मोराशको उपन्यास सलिजो प्रकाशन नेपाली साहित्यमा एउटा अत्यन्त महत्त्वपूर्ण फड्को मानिएको छ, किनभने यसअघि यसप्रकारको नौलो विषयमा फाट्टफुट्ट एकाध लेख प्रकाशित भए पनि सिङ्गो उपन्यास लेखिएको थिएन । यो उपन्यास समलिङ्गी जोडीको प्रेम, विवाह र हाम्रो रूढिवादी समाजमा उनीहरूले भोग्नुपरेको समस्यामा केन्द्रित रहेको छ । सामाजिक परम्पराले घृणा गरेर वर्जन गरेको विषयलाई टिपेर त्यसको आधारमा सिङ्गो उपन्यास नै लेखेर मोराशले अत्यन्त साहसिक काम गरेका हुन्, भनौँ उनले हाम्रो सामाजिक र धार्मिक परम्परालाई चुनौती दिएका छन् ।
यस उपन्यासको विषयमात्र नौलो छैन, यसको उपस्थापन र प्रस्तुतिमा पनि लेखकले नवीन शैली अपनाएका छन् । छोटा छोटा वाक्यको सुरुवात नै आकर्षक लाग्छ, जस्तै—-
एउटी तरुनी केटी ।
ऊ बेहुली हो ।
अर्की तरुनी केटी ।
ऊ बेहुला हो ।
बेहुलीका हातमा वरमाला छ ।
बेहुलाका हातमा फूलमाला छ ।
बेहुलीले बेहुलालाई माला पहिराउँछे ।
बेहुलाले बेहुलीलाई माला पहिराउँछ ।
बेहुलाले मायालु लवजमा वाचा गर्छ, ‘आजदेखि म तिमीलाई जीवनसाथी स्वीकार गर्छु ।‘ उत्तिकै मायालु लवजमा बेहुलीले वाचा गर्छे, ‘म तिमीलाई जीवनसाथी स्वीकार गर्छु ।‘
यस उपन्यासको शीर्षक ‘सलिजो’, शब्दकोशमा नभएको शब्द हुनाले अनौठो लाग्छ । सम लिङ्गी जोडी — यस पदावलीका तीनवटा शब्दका प्रथम अक्षर ‘स’, ‘लि’ र ‘जो’लाई जोडेर लेखकले नयाँ शब्द ‘सलिजो’ निर्माण गरेका छन् र त्यसलाई उपन्यासको शीर्षक बनाएका छन् ।

ज्ञानबहादुर छेत्री (असम, भारत)
उपन्यासको पृष्ठभूमि काठमाडौँ सहर रहेको छ । उपन्यासका प्रमुख पात्र दुई उच्च शिक्षित युवती रूपा र ज्वाला हुन् । ती दुवैको पुरुषप्रति अविश्वास र घृणा
भाव छ । उनीहरूको पुरुषप्रतिको विद्वेषभावना बाल्यकालमै जन्मियो र त्यो मस्तिष्कमा जरा गाडेर बस्यो । छोरी जन्मिई भनेर ज्वालालाई उसको बाबुले अनाथ आश्रममा छोडेर आएको थियो भने रूपाले बाल्यकालमा उसको मामाको घरछेउमा एकजना पुरुषले उसकी स्वास्नीलाई निर्मम पाराले कुटेर हत्या गरेको देखेकी थिई । छोरी जन्माएको कारणले कुटेर मारेको भन्ने हल्ला भएको थियो । बाल्यकालमै एकदिन उसले आमालाई भनी, “आमा, म केटासँग बिहे गर्दिन । म केटीसँग बिहे गर्छु ।“
पछि शिक्षा समाप्त गरेर रूपा सहरको एउटा नामी अङ्ग्रेजी स्कुलमा शिक्षिकाको काम गर्न थाल्छे भने ज्वाला पनि त्यही सहरमा बैङ्कमा जागिरे हुन्छे । एकै उमेरका दुई युवतीको भेट हुन्छ र उनीहरू एउटै फ्लेटमा बस्न थाल्छन् । यसरी उनीहरूको मित्रता गहिरिँदै प्रेममा परिणत हुन्छ र एकदिन एउटा मन्दिरमा गएर उनीहरूले विवाह गर्छन् ।
एक कान दुई कान मैदान । रूपा र ज्वाला नाम गरेका दुई युवतीले बिहे गरे भन्ने हल्ला फिँजियो । उनीहरूको जीवनमा एकपछि अर्को समस्या आइलागे । रिन तिर्न नसकेर बाबु-आमाले छोरी दिन्छु भनेर कबुल गरेको हुनाले रवि नामको एउटा गुण्डा केटाले रूपालाई सताउन थाल्यो । रूपाका बाबु-आमा छोरीले केटीसँग बिहे गरेको सुनेर उसले काम गर्ने स्कुलमा हाजिर भए । स्कुल कर्तृपक्षले पनि छात्रछात्राहरूमा त्यसको कुप्रभाव पर्ने डरले रूपालाई हटाउने प्रस्ताव त्याउँछ । उता ज्वालाको बैङ्कमा डकैति हुन्छ र उसलाई डाँकुहरूले अपहरण गर्छन् । सामूहिक बलात्कारको सिकार हुन्छे ज्वाला ।
डाइमन नाम गरेको तेस्रो लिङ्गी ट्याक्सी ड्राइभरले ज्वालालाई मृतप्रायः अवस्थामा भेटेर अस्पतालमा भर्ना गराउँछ । डाइमनको बोलचालको आफ्नै विशिष्ट शैली छ ।
डर देखाउनु, निलम्बन, अपहरण, बलात्कार, अपमान आदि एकपछि अर्को समस्यै समस्या ओइरिँदा पनि त्यो समलिङ्गी जोडीको नाता अटुट रहन्छ । शेषमा, रविले फेरि पनि रूपालाई घिस्याएर लाने दुष्प्रयास गर्छ तर ज्वालाको खुकुरीको प्रहारसँगै दृश्य स्थिर हुन्छ र उपन्यास पनि यहीँ टुङ्गिन्छ ।
उपन्यासकारले त्यसो गर्नुको कारण उल्लेख गरेका छन्—– मैले यो उपन्यासको अन्त्य त्यहाँ गरेको
छु, जहाँ सङ्घर्ष आरम्भ हुन्छ । … मेरा विचारमा महत्त्वपूर्ण कुरा सङ्घर्षका लागि तत्परता र कटिबद्धता हो, त्यसको दाँजामा परिणाम कम महत्त्वपूर्ण हुन्छ ।…मैले सङ्घर्षलाई बढी महत्त्व दिने उद्देश्यले र परिणामबारे तपाईँहरूका सोचाइमा हस्तक्षेप नगर्ने ध्येयले उपन्यासलाई यसरी अनिर्द्धारणमा टुङ्ग्याएको छु ।
ड्युक विश्वविद्यालयकी प्रोफेसर कोसोस्की सेज्विक र केलिफोर्निया विश्वविद्यालयकी प्रोफेसर जुडिथ बटलरले सन्दिग्ध सिद्धान्तको विकास गरेका हुन् । यो एउटा वर्णपट जस्तो हो जसमा साहित्यिक पाठ पालेर अध्येताहरूले जाँच गर्छन् । सन्दिग्ध सिद्धान्तकारहरू समलिङ्गी र विषमलिङ्गीको परम्परित परिभाषालाई घृणाको दृष्टिले हेर्छन । स्त्री र पुरुषलाई छुट्याउने कुनै ठोस सीमारेखा छैन भन्ने उनीहरूले तर्क दिएका छन् । इतिहासकार फुकोको अवधारणालाई अघि सार्दै उनीहरू भन्छन्— लैङ्गिकतामा कतिपयले विपरीतलिङ्गी सङ्गीलाई अग्राधिकार दिन्छन् भने कतिपयले लैङ्गिकतामा दुवै लिङ्गीबाट सङ्गीको चयन गर्दछन् । लैङ्गिकताका परिभाषा १९औँ शताब्दीदेखि मात्र कठोर भएका हुन्, अनि त्यो कठोरताका साथ भय, चिन्ता र समलिङ्गी भीति जस्ता प्रवृत्तिहरू पनि तीव्र भएका हुन् भन्ने उनीहरूको ठहर छ ।
पाश्चात्य साहित्य र समालोचनामा समलिङ्गीहरूको विषयमा चिन्ता चर्चा हुन थालेको त्यस्तै तीन दशक भएको छ । नारीवादी कतिपय लेखकहरूले नारीहरू स्वतन्त्र हुन नसक्नुको मुख्य कारण पुरुषको अथोरिटी हो भन्ने ठहर गरे । धर्म, कानून, नैतिकता, सामाजिक परम्परा आदि सबै व्यवस्थामै उनीहरूले पुरुषको आधिपत्य देखे । कतै पनि कोही पनि लिङ्ग निरपेक्ष छैन । यही वैचारिक आधारमा पुरुषबाट छुट्टिएर एक्लै बस्ने अथवा नारी नारीमात्र वैवाहिक सम्बन्धमा गाँसिने परम्पराको सुरुवात भयो ।
एउटी नारीका यौनिक इच्छाहरू नारीतिरै आकर्षित हुन्छन् भने अथवा नारीबाटै ती इच्छाको तृप्ति खोजिन्छ अथवा पाइन्छ भने त्यस्तालाई स्त्री समलिङ्गी (लेज्वियन) भनिन्छ । उसरी नै पुरुषको पुरुषसँग हुने रतिरागात्मक सम्बन्धलाई पुरुष समलिङ्गी (गे) भनिएको छ । ती बाहेक अरू तेस्रो लिङ्गीहरू आफूलाई पुरुष अथवा स्त्री भनेर व्याख्या गर्नुभन्दा परोक्ष (ननस्ट्रेट) शब्दले चिनाउँछन् । परिवर्तित लिङ्गी (ट्रान्सजेन्डर) श्रेणी पनि छ । पुरुष समलिङ्गी, स्त्री समलिङ्गी र भिन्न यौनिक परिभाषा खोज्नेहरू र त्यस्ता व्यक्तिहरूले गरेको सिर्जना वा त्यस्ता व्यक्तिहरूका बारेमा गरेको सिर्जनालाई समेटेर नयाँ साहित्य सिद्धान्त क्वीर थ्योरी (Queer Theory) विकसित भएको छ । यस सिद्धान्तले स्त्रीलिङ्गी र पुलिङ्गी भन्दा भिन्न, समाजले नस्विकारेको, अप्राकृतिक ठानेको, अनैतिक भनेर सोचेको, लिङ्गता सन्दिग्ध र अनिर्णित रहने वर्गको सोच, विचार र व्यवहारलाई सिर्जनामा अभिव्यक्त गर्दछ, व्याख्या विश्लेषण गर्दछ ।
अङ्ग्रेजी ‘क्वीर’ शब्दको अर्थ हुन्छ अनौठो, नमिल्ने, सन्दिग्ध आदि । डा. गोविन्दराज भट्टराईले क्वीर थ्योरीलाई सर्वप्रथम सन्दिग्ध सिद्धान्त नामले नेपाली साहित्यमा भित्र्याएका हुन् । सन्दिग्ध सिद्धान्तका आधारमा साहित्य कृतिको समीक्षा र मूल्याङकन गर्ने पहिलो समालोचक डा. भट्टराई नै हुन् । (हेर्नू सलिजोको भूमिका) ।
विषयवस्तुको विविधता र प्रस्तुतिकरणको नवीनता समकालीन विश्वाख्यानको मूलाधार हो । नवीन साहित्य सिद्धान्तका आधारमा रचित मोराशको उपन्यास सलिजोले समकालीन विश्वाख्यानमा नेपाली साहित्यको सशक्त प्रतिनिधित्व गरेको छ । सलिजो एक नवीनतम उपन्य़ास हो – मोराशको गद्याख्यानको उत्कर्ष, एक साहसिक कदम, समयको वाणी र नवीन प्रयोग । यो संसारलाई जोगाउने तत्त्व केवल प्रेम हो । यो प्रेम यौवनावस्थाको शारीरिक सम्पर्कमात्र होइन । यो त सबै सङ्कीर्णता भत्काएर विश्वास, भरोसा र समर्पणको महासागरमा मिसिने अनन्त र अमर प्रेम हो । ज्वाला र रूपाको प्रेमले त्यही सन्देश दिएको छ ।
यस उपन्यासका लेखक मोहनराज शर्मा(१९४०-२०१९) नेपाली साहित्यका ख्यातिप्राप्त समालोचक हुन् । उनले बनारस हिन्दू विश्वविद्यालयबाट इतिहासमा र त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर डिग्री लिएका हुन् । नाटककार, निबन्धकार, आख्यानकारका रूपमा स्थापित मोराशले त्रिविमा प्राध्यापकका रूपमा शिक्षादान गरेर सेवावकाश लिए । नेपालीका केही आधुनिक साहित्यकार, नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, कथाको विकासप्रक्रिया, शैली विज्ञान, सलिजो आदि उनका मौलिक कृति हुन् भने मायाविनी सर्सी, नेपाली हास्यव्यङ्ग्य कविता, बङ्लादेशका समकालीन कथा सम्पादित कृति हुन् ।
QUEER THEORY
** (Eve Kosofsky Sedgwick, Prof of Duke University & Judith Butler, Prof of California University)
Queer theory, which Ms. Sedgwick developed along with Judith Butler, a professor at the University of California, Berkley, is a prism through which scholars examine literary texts. Queer theorists scorn traditional definitions of ‘homosexual’ and ‘heterosexual’. There is no strict demarcation between male and female, they argue. Instead, queer theorists say, taking their cue from the historian Michel Foucault, sexuality exists on a continuum, with some people preferring sex partners of the opposite sex, others preferring partners of both sexes. Only since the 19th century, queer theorists argue, have sexual definitions become rigid. And along with this rigidity, they say, has come anxiety, panic and intensifying homophobic attitudes.



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
