एक लाख ५० हजार राशिको ‘साहित्यपोस्ट पुरस्कार २०८१’ का लागि पुस्तक आह्वान गरिएको छ । साहित्यपोस्टले काव्य, आख्यान र गैरआख्यान तीन विधामा तीन नवोदित लेखकका सर्वोत्कृष्ट कृतिलाई प्रदान गर्ने सम्मानका लागि पुस्तक आह्वान गरेको हो ।

काव्यका लागि ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’, आख्यानका लागि ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ तथा गैरआख्यानका लागि ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ नामका विधागत रूपमा प्रदान गरिने यी सम्मानको पुरस्कार राशि ५०–५० हजार रुपियाँ रहेको छ ।

०८१ सालभित्र आफ्नो पहिलो पुस्तक लेखेर नेपाली साहित्यमा औपचारिक पाइला चालेका लेखक–कवि यी पुरस्कारको हकदार बन्नेछन् । पुरस्कारका लागि ०८१ सालमा प्रकाशित भएका पहिलो कृति पठाउन साहित्यपोस्टले लेखक तथा प्रकाशकहरुमा आव्हान गरेको छ ।

उक्त कृतिहरू ०८२ साल वैशाख ७ गतेभित्र साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराउनुपर्ने छ । समयसीमा नाघी प्राप्त हुन आउने कृतिहरूलाई पुरस्कारका लागि समेट्न नसकिने साहित्यपोस्ट व्यवस्थापन विभागले जनाएको छ ।

०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रकाशनमा आएका कवि–लेखकको पहिलो, मौलिक र एकल कृतिलाई यो सम्मानमा समावेश गरिनेछ ।  पुरस्कारका लागि पुस्तक दर्ता शूल्क लाग्ने छैन, तर लेखक वा प्रकाशकले पहिलो र मौलिक कृति प्रकाशन भएको सही जानकारीसहित तीन प्रति कृति सहित्यपोस्टको कार्यलयमा उपलब्ध गराउनु पर्नेछ ।

‘पहिलो पुस्तक’लाई लिएर साहित्यकार तथा प्रकाशकहरूमा केही द्विविधा देखिएकाले विषयगत रूपमा  पहिलो नभएर ‘लेखकको लेखनकै पहिलो पुस्तक’ हुनुपर्ने समेत साहित्यपोस्ट व्यवस्थापन विभागले प्रस्ट पारेको छ ।

‘पुराना लेखक–कविलाई सम्मान गर्न धेरै पुरस्कार र सम्मानहरू छन्, तर नवोदित लेखकका रचनालाई स्थान दिने तथा उनीहरूलाई सम्मान गर्ने संस्था र सञ्चारमाध्यमहरू हामीकहाँ विरलै छन् । यही सत्यलाई स्वीकार्दै ०७७ सालबाट साहित्यपोस्टले यो अभियान शुरु गरेको हो ।’, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्छन्, ‘लेखक-कवि तथा प्रकाशकहरूले समयमै पुरस्कारको मूल्यांकनभित्र पर्ने पुस्तकहरू उपलब्ध गराई नवोदित लेखकलाई हौसला प्रदान गर्ने साहित्यपोस्टको अभियानमा सहयोग पुर्याइदिनुहुन अनुरोध गर्दछु ।’

व्यवस्थापन विभागका अनुसार वर्षभरि प्रकाशनमा आएका काव्य (कविता, गजल, मुक्तक, हाइकु, बाछिटा आदि) सङ्ग्रहबाट एकजना कवि; आख्यान (कथा, उपन्यास, नाटक, लघुकथा आदि) सङ्ग्रहबाट एकजना आख्यानकार तथा गैरआख्यान (निबन्ध, नियात्रा, नेपाली भाषा साहित्यसम्बन्धी अध्ययन–अनुसन्धानात्मक कृतिहरू आदि) बाट एकजना गरी तीन जना नवोदित स्रष्टालाई ५०–५० हजार राशिको नगद पुरस्कारसहित सम्मान गरिनेछ ।

यस वर्षका लागि काव्य, आख्यान र गैरआख्यान पुरस्कारको प्रायोजन क्रमशः गीतकार एवं कवि उत्तम भौकाजी, साहित्यकार चैतन्य अधिकारी तथा कवि एवं समालोचक विनयकुमार भण्डारीले गर्नुभएको छ ।

पुरस्कारको पहिलो सर्टलिस्ट ०८२ साल वैशाख १७ गते सार्वजनिक गरिने छ । लेखक एवं प्रकाशकहरूले साहित्यपोस्टको कार्यालय अथवा ९८४९८६०८२७ वा ९८५१०९७८८८ मा सम्पर्क गरेर नयाँ पुस्तक एवं नवलेखक सम्बन्धी जानकारी गराइदिनु हुन साहित्यपोस्ट व्यवस्थापन समितिले अनुरोध गर्दछ ।

साहित्यपोस्ट शुरु भएको पहिलो वार्षिक उत्सवमा एक जना नवोदित लेखकलाई सम्मान गरी यो अभियानको शुरूवात गरिएको थियो । यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई ५० हजार नगद राशिसहित ताम्रपत्र प्रदान गरिएको थियो ।

दोस्रो वर्ष (०७८) ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो ।

तेस्रो वर्ष अर्थात् वि.स. २०७९ बाट विधागत रूपमा तीन विधा (काव्य, आख्यान र गैरआख्यान) का उत्कृष्ट तीन नवोदित लेखकलाई सम्मान गर्न थालिएको हो । ०७९ का लागि काव्यतर्फ गजलसङ्ग्रह ‘मफलरका लागि प्रदीप रोदन, आख्यानतर्फ उपन्यास ‘यशोधरा’का लागि हरिबोल काफ्ले तथा गैरआख्यानतर्फ संस्मरण ‘मुटुसँग सहयात्रा’का लागि डा. अवनिभूषण उपाध्यायलाई क्रमशः ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’, ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ प्रदान गरिएको थियो ।

त्यस्तै, अघिल्लो वर्ष ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ कवि देवव्रतको कविताङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ सागर खड्काको उपन्यास ‘राइपाली भञ्याङ’ र ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ उमाकान्त पौड्यालको अनुसन्धानमुलक कृति ‘बुद्धकालीन समाज’लाई प्रदान गरिएको थियो ।