पोखरामा ‘माछापुच्छ्रे’ छ भन्ने कुरा बिर्सनोस् । माछापुच्छ्रे तुवाँलोले गर्दा देखिएन, देखिँदैन रहेछ । पोखरामा ‘सरुभक्त’ छन् भन्ने कुरा चाहिँ नबिर्सनोस् किनभने सरुभक्त पोखराका गहना हुन् ।

साहित्यकार किशोर पहाडीले गएको साता पोखरा आउँदा लेख्नुभएका यी भावनाले मलाई चसक्क छोयो ।

हो, साँच्चै पोखरा आउँदा माछापुच्छ्रेको दर्शन नपाएर केही हुँदैन । तर माछापुछ्रे जत्तिकै उचाइ वरण गरेका साहित्य, कला साधकहरूसँगको भेट र भलाकुसारीले विगत दिनको सम्झना र आगत दिनको विश्लेषण गर्न मद्दत गर्छ ।

दुर्गा बराल

रमेश श्रेष्ठ

त्यसो त माछापुछ्रेकै फेदीमा अर्थात् माछापुछ्रे आधार शिविरको फेदीबाट अन्नपूर्ण आधार शिविरसम्म जाँदा माछापुच्छ्रेको स्वरूपलाई बेग्लै रूपमा देख्न पाएको क्षण पनि अविस्मरणीय नै छ । तर पोखराबाट देखिने माछापुच्छ्रेको आकृति जति सुन्दर र कलात्मक लाग्छ माछापुच्छ्रे आधार शिविरबाट हेर्दा त्यो सुन्दरता फिक्का साबित हुँदोरहेछ ।

त्यसैले पोखराबाट माछापुछ्रे हेर्नुको आनन्द रोमाञ्चक पनि लाग्छ । त्यसैले कतिपय मानिसहरू पोखरामा आउनु र माछापुच्छ्रे हेरेर रमाउन मन पराउँछन् । तर बादलले माछापुच्छ्रेलाई छोपिदिँदा नमज्जा लाग्छ ।

अन्नपूर्ण आधार शिविरबाट फर्किएपछि पोखराको चहलपहल एकातिर मेरो रहलपहलको गन्तव्य अर्कोतिर भयो । भेटिनुपर्ने मान्छेहरूसँग भेटिँदाको खुशी एउटा बेग्लै उल्लासमा परिणत हुन्छ । यो अनुभव यसपटकको पोखरा यात्रा र पोखराका कलाकार तथा साहित्यकारहरूसँग भेटघाटले सार्थक पारिदियो ।

कहिलेकाहीँ भेटिनुपर्ने मान्छे भेटिँदाको खुशीको कुरा बेग्लै हुँदोरहेछ । जुन भेटले विगतका भेटहरूको सम्झनालाई पुनः ताजा पार्दै ती दिनहरूको सम्झनामा नवीकरण गर्दोरहेछ । साथै आगतको भेट र भलाकुसारीले भोलिको दिनलाई सुखद पार्न प्रेरणा प्रदान गर्न सक्ने रहेछ ।

दुई दिन पोखरा बसाइमा पनि मौसम खुलेर माछापुछ्रेको दर्शन मिल्ने छाँटकाँट देखिएन । मौसम धुम्मिएको धुम्मिएकै भएर बित्यो । पोखरा आएपछि पोखरा वरपरका केही गुरुङ गाउँहरू जहाँ पुग्दा चित्रजस्तो ग्रामीण दृश्यको मौलिक झलक देख्न पाइन्छ । आफ्नै आँखाको अगाडि विशाल क्यानभासले कलासिर्जना गर्न चुनौती दिइरहेको आभास हुन्छ । तथापि मधौरो मौसमका कारण सिक्लेस, घाचोक, धम्पुस जस्ता ठाउँहरूमा जाने पूर्व निर्धारित योजनालाई अनायसै थाँती राख्नुप-यो ।
घुम्ने योजना यसरी रोकिएपछि भेटिनुपर्ने मान्छेको ठाउँ र ठेगाना टिप्न थालें । अन्नपूर्ण आधार शिविरसम्म पुगेर आएको थकित ज्यानले आराम खोजिरहेको थियो । तर मन आरामले सुतेर बस्न कहाँ मान्थ्यो र ? दिनभरिको हिँडाइ र पसिनाले भिजेको शरीरलाई रानीपौवा ११ स्थित होटल टप रेस्टुरेन्टमा बिसाएँ । आफूलाई धोईपखाली गरी लुगा फेरफार गरेर भेटघाटको सिलसिलालाई जोड्ने तयारीमा जुटें ।

पोखरेली कलामा स्पष्ट पहिचान निर्माण गरिसक्नुभएका अग्रज कलाकार दुर्गा बराललाई भेट्नु थियो । भेटें उहाँकै निवास नदीपुर, पोखरामा । पृथ्वीनारायण क्याम्पसमा पुगेर कलाकार तथा कवि रमेश श्रेष्ठलाई भेटें । फर्किएर घरमा उहाँका नयाँ पुराना कलाकर्मका क्यानभासहरू हेरें ।

मेरा प्रिय मित्र कवि, कलाकार प्राज्ञ रमेश श्रेष्ठसँग उहाँको निवासमा भेटिँदा खिचिएका केही स्मृति–अभिलेखहरूले उहाँको कलायात्राका सन्दर्भमा सामाग्रीको काम अवश्य गर्ने छ । उहाँ अहिले क्यानभासमा शंखाकृतिलाई जीवन–दर्शनका आयामहरूमा प्रतिविम्बित गर्दै हुनुहुन्छ ।

कवितामा विम्बवादी अनुभूतिलाई अक्षरहरूमा अवतरण गराउने उहाँ । कलामा विविध श्रृङ्खलामा भावनाजन्य रङ र रेखाका स्पष्ट तूलिकाघात प्रक्षेपण गर्ने कलाकार उहाँ । साथै नेपाली कविता र कलामा सराबरी सिर्जनशील मनहरू सार्वजनिक गर्ने कुशल सिर्जनाकर्मी पनि रमेश श्रेष्ठ ।

वास्तवमा भेटिनु र छुटिनु समय परिस्थिति र जीवन यात्राको एउटा नियमित प्रक्रिया नै हो । हामी कोही पनि कहिले पनि न त भेटिने रहेका हुन्छौ, न त छुटिरहेका हुन्छौ । कहिले भेटिन्छौं र छुट्टिएपछि पुन फेरि भेटिन्छौँ । यो भेट्ने क्रम हाम्रो जीवनको क्रममा रहिरहन्छ ।

कलाकार तथा प्राज्ञ बुद्धि गुरुङले स्टुडियो खोलेर कलासिर्जना र कलाशिक्षण कार्यलाई कायम राख्नुभएको रहेछ । स्मरणीय छ, उहाँका दुबै जना छोरीहरू पनि चित्रकलामा संलग्न हुनुहुन्छ । उहाँले आफ्नो स्कुटीको पछाडि राखेर मलाई साहित्यकार, कलाकारहरूको भेटघाटलाई सजिलो र छिटो पारिदिनुभयो ।

पोखराको व्यस्तता काठमाडौँपछिको अर्को ठूलो शहरको रूपमा पनि परिचित छ । पर्यटन व्यवसायले धानेको पोखरामा पर्यटकहरू आउने र जाने क्रम चलिरहन्छ । सधैं घुइँचो र घचारोले पोखरा व्यस्त रहन्छ । लेकसाइड वा फेवाताल किनार मध्यरातसम्म चहलपहलले चलायमान भइरहन्छ ।

पोखरा आगमनमा जसरी साहित्यकार किशोर पहाडीले सरुभक्तलाई नेपाली साहित्यको शिखर मानेर भेट्नुपर्ने महत्वलाई प्राथमिकता राख्नुभया । मैले पनि नेपाली चित्रकलाका अग्रणी व्यक्तित्व आदरणीय दुर्गा बराल वात्स्यायनलाई भेटेर सञ्चो, बिसञ्चोसँगै कलाकर्मको ताजा अवस्था बुझ्ने मनशाय राखें ।

उहाँसँग भेटेर अलिकति संलाप र कलाकर्मको चहलपहलका विविध पक्षमा संक्षिप्त भएपनि जानकारी लिने कोसिस गरे । कोसिस गरेपछि नहुने कुरा आखिर के छ र कोसौँ दूर बस्नुभए ! बराल पुत्र नाट्यकर्मी अनुप बरालले चार रोपनी जग्गामा साहित्य, कला, संस्कृतिलाई एकै थलोमा प्रवर्धन गर्ने उद्देश्यले भव्य भवन निर्माण गर्दै हुनुहुँदो रहेछ । सोही घरको सिमानालाई हेर्दै म दुर्गा बरालको निवास भित्रिए ।

दुर्गा बराल चित्रकलाका साथै मूलत व्यङ्ग्यचित्रमा पोख्त कलाकार हुनुहुन्छ । तथापि लकडाउनपछि उहाँले व्यङ्ग्यचित्र बनाउनुभएन । व्यङ्ग्यचित्र भनेको शब्दबिना चित्रले नै सबै कुरा बताउनुपर्छ । उहाँका व्यङ्ग्यचित्रहरू समयका सग्ला दस्तावेज हुन् जसले शब्दबिना चित्रबाट सटीक र सुन्दर प्रस्तुति पेश गर्छ ।

पोखराका अर्का कलाकार गोपाल श्रेष्ठलाई उहाँकै कला स्टुडियोमा भेटें । कलाकार बुद्धि गुरुङ, हरेराम जोजु तथा तिलक पुन रानीपौवाको एउटै टोलमा बस्नु हुँदोरहेछ । भेटिनु र गफिनु सजिलो भयो ।

समकालीन कला र पोखरेली कलाका विविध पक्षमा चर्चा गरियो । कलाकृतिहरू हेरियो, विश्लेषण पनि गरियो ।

कलाकार यादवचन्द्र भुर्तेल, आलोक गुरुङसँग भेट्न सकिएन । उहाँहरूको व्यस्तता र विरामी अवस्थाले भेटमा बाधा पुग्यो । त्यस्तै कमल गुरुङ, महेन्द्र राजभण्डारी, विश्व शाक्य, पदम घलेहरूसँग पनि भेटिन पाइएन । यद्यपि यी कलाकारहरूले नेपाली कलामा दिएको योगदान स्मरणीय छ ।

समयमै भेट भएर दुर्गा बरालदेखि गोपाल श्रेष्ठ, बुद्धि गुरुङ, हरेराम जोजु, रमेश श्रेष्ठ, तिलक पुनसँग उहाँहरूकै घरमा पुगेर कलाकर्मको ताजा जानकारी लिन पाइयो । उहाँहरूकै कला स्टुडियोमा नयाँ कलाकृतिहरूको सिर्जनात्मक पल हेर्न पाएर मलाई पोखराका कलाकारहरूको सक्रियताले धेरै खुशी तुल्यायो ।

विशेषतः पोखराका कलाकार र उनीहरूका सिर्जना भन्नासाथ पानीरङमा सिर्जित माछापुछ्रेको सम्झना आँखामा देखापर्न थाल्छ । पोखरेली कलाकारहरूले पानीरङको प्रविधि र प्रयोगमा स्थानीय प्रकृति र जनजीवनलाई कलात्मक सौन्दर्यका साथ पेश गर्दै आएको दशकौं व्यतीत भइसकेको छ ।

वस्तुतः पोखरेली कलाकारहरूको पहिचान भन्नु पानी रङमा जीवन्त प्रकृतिको चित्रण हो । जहाँ कहिले घान्द्रुकको सौन्दर्य चित्रमय आकृति भएर उपस्थित भइरहेको हुन्छ । त्यसकै पृष्ठभूमिमा अन्नपूर्ण र माछापुच्छ्रेले रमिता हेरिरहेको हुन्छ । यसैगरी घाचोकबाट देखिने हिमश्रृङ्खला र ग्रामीण गुरुङ गाउँ कलाकारको रोजाइको ‘स्पट’ मा पर्छ ।

लगभग तीन दशकअघि नै काठमाडौँको नेपाल कला परिषदमा पोखरेली कलाकारहरूको सामूहिक कलाप्रदर्शनी आयोजना गरिएको थियो । त्यसमा पोखरेली कला पानीरङमा तैरिरहेका माछापुछ्रे र स्थानीय प्रकृतिको सुन्दर संरचना राजधानीबासीका कलाप्रेमी दर्शक र कलाकारहरूले देख्न पाएर हर्षित भएका थिए । वास्तवमा पोखरा पानीरङको पाठशाला हो । यसलाई जीवित पार्नुसँगै व्यापक विस्तार गर्न पनि पोखरेली कलाकारहरू सक्रिय रहिरहेका छन् ।