इलाहावाद लिएर गए । इलाहावादमा केदारनरसिंहका साथ नानासाहेब करिव ७ वर्ष फकिरका रुपमा रहे । धेरैपछि उनको निधन भएको समाचार केदारनरसिंह राणाले वीरशम्शेरलाई दिएका थिए । सन् १९७० मा केही डायरी तथा चिट्ठीहरू भेटियो, जसका अनुसार नानासाहेबले आफ्नो छद्म नाम योगिन्द्र दयानन्द महाराजका रुपमा भारतकै विभिन्न शहरमा लुकिछिपी बसिरहेका थिए । यसरी लुक्दै छिप्दै बसेका नानासाहेवको बि.सं. १९६० तिर गुजरातमा निधन भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

