
– राजु झल्लु प्रसाद
म लेख्दै छु तर, मलाई थाहा छ, ‘मलाई यतिखेर इन्स्टाग्राम रिल्स वा टिकटक घिसारिरहन मन लागेको छ ।’ तर, खुल्बिन्दाङ कुरा के छ भने, म लेख्दै छु । किन लेख्दै छु भन्दा, इन्स्टाग्राम रिल्स वा टिकटक घिसार्ने मेरो आदतलाई यतिखेर ‘मुला’ भन्दिन मन लागेको छ । यो लेखुन्जेलको समयमा, सामाजिक सञ्जालको ‘जानकारी प्रशोधन एवं भण्डारण’ गर्न झ्याउ लागिरहेछ । त्यो झ्याउलोमा फस्न मन लागिरहेछैन । बरु, यस्तायस्तै गलफती गरेर, छेउमा सेलाइरहेको कालो कफीलाई मुखमा कुल्ला गरिरहन मन लागिरहेछ ।
त, सोही गरौँ- मुख कुल्ला गरौँ ।
***
‘सोसल मिडियाबाट डिटक्स हुन्छु भनेको कन्टेन्ट नै सोसल मिडियाको ट्रेन्डिङमा छ ।’, विजय (लूइटेल) ले फ्याट्ट भन्यो ।
‘त्यो भनेको के ?’, मैले पनि च्याट्ट सोधेँ । विपना (अधिकारी) तिर पुलुक्क हेरेर उसले झ्वाट्ट भन्यो, “मैले ६ महीना युट्युब छोडें भनेर ६ महीनापछि युट्युबमा आएको भिडियोहरू ट्रेन्डिङ आउँदै छन् ।” यति भनिसकेपछि उसले मैले खाइरहेको चिकेन फ्राई राइसमा चम्चा गाड्यो । सम्भवत: उसलाई ब्रोइलर कुखुराको फ्राइड छाला पर्यो क्यारे, उसले नराम्रैसँग मुख बिगार्यो । विपना र म भने मुख बिगार्नुअघि उसले भनेको कुरालाई लिएर एकछिन ट्वाँ पर्यौँ ।
यसपछि हामी तीन जना यस र यससँग जोडिन आइपुगेका अनेकन् विषयमा एकाध घण्टा नै गफियौं । लैंगिक समानताका लागि मर्यादित महीनावारीको अपरिहार्यता, भाजिनिसमस (Vaginismus) र रेप कल्चर, प्रकृति लम्सालको दु:खदायी घटना र हाम्रा विश्वविद्यालयको नालायाकीपन, खुम्चिँदो देशभक्ति र युवा पलायन, मेकअपका प्रसाधन प्रयोग र पुँजीवाद जस्ता गम्भीर विषय पनि संवादमा अटाए ।
आजको साँझ मण्डला थिएटरनेरको एउटा क्याफेमा (जहाँ भदौमा अंगुर फल्दछ भनेर क्याफे साहुले भनेका छन्) हाम्रो प्रीतिकर भेटघाट भएको थियो । यस भेटघाटमा विषय विविध कुराकानी भएँ तर, ‘सोसल मिडिया डिटोक्स’का कुरा भने पहिले चर्चा गरौँ ।
‘I AM QUITTING YOUTUBE’, ‘Done with Youtube, Bye Guys।’, ‘quitting your youtube addiction is easy, actually’, जस्ता शीर्षकमा युट्युबमा आइरहेका भिडियोहरूमा भ्यूज राम्रो छ भन्ने उसको तर्क थियो । यो लेख शुरु गर्नुअगाडि फ्याक्ट चेक गरें, ऊ सही रहेछ । मिलियन भ्यू आएको रहेछ, आउँदो रहेछ ।
***
स्वेच्छिक रूपमा सामाजिक सञ्जालको प्रयोग घटाउनु वा बन्द गर्नु र यस कार्यमार्फत मानसिक स्वास्थ्य सुधार गर्न सकिने तर्क यी भिडियोहरूले गरेको भेटिन्छ । सामाजिक सञ्जाल डिटोक्सपछि तनाव कम भएको र सकारात्मक महसूस भएको, सुत्नुअघि स्क्रिन टाइम घटाउनुमा जोड दिइएको, सामाजिक सञ्जालका एपहरू मोबाइलबाट अनस्टल गर्न अनुरोध गरिएको, स्क्रिन समय सीमित गर्ने एपहरू डाउनलोड गर्ने र त्यो समय साथीभाइ र परिवारसँग बिताउने सुझाव-सल्लाह दिइएको देखियो । मूलत: आफ्नो समय आफैंसँग राख्नुस्, सोसल मिडियासँग ‘आफ्नो समय फिर्ता लिने’ कुराहरू यस टपिक्सका कोर सारंश हुन्, जम्माजम्मी गुदी हो । निचोड हो । समरी हो । निष्कर्ष हो ।
अझ खुलस्त पारेर, नांगेझार पारेर भन्दा- एक निश्चित अवधिका लागि आफ्ना उपकरणहरू र सामाजिक सञ्जाल साइटहरूबाट टाढा रहने प्रक्रिया र त्यसबाट आउने फेरबदलका बारेमा यी भिडियोहरू मुखाग्र भएको पाइन्छ । चोथाले भएको भेटिन्छ । प्वाक्कैसँग यी भिडियोहरूले, ‘डिजिटल डिटोक्स फलदायी छ, लाभ लिगिहाल्नुस् । स्मार्टफोन, कम्प्युटर, ट्याब्लेट र टेलिभिजन जस्ता उपकरणलाई टाटाबाईबाई गर्दिनुस्, चिल मार्नुस्’ भनेको भनेका छन् ।
अत: सामाजिक सञ्जाल विमुक्ति (सोसल मिडियाबाट डिटक्स) का बारेमा युवाहरूमा सचेतता बढेको र हामीहरू आफैं पनि दुई/चार दिन, दुई चार हप्ता र दुई/चार घण्टा ‘अतिरिक्त सूचना खपत (Excessive information consumption, information overload)’ बाट पर सरिरहेका छौं भन्नेबारे पनि हामी छलफलियौं । बातचितियौं ।
यसबारे अझै पनि, धेर कुरा गर्न सकिन्छ, सोसियल दिलेमा भन्ने नेटफ्लिक्स सिरिजको कुरा गर्न सकिन्छ । Disconnect (2012), Her (2013) जस्ता विषय फिल्महरूले यस विषयमा थप पेट्रोल खन्याउने छन्, तिनका बारे पनि कुरा गर्न सकिन्छ । यस विषयमा यी फिल्महरूले पुत्पुताइरहेको आगोलाई अझ दन्काएका छन् (जुन जरुरी पनि लाग्दछ) । “Digital Minimalism: Choosing a Focused Life in a Noisy World” by Cal Newport; “The Shallows: What the Internet Is Doing to Our Brains” by Nicholas Carr जस्ता पुस्तकहरू त यस विषयमा अन्तर्गत रही सल्किएको डढेलो नै भयो, जसलाई निभाउन असम्भवप्राय: छ । सम्भवत: नेपालमा पनि यस्ता पुस्तकहरू लेखिदै छन् कि ? ग्रान्ट लिएर वा नलिएर भए पनि यस विषयमा साहित्यिक पुस्तकहरू, नेपाली मानसिकता झल्कने अध्ययनपत्रहरू आइदिए बेसै हुने थियो । झकास हुने थियो । बबाल होइजाने थियो । (यसबारे पुनश्च: चर्चा गरिनेछ। )
फेरि, यता सरकारले ल्याउन खोजेको सामाजिक सञ्जाल नियमनसम्बन्धी भइरहेका टिकाटिप्पणीहरू पनि उत्तिकै रुचिकर छन् । डिजिटल अधिकारको पक्ष-विपक्षमा राय बाझिइरहेको छ । सामाजिक सञ्जाल व्यवस्थापन परिषद् र केन्द्रको स्थापना, प्लाटफर्म दर्ता र सामाजिक सञ्जाल प्लाटफर्महरूमा ‘प्रतिबन्धित कार्यहरू’ नियमन गर्न खोज्दा विचार तथा अभिव्यक्ति स्वतन्त्रता र अन्य मौलिक अधिकार हनन पुग्ने जोखिम पनि उत्तिकै छ । घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती वा हेट स्पिच, अपमानजनक शब्दको खुला प्रयोगका लागि ल्याइएको विधयेकले नागरिकको वैयक्तिक स्वतन्त्रतालाई संकुचित गर्न स्वेच्छाचारी सत्तालाई हौस्याउने त होइन भन्ने विषयमा धमाधाम कुरा उठेका छन् । पछिल्लो एक महीना नेपाली सामाजिक सञ्जालकर्मीहरू यतै लागे । ‘रवि लामिछाने र सहकारी’ काण्डपछि यो विषयले मस्त स्पेस पायो क्यार !
सरकार वा सरकारी नीतिविरुद्ध आउने अभिव्यक्तिलाई रोक लगाउन यो विधयेक दुरुपयोग हुने सम्भवनालाई लिएर मस्त गफगाफ चलिरहेकै बखतमा फ्याट्टैसँग पूर्वराजा ज्ञानेन्द्र शाह प्वाक्क बोल्दिइहाले- ‘देशलाई संकटमुक्त राख्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न अनुरोधका साथ आह्वान गर्दछु ।’
लामो समय एकदलीय निरंकुश शासन व्यवस्थाबाट थिचिएका नागरिकहरूलाई सामाजिक सञ्जालबाटै प्रजातन्त्र दिवसको छेकोमै पूर्वराजाले राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीलाई साथ दिन अपिल गरिदिएपछि नेपाली राजनीतिमा मस्त तरंग उत्पन्न भई त गयो । आमनागरिक सञ्चार र सूचनाको अधिकार गुम्ने हो कि भनेर डराएर सामाजिक सञ्जाल विधयेकको विरोध पनि गरिरहेका छन् अनि, राष्ट्र रक्षाको निम्ति चाहिएको अनुशासन र इमानदारिता राजासँग पो छ कि क्या हो भन्ने विचारमा फस्न पुगेका पनि छन् । छैन त रमाइलो ?
वर्तमान सङ्घीय गणतन्त्रात्मक प्रणालीबाट डिटोक्सिफिकेसन खोजिरहेका नेपालीहरूलाई पूर्वराजाले झ्याम्मै आएर ‘राजसंस्थाप्रति विश्वास राख्ने क्रमश: सङ्गठित हुँदै गइरहेको शक्ति (परम्परागत शक्ति तथा सांस्कृतिक शक्ति)’ को प्रोफाइल फोटोमा लाइक, कमेन्ट तथा सन्स्क्राइब् र बेल आइकन थिच्न भनिदिए । यसपछि त, वर्तमान सङ्घीय गणतन्त्रात्मक प्रणालीबाट डिटोक्सिफिकेसन खोजिरहेका नेपालीहरू कमेन्टमा आएर भन्न थालिहाले, “नेपालमा सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षता विदेशीको एजेन्डा रहेछन् । अहिलेको संविधान नेपाली जनताको हित विपरीत छ । राजसंस्थालाई हामी पुनर्स्थापित गर्न सकिहाल्छौं नि’ । यसप्रकार, बडो दिल लाग्ने माहोल नेपालमा जमिरहेको छ ।
खैर, यो सब बीच एउटा कुरा चाहिँ के भइरहेको छ भने, ‘सरकारको असक्षमतालाई जनताले सामाजिक सञ्जालबाट अभिव्यक्त गरिरहेको राजा र दलहरू दुवैलाई थाहा छ ।’ यद्यपि, एउटा कुरा के पनि हो भने, नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता नहुन पनि सक्दछ तर सोसल मिडिया डिटक्सन चाहिँ आवश्यक छ । किनभने, सामाजिक सञ्जालमा आएको तथाकथित ‘सत्य र तथ्य’ मानिसको आफ्नो स्वभावअनुसार, उदेश्य र अपेक्षाअनुसार प्रेसित, सम्प्रेषित एंव प्रचारित भइरहेको छ, जसले सामाजिक सञ्जालको प्रयोगलाई थप जटिल बनाइरहेको छ । किनभने, यो यसअघि थिएन र यो विवाह, परिवार, समाज, देश जस्तो पुरानो संस्था पनि होइन, जसको कमबेसी सही-बेठीक नियमहरू छन्/थिए ।
यी पुराना संस्थाहरूको संस्थागत उद्देश्यहरूसँग व्यक्तिगत रूपमा असन्तुष्टि राख्नेहरू हिजो पनि भए तापनि विवाह, परिवार, समाज, देश जस्ता संस्थाहरूको एउटा मोटामोटी आंकलन आज पनि गर्न सकिन्छ तर, सामाजिक सञ्जाल बिलुकल नयाँ संस्था हो । यसको नैतिक आधार, सामाजिक आधार, बौद्धिक आधार आदिबारे ठोस निष्कर्षहरू तय भइसकेका छैनन्, त्यो भनेको यस संस्थाको ‘संस्थापक सदस्य’ हामी नै हौँ । हामीसँग नै यसको प्रयोग र विस्तारको साधसीमाना छुट्याउनुपर्ने दायित्व रहेको छ । फेरि विशुद्ध पुँजीवादी दुनियाँका लागि यो नौलो ‘साम, दाम, दण्ड, भेद’ भएकाले यसबारे हामी हदैसम्म जिम्मेवार हुनुपर्नेछ । यस दायित्वबाट हामीलाई पन्छिन छुट छैन । एक प्रयोगकर्ताको हिसाबले फेसबुक के हुनुपर्छ र कस्तो हुनुपर्छ भन्नु एक नागरिकका हिसाबले लोकतन्त्र के हुनुपर्छ र कस्तो हुनुपर्छ भनेर भन्नु सरह नै हो । मानव इतिहास भन्दछ, ‘मानव उत्पादित वस्तु मानव हितका लागि मात्रै प्रयोग हुन्छ नै भन्ने छैन ।’ यस कारण, सामाजिक सञ्जाल नामक यस नवीनतम दुनियाँ (भर्चुअल वर्ल्ड) को संस्थापक प्रयोगकर्ता (निर्माणकर्ता, विस्तारकर्ता, उपभोक्ता आदि पनि) भएकाले यसबारे हामी आज के गर्दछौँ भन्ने कुराले महत्त्व राख्दछ । डिजिटल दुनियाँ समाजको एक हिस्सा भइसकेकाले एवं यसले विश्वव्यापी रूपमै सामाजिक मान्यता पाइसकेका कारण, यसको सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, नैतिक, राजनीतिक, दार्शनिक, प्राज्ञिक आधार के र कस्तो हुनुपर्दछ भनेर बहस आवश्यक छ ।
यसैक्रममा, हिजोआज नै, ‘युएसएड, नर्वे र जमर्नीको पैसा खाएर किताब लेख्नेहरू’का नाममा सामाजिक सञ्जाल मस्तैसँग तात्ने काम भयो । कृष्ण धारावासी, कनकमणि दीक्षित, खगेन्द्र संग्रौला, युग पाठक, कुन्दन दीक्षित, नारायण वाग्ले, आहुती र सीमा आभासका फोटोहरू सार्वजनिक भए, उनीहरूसहित नेपाली बौद्धिक जगत परनिर्भरमुखी छ, डलरवादी छ भन्ने तर्क-वितर्कहरू सतहमा आए । आलोचकहरूले ‘लेखकहरूले विदेशीबाट पैसा लिएर धर्मसंस्कृति, भाषा तथा राष्ट्रियता समाप्त गरे’ भन्ने तर्कमा रहेर विभिन्न प्रश्नहरू गरे भने आरोपित लेखकहरूले प्रतिक्रियास्वरूप ‘किताबमाथि प्रश्न गर्नुपर्यो लेखकमाथि होइन । हाम्रो फोटोमाथि प्रश्न गर्ने होइन’ भन्ने आशयका प्रतिउत्तरहरू दिए, तर्क राखे । ‘लेखकीय स्वतन्त्रतालाई पूर्णरूपमा सम्मान गरिएकाले एवं राजनीतिक सर्तविना प्रदान गरिएकाले लिएका हौँ’ भन्ने खालको टिप्पणीहरू आरोपित लेखकहरूले दिए ।
अमेरिकी राजनीतिक वृत्तमा चलिरहेको युएसएडसम्बन्धी राजनीतिक खिचातानीले, नेपाली साहित्यलाई पनि दुई फक्ल्याँटो (जरासन्ध) चाहिँ बनाइदियो । र, यस जरासन्धलाई सतहमा ल्याउने कामचाहिँ एलन मस्क र ट्रम्पले गरे । उनीहरू ‘भीम र कृष्ण’ बनिदिए भन्न चाहिँ सकियो ।
तर, राधा उपन्यासमार्फत कृष्णलाई सामान्य व्यक्तिको रूपमा चित्रित गरेका धारावासीसँग रीस साँध्ने काम पनि यही मेसोमा हुन् पुग्यो कि भन्ने मलाई लाग्दछ । किनकि कृष्णको विराट स्वरूप राधा उपन्यासमा ध्वस्त भएको छ, उनी भगवानबाट उत्रिएर मानव हैसियतमा आइपुगेका छन् । तर, टुँडालका विषयमा कुरा नगरेर ‘कृष्णलाई सामान्य व्यक्तिको रूपमा चित्रित गर्नु’ चाहिँ धर्मसंस्कृति, भाषा तथा राष्ट्रियता समाप्त पार्नु हो भन्नेतर्फ बहस मोडिएको भान भयो (यसप्रकार बहस मोडिनु नेपाली साहित्य र राजनीतिको साझा चरित्र बनिरहेको छ, जुन दु:खद छ) । अरु लेखकहरूका हकमा त्यस्तै त्यस्तै रह्यो नै । महजोडीका सम्म नाम आइपुगेका छन् । असल पाठक, असल प्रकाशक, अल्छी पाठक र लालची प्रकाशक एवं साहित्यिक विचौलियाहरू जम्मै मिलेर यस विषयलाई थप मलजल गरे तर, ती कृतिभित्रको मूल्याङ्कन कसैले गरेको वा गर्न इच्छा व्यक्त गरेन (सम्भवत: गर्दैन) किनभने सामाजिक सञ्जालमा टिकाटिप्पणी गरिरहनुकै स्वादमा सबै फसे । आरोपित वा भनौँ ‘अनुदानबाट लेखिएका कृतिहरू, गरिएका विविध विषयगत अध्ययन तथा एनजीओ-आइएनजीओका तमाम काम तथा नेपालमा भइरहेका विकास-निर्माणको सामाजिक प्रभाव मूल्याङ्कनतर्फ कोही लागेनन् ।
र, यो विषयको अर्को एउटा पाटो पनि छ, विदेशी सहायता र भू–राजनीतिक प्रभावबीचको पारस्परिक सम्बन्ध । नेपालमा आएका विदेशी सहयोग (अनुदान) हरू प्रायः राजनीतिक शर्तसहित आएका छन् । यतिसम्म कि, विदेशी सहायता र रेमिटेन्समुखी नेपाली सत्ताले ‘नेपाली जनतासँग भन्दा बढी विदेशी दाताहरूको शर्त अक्षरश: पालन गरिरहेको चाहिँ फेरि साँचो हो । यसर्थमा, यस बहसमा संकीर्ण र पूर्वाग्रही ढंगले व्याख्या-अपव्याख्या चाहिँ भरपुर हुन् पुग्यो तर बहसले निकास भेट्न सकेन ।
कताकता डर छ, एउटा गतिलो विषयको निष्कर्षविहीन मृत्यु हुने हो कि भन्ने । किनभने, राजनीति र समाजलाई बाटो देखाउने बौद्धिक समुदायको मानमर्दन मात्रैले त कसैलाई भलो छैन । राज्य प्रवर्द्धित उदेकलाग्दो मौन संस्कृति र सामाजिक सञ्जाल प्रवर्द्धित झ्याउलाग्दो ‘पोस्ट, सेयर, लाइक, रिपोस्ट, लाइभ ब्रोडकास्ट, ट्याग, मेन्सन, सब्सक्राइब र कमेन्ट’ले मात्रै यस विषयको गाम्भीर्यलाई निकास दिँदैन । यसकारण, यो विषयले एउटा स्वाभाविक सवाल के जन्माउँछ भने, ‘नेपालमा बौद्धिकहरूको आर्थिक दुर्बलता बढेको हो या, जे बोल्नुपर्ने र जहाँ बोल्नुपर्ने, त्यो विषय त्यहाँ नबोल्ने- एकप्रकारको बौद्धिक डिटोक्स (‘पब्लिक इन्टेलेक्चुअल’को भूमिकाबाट च्यूत) बढेको हो ?’
अझ अर्को प्रश्न पनि छ, गैरलोकतान्त्रिक राज्यव्यवस्था, कमजोर अर्थतन्त्र र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने नाममा, ‘सामाजिक सञ्जाल प्लाटफर्म’को परिभाषालाई थप साँघुरो र सीमित बनाउन खोज्दाको नियति, यस प्रकार प्रकट भइरहेको हो ? ‘पपुलिज्म’को दार्शनिक मतले समाजमा मस्तैसँग जग गडिरहेको यस समयमा ‘अप्रिय’ भए तापनि सत्य बोल्ने दुस्सहास (साहस) कसैसँग, कतैबाट प्रकट नहुनु खेदपूर्ण कुरा छ । किनभने, चलिरहेका यसप्रकारका तमाम बहसहरूमा आलोचनात्मक क्षमता, सिर्जनशीलता र स्वतन्त्रता सामाजिक सञ्जालमा मात्रै प्रकट भएको देखिन्छ, व्यक्तिगत व्यवहार र राज्यगत संरचनामा ती कुराहरू देख्न/भेट्न मुस्किल हुन्छ ।
यसकारण, विजय ठिकै भन्दैछ कि क्या हो, ‘सोसल मिडियाबाट डिटक्स हुन्छु भनेको कन्टेन्ट नै सोसल मिडियाको ट्रेन्डिङमा छ ।’
यसकारण, स्वेच्छिक रूपमा सामाजिक सञ्जालको प्रयोग घटाउनु वा बन्द गर्नु र यस कार्यमार्फत मानसिक स्वास्थ्य सुधार गर्नतर्फ लाग्नु नै श्रेयस्कर पो हो कि ? सोसल मिडियाका गाईगुई र गुनगुनसँग ‘आफ्नो समय फिर्ता लिने’ कार्य शुरु गर्ने समय आइसकेको त होइन ?
अस्तु !
नैकाप, झल्लुदरबार ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

