साउदी अरबका धनाढ्यहरू पैसा भएर पनि सिनेमा हेर्नबाट वञ्चित थिए । तीमध्ये केही फिल्म हेर्न भुतुक्क हुनेहरू बहराइन र युनाइटेड अरब इमिरेट्ससम्म पुग्ने गर्थे । सन् २०१८ मा भने परिदृश्य परिवर्तन भयो । साउदी अरबमा पहिलो पल्ट सिनेमा हल खुल्यो र त्यहाँ नयाँ नयाँ सिनेमाहरू प्रदर्शन हुन थाले ।

सिने प्रतिबन्ध हटेपछि अहिले सरकार नै फिल्म प्रवर्द्धनका लागि नयाँ नयाँ नीति ल्याउन लागिरहेको छ । उसले पहिलो पटक साउदीजनलाई चलचित्रमार्फत जोड्न सकिने रहेछ भन्ने हेक्का पाउन थालेको छ । त्यो जोड्ने कडी हो, फिल्म ‘बेडून’ ।

पहिलो खाडी युद्धको पूर्वसन्ध्यामा देश र पिँधका सर्वसाधारणको अवस्था कस्तो थियो भन्नेबारे बनाइएको फिल्म हो ।

वाज्दा

त्यस्तै सन् २०२५ को शुरूमा एउटा फिल्म रिलिज भएको थियो, होबल । एउटी आमाले आफ्नी छोरीको उपचार गर्न गरेको कसरतमाथि यो फिल्म बनाइएको छ । रूढिवादी परिवगारका अभिभावकले उपचार गर्नुभन्दा पारम्परिक झारफूकमा जोड दिन्छन् । यो फिल्मलाई दर्शकले यति रूचाए कि अहिलेसम्म ६० लाख डलर कमाइसकेको छ । यसले साउदीको घरेलु बक्सअफिसबाट एक करोड डलरको कीर्तिमान बनाउने सम्भावना देखिएको छ ।

साउदी अरबमा सन् १९८३ मा पहिलो पटक सिनेमा हल खुलेको थियो । त्यहाँ उदारवादी सुधारको एउटा भागका रूपमा सिनेमाघर खुलाइएको थियो । सिनेमा हल खुल्नु भनेको अहिलेसम्म मनोरञ्जन करको बाटो नदेखेको देशले थोरबहुत त्यहाँबाट पनि केही पैसा निकाल्न सक्छ कि भन्ने अपेक्षा थियो ।

खासमा हलिउडले यो धनी देशबाट केही पैसा उठाउन सक्ने अपेक्षा गरेर साउदीहरूलाई सिनेमा हल बनाउन उक्साएको थियो । त्यो बेला हलिउड एउटा नयाँ संकटबाट गुज्रदै थियो । नक्कली भिडियो टेपले हलिउडको बजार खुम्चाइरहेका बेला साउदीजस्तो पेट्रोल बेचेर धनी बनेको मुलुकबाट केही पैसा त्यहाँबाट पनि निकाल्न सकिन्छ कि भन्ने हलिउडको अपेक्षा थियो ।

हाल साउदी अरबको जनसंख्या तीन करोड ३० लाख छ । कुस्त पैसा भएको यो जनसंख्याबाट मनोरञ्जनबाट पनि राम्रै पैसा बटुल्न सकिन्छ । त्यसैले संसारकै ठूलो सिनेमा चेन एएमसी इन्टरटेन्मेन्ट होल्डिङले साउदी अरबमा पहिलो सिनेमा हल खोल्यो । हल खुल्दा एक वर्षअघि वार्षिक रूपमा बक्स अफिस कलेक्सन एक अर्ब डलरसम्म पुग्ने अपेक्षा गरिएको थियो ।

सिनेमाको व्यापार ज्यादै अनपेक्षित हुन्छ । सन् २०२२ मा आम्दानी २४ करोड ९० लाख डलरको उच्च विन्दुमा पुगेपछि २०२३ मा भने घट्न पुग्यो । नेटफ्लिक्सजस्ता स्ट्रिमिङ प्लेटफर्मको घेराबन्दीका कारण नाफा घटेपछि एएमसीले साउदी अरबको कम्पनी बेच्यो ।

जब साउदी सरकारले सिनेमा हल चेन किन्यो, उसले यसलाई चलायमान बनाउन र दर्शकहरूलाई हलसम्म ल्याइरहन नयाँ नीतिमा जोड दियो । उसले घरेलु फिल्मलाई प्रवर्द्धन गर्न थाल्यो । तर दर्शकहरूलाई स्थानीय फिल्मप्रति उति विश्वास छैन । दर्शकको विश्वास जित्न राम्रा फिल्मले राम्रो बक्स अफिस कलेक्सन गर्नुपर्ने हुन्छ ।

‘होबल’ फिल्ममार्फत त्यो विश्वास फर्काउने प्रयास फिल्मका निर्माताहरूले गरिरहेका छन् । यस का लागि उनीहरूले साउदी अरबभरि एकै झमटमा फिल्म रिलिज गरेनन् । उनीहरूले फरक ठाउँमा फरक तरिकाले यसको प्रचार प्रचार गरे । कलाकारहरूले देश दौडाहा गरे । उनीहरूले नयाँ किसिमका मार्केटिङ अभियान चलाए । जसका कारण, आफ्नै देशका कलाकारहरूको मिहिनेतलाई अरबी जनताले स्वागत गरे ।

यस्तै दृश्य बेदुनका बेला पनि देखियो । गाउँगाउँका दर्शक फिल्म हेर्न आऊन् भनेर कतिपय सिनेमा हलले ५० वर्षमाथिका महिला दर्शकलाई टिकटमा छूट दिए ।

राजकुमार मोहम्मदले देशमा सुधारको अभियान चलाएका थिए । त्यही सुधार अभियानको एउटा काम साउदी अरबमा सिनेमा हल खोल्नु पनि थियो । त्यसअघि सिनेमा हेर्न साउदीहरू विदेश जान्थे । पछि महिलालाई कार चलाउने अनुमति दिइयो । ठूला खेलकूद कार्यक्रम आयोजना गरियो र प्रख्यात सिनेमा कलाकारहरूलाई देशमा निम्त्याइयो ।

यसले मनोरञ्जन पाप होइन र सरकारले यसलाई महत्त्व दिन्छ भन्ने स्थापित गरायो ।

होबल

अरबीहरूमा इजिप्टमा बनेका फिल्महरू निकै रूचाइन्छन् । साउदी फिल्म अझै पनि शिशु अवस्थामा छ । हलिउड र इजप्टेली फिल्मले ती थिचिएका छन् ।

गत वर्ष हलिउड फिल्म ‘ब्याड ब्वाइज: राइड वा डाइ’ साउदी बक्स अफिस इतिहासमा २ करोड ३५ लाख डलर कमाएर सबैभन्दा ठूलो चलचित्र बन्यो । विल स्मिथ र मार्टिन लरेन्स आफ्नो फिल्मको प्रचारका लागि साउदी अरबसम्म पुगेका थिए ।

साउदी फिल्म बजारमा विदेशी फिल्मको दबदबा नै छ तर पछिल्लो समय स्थानीय फिल्मले पनि राम्रो बजार बनाइरहेका छन् । त्यसो त त्यो बजार सारा विदेशी फिल्मको बजारको तुलनामा जम्मा १० प्रतिशत मात्र छ ।

गएको अप्रिल महिनामा साउदी अरबले फिल्म बजार बढाउन लाइसेन्स शुल्क घटाएको थियो । शुल्क घट्नेबित्तिकै टिकटको मूल्य पनि घटेको थियो । तर मनोरञ्जनमा शुल्कले खास फरक पर्दैन भन्ने कुरा यहाँ देखियो । शुल्क घटाइएकामा स्थानीय फिल्म निर्माताहरूले निकै प्रशंसा गरे तर फिल्म हेर्न भने मानिसहरू तँछाडमछाड गर्दै पुगेनन् ।

तर साउदी फिल्ममेकरहरू देशमा फिल्मप्रतिको रूझान देखेर उत्साहित छन् । फिल्म निर्देशक हैफा अल-मन्सूर आगामी चलचित्र ‘अनआइडेन्टिफाइड’ लिएर आउने तयारीमा छिन् । उनी साउदी अरबकै प्रख्यात महिला निर्देशक हुन् । उनका फिल्महरूको त्यहाँ निकै प्रतीक्षा हुने गर्छ ।

“यो वर्ष साउदी चलचित्रहरूका लागि महत्त्वपूर्ण हुनेछ,” स्थानीय फिल्म समीक्षक अहमद अल-अय्याद भन्छन्, “फिल्मी खुलापनको युगमा हुर्केका फिल्म निर्माताहरूको नयाँ पुस्ता तयार भइसकेको छ । दर्शक पनि फिल्मलाई अँगाल्न तयार छन् । पहिला एउटा जाबो फिल्म हेर्न साउदीहरू बहराइन र दुबईसम्म पुग्ने गर्थे तर अब नयाँ पुस्तालाई एउटा फिल्मका लागि विदेशसम्म पुग्नुको अर्थे के हो भन्ने थाहा छैन । तिनले पक्कै पनि साउदी फिल्म उद्योगलाई रोचक युगमा लैजाने छन् ।”

सम्पूर्ण पुस्ता छ, र दर्शकहरूको सम्पूर्ण पुस्ता छ जसलाई बहराइन वा दुबईको यात्रा गर्नु कस्तो थियो भनेर याद छैन।”

(फाइनान्सियल टाइम्सको रिपोर्ट)