चन्द्रमान सिंह मास्के

पूर्वीय धर्म, संस्कृति, संस्कार र आस्थाका मौलिक कलाहरू पौभा कला, मण्डल कला, थाङ्का कला र परम्परागत मूर्तिकला तथा वास्तुकलाका आआफ्नै आयामिक शैलीले नेपाली कला पृष्ठभूमिको जग मजबुत बनेको छ । नेपाली कलाको परम्परागत भूगोलमा परिवर्तनका दायराहरू पछिल्ला चरणहरूमा फराकिला बन्दै आएका हुन् । समयानुरुप नेपाली कला क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यतामा विकशित भएका कलाका नवमान्यताहरूको प्रभाव स्थापित र वोधगम्य हुँदै आइरहेको प्रगतिशील वस्तुस्थितिका पछाडि विगतका संघर्षशील महान् नेपाली कलाकारहरूको समर्पण र अटुट योगदान कारकतत्त्वका रुपमा विद्यमान रहेका छन् ।

नेपाली कलाको अहिलेको अवस्था क्रमिक वा आकस्मिक जुनसुकै बाटोबाट बढोत्तरी भएर आएको भनिए तापनि समग्रमा नेपाली आधुनिक कलाको विकास हुनमा नेपाली परम्परागत कला भूगोलभित्र देखिएका परिवर्तनका विविध महत्त्वपूर्ण कालखण्डहरू नै हुन्, जहाँ भाजुमान चित्रकारको जंगबहादुर राणासँगको बेलायत भ्रमणको उपलब्धि र उनीभन्दा पहिले नै पानी रङमा देखिएका राजमानको कला सहचर र चन्द्रमान मास्केको नेपाली कलामा पदार्पण उल्लेख योग्य साथै बिर्सन नसकिने इतिहास छन् । नेपालमा प्रथम तैलचित्र प्रचलन र आधुनिक कलाको पदार्पण तिनीहरूकै कला झङ्कारले गुञ्जाएको हो भन्दा सही ठहरिन्छ । मूलतः प्रष्ट रुपमा भन्नुपर्दा भाजुमानको चित्रकला प्रचलनले नेपालमा तैलचित्र प्रविधिको प्रचलन पदार्पण भएको यथार्थिक घट्ना हो । यसपश्चात् चन्द्रमानसिंह मास्केको विधिवत् कला विषय अध्ययनले कलामा यथार्थपरक ज्ञानको ढोका खोलेको हो र अन्तमा लैंनसिंह बाङ्देलद्वारा फ्रान्सको पेरिसबाट बटुलिएका अनुभवहरूले नेपालमा अमूर्त कलाले जग बनाउँदै र नेपाली कला समाज समसामयिक कलातर्फको गोरेटोमा अघि बढेको इतिहास छ । यस पंक्तिमा विशेषत् चन्द्रमानसिंह मास्केको सन्दर्भलाई हेर्न खोजिएकोले विशेषत् उनकै कला जीवनको इतिहासलाई मैले यहाँ उप्काउन खोजेको छु ।

नेपाली आधुनिक कलाका मूली अर्थात् अगुवा क्रान्तिकारी चन्द्रमानसिंह मास्के कला र राजनीतिकको क्षेत्रमा सधैँ सम्झना आइरहने प्रतिभाका रुपमा पर्दछन् । चन्द्रमानसिंह मास्के त्यस्ता स्रष्टा हुन् जसको आगमन वा उपस्थितिबाटै नेपाली कला समाजले आधुनिक कलाको अर्थ जान्यो, सुगन्ध लियो र विश्वमा फस्टाउँदै गएको कलाको नवजागरणलाई सदाका लागि आत्मसात गर्ने आँट कमायो । उनको आगमन पश्चात् नै नेपाली कलामा विधिवत् उच्च शिक्षा लिनुपर्ने प्रचलनको शुभारम्भ भएको थियो । नेपाली कलाको इतिहासमा उनी कला विधामा प्रथम स्नातक र नेपालमा कला प्रदर्शनीको शुभारम्भ वा थालनी गर्ने प्रथम कलाकारका रुपमा पनि चिनिन्छन् । १८ वर्ष जेल र सर्वस्वहरण सजाय पाएका उनै कलाकार चन्द्रमानसिंह मास्के हुन् ।

चन्द्रमानसिंह मास्के हुने विरुवाको चिप्लो पात भनेजस्तै सानै उमेरदेखि चित्र कोर्नमा खप्पिस थिए । वि.सं. १९५६ चैत्र महिनामा जन्मेका मास्केको बाल्य जीवन बालक्रीडा गर्दै दरबार हाईस्कूलको पठनपाठनमा नै बित्यो ।

बाबुको इच्छानुसार १८ बर्षको किशोर उमेरमा उनलाई घरबाट डाक्टरी पढ्न कलकत्ता पठाइयो । तर सानैदेखि कलाकार बन्ने मृगतृष्णा भएका चन्द्रमानसिंहले बाबुको मञ्जुरी नलिई अध्ययन विषयलाई परिवर्तन गर्ने हिम्मत बटुले र त्यहीँको बहुबजार इण्डियन आर्ट विद्यालयमा कला परीक्षा दिए र उत्तीर्ण पनि भए । अकस्मात् यसै समय उनको पिताको बिग्रँदो स्वास्थ्य अवस्थाका कारणले उनलाई काठमाडौँ फिर्नुपर्ने भयो । केही समयको अन्तरालपछि पिताको असामयिक निधनले उनी काठमाडौँमा नै बस्नुपर्ने बाध्यताका बीच उनी काठमाडौँमा नै बसेर कलाकर्ममा निरन्तर लागिरहे ।

चन्द्रमान सिंह मास्केको एक तैल चित्र

यसरी नै समय बित्दै जाँदै थिए, एक दिन अचानक मास्केको सीप देखेर प्रभावित भएका तात्कालिन प्रधानमन्त्री चन्द्रशमशेरद्वारा उनलाई बोलावट भयो र कलाको विधिवत् अध्ययनका लागि उनलाई कलकत्ताको गभर्मेन्ट स्कूल अफ फाइन आर्ट्समा भर्ना हुन पठाइयो । कला अध्ययनको क्रम लगभग सकिसकेपछि, प्रतिभाशाली मास्केले कलेजको परीक्षामा प्रथम श्रेणीमा सर्वप्रथम भई उत्तीर्ण गरे । पढाइ सकेको खबर नेपालतिर पनि चल्यो । यो खबर सुनेपछि प्रधानमन्त्री चन्द्र शमशेरले उनलाई काठमाडौँ डाके । काठमाडौँ आगमनपश्चात् उनले धेरै राणा परिवारहरूको, प्रधानमन्त्रीहरूको, राजा महाराजाहरुको पूर्ण कदको जीवन चित्रहरू, अर्द्धकदका चित्रहरु, मुहार चित्रहरू प्रशस्तै बनाए । र, स्व. श्री ५ त्रिभुवन, स्व. श्री ५ महेन्द्र तथा राजपरिवारका अन्य सदस्यहरूका निम्ति कलाशिक्षक हुने सौभाग्य पनि पाए ।

चन्द्रमानसिंहको त्यो समयमा देशमा जहानियाँ राणा शासन थियो । देशले स्वतन्त्रता खोजिरहेको थियो । प्रजातन्त्र मागिरहेको थियो । देशमा परिवर्तनका विगुलहरू फुकिंदै थिए । देश र जनता राणाकालीन निरङ्कुश र हुकुमीतन्त्रले आजित बनेका थिए । यस्तो स्थितिमा उनले शैक्षिक र चेतना जागृतिको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन् । उसबेला शिक्षित तथा विदेशमा प्रवासिएका नेपालीहरूको नेपालमा प्रजातन्त्र स्थापना गर्ने उद्देश्यका विविध क्रियाकलापहरूमा समेत उनको सहभागिता हुने गर्थ्यो । परिर्वतनकामी चन्द्रमानको राणा विरोधीका विविध गतिविधिका कारण उनी पनि राणाहरुको आँखाको तारो बने । आफ्नो विवेक र सीपले भ्याएसम्म उनले राणाहरूको कार्टुन बनाउँदै विरोध जनाउँदा जनाउँदै उनी जेल परे । उनलाई राणाले कठोर जेल र सर्वस्वहरणको सजाय दिए ।

पछि सबै प्रजातन्त्रवादीहरूको त्याग र बलिदानले वि.स. २००७ सालमा प्रजातन्त्रको स्थापना भएपश्चात उनले महत्त्वपूर्ण कदर र सम्मानहरू प्राप्त गर्न थालेका थिए । मास्केले प्रजातन्त्र आएपछिका दिनहरूमा विभिन्न देशमा कला भ्रमण गर्ने सुअवसर प्राप्त गर्नुका साथै राष्ट्रिय संग्रहालयको क्युरेटर, पुरातत्त्व विभाग, सदर चिडिया खाना, राष्ट्रिय नाचघर, नेपाल ललितकला संस्था, नेपाल सोभियत मैत्रीसंघ आदि विशिष्ट पद र ओहदाहरूमा बसेर र शैक्षिक सेवामा रहेर मननयोग्य कार्यहरू गरेका थिए ।

चित्रकार हुनुको सँगसँगै मूर्तिकारको रुपमा पनि परिचित रहेका मास्केले आफ्नो कलाजीवन कालमा महत्त्वपूर्ण पुरस्कार र पदक तथा सम्मानहरू पाएका छन् ।

गोर्खा दक्षिण बाहु तेस्रो, त्रिभुवन स्मृति पदक, रजत पदक, श्री ५ इन्द्रराज्य लक्ष्मी पुरस्कार, राष्ट्रिय कला प्रदर्शनी पदक तथा अन्य धेरै अनगिन्ती सम्मान तथा पुरस्कारहरू पाएका थिए । मास्केका कलाकृतिहरू तात्कालीन नारायणहिटी दरबार, तात्कालीन राजदरबार, एकेडेमी हल, संग्रहालय र अन्य धेरै महत्त्वपूर्ण संवैधानिक निकाय र संस्थाहरूमा तथा निजी संग्रहहरूमा शोभायमान रहेका छन् ।

समयको गतिसँगै निरन्तर र सक्रिय रहने मास्केको कला योगदानका कारण समसामयिक कला इतिहासको दोस्रो कालखण्डलाई चन्द्रमानसिंह युग भनेर सम्वोधन गर्ने गरिन्छ । यस्ता मूर्धन्य कलाकारको ८५ वर्षको उमेरमा वि.सं. २०४१ सालमा जीवनलीला समाप्त भयो । कला क्षेत्रले मात्र होइन यस्ता प्रतिभाशाली, देशका लागि र स्वतन्त्रताका लागि जस्तोसुकै मूल्य पनि चुकाउन पछि नपर्ने प्रतिभालाई सम्झने बानी बसालौं ।